३८ वर्षपछि आंगिक क्याम्पस

२०३७ सालमा स्थापित मुसीकोट खलंगा बहुमुखी क्याम्पस औपचारिक रुपमा वुधवार एमयू मातहत आएको हो
हरि गौतम

रुकुम पश्चिम — जिल्लाको जेठ क्याम्पस ३८ वर्षपछि सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ । २०३७ सालमा स्थापित मुसीकोट खलंगा बहुमुखी क्याम्पस औपचारिक रुपमा वुधवार मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मातहत आएको हो ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकास्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हस्तान्तरण कार्यक्रमका सहभागी । तस्बिर : हरि/कान्तिपुर

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित उक्त क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आंगिक बनाएको छ । एमयूका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले अब क्याम्पसको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन एमयूले गर्ने बताए ।

Citizen


‘क्याम्पसको स्वामित्व विश्वविद्यालयले ग्रहण गरेको छ, अब यसको सञ्चालन पनि विश्वविद्यालयको ऐन–कानुनअनुसार हुन्छ,’ उनले भने, ‘गाउँ–गाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको योजना अब साकार हुने भएको छ ।’ उनले अब यस क्याम्पसमा शिक्षा संकायका साथै प्राविधिक विषयको पनि पठनपाठनहुने बताए ।

यसअघि विद्यार्थीको शुल्कलाई मुख्य आधार मानेर सञ्चालित क्याम्पस अब ऊक्त बाध्यताबाट मुत्त भएको छ । क्याम्पसमा कार्यरत शिक्षक तथा सम्पूर्ण व्यवस्थापन खर्च विश्वविद्यालयले व्यहोर्ने भएपछि क्याम्पसको शुल्क घट्नेछ । यसबाट विद्यार्थीसमेत उत्साही भएका छन् । ‘ढिलै भए पनि क्याम्पसले सरकारी मान्यता पाएको छ,’ विद्यार्थी पम्फा ओलीले भनिन्, ‘अब हामीले महँगो शुल्कबाटछुटकारा पाउनेछौं ।’

क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले क्याम्पसको नयाँ अध्याय सुरु भएको बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाए पनि उक्त विश्वविद्यालयको आंगिक बन्न नसक्दा बिगतमा निकै आर्थिक कठिनाइ भोग्नु परेको उनको भनाइ छ । ‘स्थापनादेखिकै प्रयास र अथक मिहिनेतपछि मात्रै यो सम्भव भएको हो,’ उनले भने, ‘लामो समयदेखिको प्रयास सफल भएको छ, यसबाट क्याम्पस परिवारका साथै सिंगो जिल्ला खुसी छ ।’

मुसीकोट खलंगाका स्थानीयवासीले व्यक्तिगत रुपमा नगद संकलन गरेर २०३७ साल असोज २३ गते क्याम्पस स्थापना गरेका थिए । सुरुको १२ वर्ष त्रिभुवन जनता माविबाट क्याम्पस चलाइएको थियो । पहिलो वर्ष ५ जनामात्र विद्यार्थी भर्ना भएका थिए । दोस्रो वर्ष विद्यार्थीको संख्या १० पुगेको थियो ।

तत्कालीन समयमा एसएलसीपछिको आइए पठनपाठन गर्न क्याम्पस स्थापना गरिएको थियो । सुरुका २२ वर्षसम्म क्याम्पसमा अध्यापन गरेका मीनबहादुर पुनले ढिलै भए पनि जिल्लाको पुरानो क्याम्पस सरकारी हुँदा गर्व महसुस भएको बताए । ‘क्याम्पस हस्तान्तरण भइरहँदा म ज्यादै खुसी छु,’ उनले भने, ‘लामो समयदेखि यही दिनको पर्खाइमा बसेका जिल्लावासी यो खबरले निकै उत्साही छौं ।’

त्रिभुवन विश्वविद्यालयबाट आंगिक बनाउन प्रयास गरिए पनि संभव नभएको उनले बताए । उनका अनुसार सुरुका दिनमा मालपोत कार्यालयबाट आउने भूमी कर, जिल्ला पञ्चायत, जिल्ला विकास समिति र विद्यार्थीको शुल्कबाटै क्याम्पस सञ्चालन गर्ने गरिएको थियो ।

इन्जिनियरिङ स्नातकोत्तर
यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि इन्जिनिरिङ संकायमा स्नातकोत्तरको अध्ययन सुरु हुने भएको छ । विश्वविद्यालयले कन्स्ट्रक्सन म्यानेजमेन्ट इन्जिनियरिङको पढाइ सञ्चालन हुने जानकारी दिएको हो ।
२० सिट निर्धारण गरिएकोमा ३ सिट कर्णालीका विद्यार्थीको लागि छात्रवृत्ति छुट्याइएको उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले जानकारी दिए । ‘कर्णालीमै इन्जिनियरिङ जनशक्ति उत्पादन हुने भएपछि यसले यहाँको पूर्वाधार विकासमा टेवा पुर्‍याउने छ,’ उनले भने, ‘त्यसैले हामीले इन्जिनियरिङ संकायको प्राज्ञिक दायरालाई ठाडो रुपमा विकास गरेका छौं ।’

विश्वविद्यालयमा हाल इन्जिनियरिङ संकायमा स्नातक तहमा ५ सय ४० विद्यार्थी अध्ययनरत छन् । दुई ब्याच विद्यार्थी निस्किइसकेका छन् । नेपालमै पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको अध्ययन भइरहेको संकायका निमित्त डीन अनन्तराज घिमिरले जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नर्सरीबाट १० लाख आम्दानी

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका ९, सुलीहालेका ३२ वर्षीय नरेन्द्र भण्डारी दैनिक १२ घण्टा नर्सरीमा व्यस्त हुन्छन् । उनको उष्णप्रदेशीय शशि नर्सरी तथा फलफूल फार्ममा वर्षेनि करिव ५० हजार विरुवा उत्पादन हुने गरेका छन् । वर्षेनि नर्सरीको क्षेत्रफल बढाउँदै गएपछि उनले मनग्गे आम्दानी गर्दै आइरहेका छन् ।


नर्सरीबाट उनले वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आइरहेको जनाए । विहान उठेदेखि नसुत्दासम्म उनी आफ्नो नर्सरीमै व्यस्त हुन्छन् । विरुवा लाउने, काँटछाँट गर्ने, सिँचाइ गर्ने, नराम्रो विरुवा हटाउने काम त नरेन्द्रले गर्छन् नै अलि अलि अनुसन्धानको काम पनि उनले गर्दै आएका छन् ।

विरुवाकै कामका लागि बाहेक अरु कामका लागि उनी कतै जादैनन् । उनी जिल्लाको पुरानो नर्सरीका सञ्चालक हुन् । २०४५ सालमा स्थापना गरिएको फार्ममा उनी २०६२ यता आफै जुटेका छन् । उनका बुवा शशिराम भण्डारीले नर्सरी स्थापना गरेका थिए ।

वर्षातको समयमा ४० देखि ४५ हजार विरुवा बिक्री गर्ने नरेन्द्रले हिउँदे सिजनमा पाँचदेखि आठ हजार विरुवा बिक्री गर्दै आएका छन् । उनको नर्सरीमा आँप, लिची, सुन्तला, कागती, अनार, अगुंर, वन पैदावारको विरुवाको साथै सजावटका विरुवा पाइन्छन् ।

उनले रुकुम पश्चिमको साथै रुकुम पूर्व, सल्यान, दाङ, रोल्पा, प्युठान, जाजरकोट, सुर्खेत, दैलेख सम्मका ग्राहकलाई विरुवा बेच्दै आएका जनाए । विरुवाका लागि आउने माग धान्न नसकेको उनको भनाइ छ । हाल उनको नर्सरीमा उनीसहित तीन जनाले दैनिक र सिजनका बेला पाँच जनाभन्दा बढीले काम गर्छन् । आनो तीन विगाह र १३ रोपनी जग्गा भाडामा लिएर विरुवा नर्सरी गरिरहेका छन् । आँप र लिचीका विरुवा पाइने नर्सरी कर्णाली प्रदेशमा आनो मात्रै रहेको दावी उनको छ ।

कामको सिलसिलामा भारत गएका उनका बाबु शशिराम भण्डारीले भारतमा देखे अनुसारको नर्सरी सुरु गरेका थिए । बाबुले नर्सरीमा काम गर्दा नै सघाउन थालेका नरेन्द्रले आफूले पनि अर्को पेशा नरोजी विरुवा उत्पादनमै लागेको बताए । ‘मैले नर्सरीमा काम गर्दै गरेर बीएड सम्मको अध्ययन पूरा गरेको छु,’ उनले भने, ‘आम्दानी पनि राम्रो हुने र रमाइलो पनि हुने भएकाले मैले अरु पेशा नरोजी बुबाकै पेसा अंगालेको हुँ ।’

उनका बुबाको निधनपछि उनले नर्सरीको जग्गा पनि बढाएका छन् । ‘बुवाको नर्सरीमा काम गर्ने तौरतरिका परम्परागत जस्तो थियो,’ उनले भने, ‘मैले काम गर्न थालेपछि जग्गा बढाएर समय अनुसारको बनाएको छु ।’ मेहनत गर्न सकेमा गाउँघरमै आम्दानी गर्न सकिने भनाइ उनको छ । २०४५ सालयता उनको नर्सरीमा झण्डै एक करोड बढी लगानी भएको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT