कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पानी उमालेर फालिन्छ बिजुली

हरि गौतम

रुकुम पश्चिम — गाउँमा बिजुली छैन । केहीले सोलार जडान गरेका छन्  । केही घरधुरी अझै सल्लाकै दियालाका भरमा दैनिकी बिताउन बाध्य छन् तर तिनै गाउँलाई लक्षित गरी उत्पादित विद्युत् भने पानीमा उमालेर फाल्नुपर्ने बाध्यता छ ।

पानी उमालेर फालिन्छ बिजुली

साबिक रुँघा, खारा, मुरु, भलाक्चा गाविस लक्षित गरी स्याउली बजारमा उत्पादित विद्युत् दुई सातादेखि खेर गइरहेको हो ।

१० वर्षअघि निर्माण प्रक्रिया थालिएको त्रिवेणी गाउँपालिकास्थित सिम्रुतुखोला साना जलविद्युत् आयोजनाको विद्युत्गृहमा बिजुली बलेको छ । तर उक्त बिजुलीको उपयोग एउटा कालो ड्रममा राखिएको पानी र त्यसमा राखिएका ४५ किलोवाटका ३ हिटरमा भइरहेको छ ।

२०६६ मा उपभोक्तास्तरबाट आयोजना निर्माणको पहल सुरु भएको थियो । एसियाली विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहयोग तथा स्थानीय उपभोक्ताको श्रमदानमा आयोजनाको विद्युत्गृहमा बत्ती बलेको हो । गत फागुन १८ गते राति गरिएको आयोजनाको विद्युत् परीक्षण सफल भइसकेको छ ।

विद्युत् परीक्षण भएको २ साता बितिसक्दासमेत उपभोक्ताले विद्युत् उपयोग गर्न पाएका छैनन् । आयोजनाको पोल गाड्ने तथा तार तान्ने काम नसकिएपछि उत्पादित विद्युत् उपभोक्ताको घरसम्म पुग्न नसकेको हो ।

सिम्रुतुखोला साना जलविद्युत् सहकारीमार्फत उत्पादन सुरु भएको हो । सहकारीका अध्यक्ष लक्ष्मण ओलीले उत्पादित विद्युत् उपभोक्ताको घरसम्म जोड्न धमाधम काम भइरहेको बताए । आगामी वैशाख अन्तिमसम्म सबै उपभोक्ताका घरमा बिजुली जडान भइसक्ने लक्ष्य रहेको उनले जनाए ।

आयोजनाका अनुसार पहिलो चरणमा त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका १ हजार १ सय घरधुरीमा विद्युत् जडान गरिनेछ । दोस्रो चरणमा थप २ हजार घरमा विद्युत् सेवा पुर्‍याइनेछ । सिम्रुतुखोला र खारखोलाको पानीलाई त्रिवेणी गाउँपालिका २, त्रिवेणीमा जम्मा गरी मुसीकोट नगरपालिका ११, स्याउली बजारमा विद्युत् उत्पादन गृह निर्माण गरिएको हो ।

झन्डै १० करोडमा आयोजना निर्माण हुने समितिले जनाएको छ । आयोजनामा ६५ प्रतिशत लगानी एसियाली बैंकको छ । उपभोक्ताबाट नगद र श्रमदान गरी २ करोड १ लाख रुपैयाँ संकलन गरिएको छ । त्यस्तै सहकारीले १ करोड लगानी गरेको छ ।

गौरा कन्स्ट्रक्सन प्रालि र हाइड्रो इनर्जी प्रालिले सयुंक्त रूपमा आयोजना निर्माणको जिम्मा लिएका छन् ।

प्रकाशित : चैत्र ८, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?