२० वर्षपछि टावर पुनर्निर्माण

सल्यान — द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षले ध्वस्त बनाएको छत्रेश्वरी गाउँपालिकास्थित साउनेपानीडाँडाको टेलिफोन रिपिटर टावर २० वर्षपछि पुनर्निर्माण सुरु गरिएको छ  ।

टेलिफोन टावर नहुँदा आसपासका क्षेत्रमा सञ्चार समस्या भएपछि टावरको पुनर्निर्माण थालिएको हो ।

द्वन्द्वको समयमा माओवादीले टावरमा वम प्रहार गरी पूर्णरुपमा क्षति पुर्‍याएको थियो । टावरको पुनःस्थापनासँगै भवन मर्मत र बाहिरी तारवारको काम सुरु गरिएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार पहिलो चरणमा निर्माणको जिम्मा पाएको स्यारोनाक कन्स्ट्रक्सनले भवन मर्मत र तारवारको काम गर्दै आएको छ ।

बाहिरी संरचना निर्माणका लागि ६ लाख रुपैयाँ बिनियोजन गरेको टेलिकमले जनाएको छ । द्वन्द्वको समयमा तत्कालीन माओबादीले २०५५ मंसिर ९ गते टावर पूर्णरुपमा क्षति पुर्‍याएको थियो ।

सोलारबाट सञ्चालित टावरका सम्पूर्ण सामग्री क्षति हुँदा साउनेपानी डाँडामा २२ मिटर अग्लो टावर मात्र बचेको थियो । उक्त टावरले रोल्पा, रुकुम पश्चिम र जाजरकोटका केही भागमा सञ्चार सुविधा पुर्‍याउदै आएको छ ।

पुरानै संरचनालाई प्रयोग गर्नेगरी पुनर्निर्माण थालिएको टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका इन्जिनियर शिवराज खनालले बताए । उनका अनुसार विद्युत सुविधा नभएकाले अहिले टावर क्षेत्रमा सौर्य ऊर्जाको आवश्यकता छ ।

उनले चीनबाट सौर्यऊर्जा मगाइएको जानकारी दिए । उनका अनुसार २/३ महिनाभित्रै टावर पूर्णरुपमा पहिलाकै अवस्थामा आउनेछ । पुनर्निर्माणको काम छुट्टाछुट्टै ठेकेदारले गर्ने भएकाले बजेट थाहा नभएको उनको भनाइ छ । ‘हामी टावरमार्फत पहिलेजस्तै सञ्चार सुविधा दिने प्रयत्नमा छौं,’ उनले भने, ‘पुनर्निर्माणपछि टावरको सुरक्षा व्यवस्था भरपर्दो बनाइनेछ ।’

पहिलेको रिपिटर टावर पुनर्निर्माण गरेपछि बिटिएसको रूपमा काम गर्ने नेपाल टेलिकम सल्यानले जनाएको छ । टेलिकम प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार पुनर्निर्माणका लागि छत्रेश्वरी गाउँपालिका २, ३, ४, ५, शारदा नगरपालिका १२, १३ तथा स्यानीखाल, बाग्चार, कपुरकोट गाउँपालिकाका केही गाउँमा सञ्चार सुविधा हुनेछ । टावर नबन्दा स्थानीय बासिन्दा सञ्चार सेवाबाट बञ्चित रहेको उनको भनाइ छ ।

टावरबाट रोल्पाको जिनाबाङका बासिन्दासमेत लाभान्वित हुनेछन् । टावरको निर्माण २०५० सालमा गरिएको उनले जानकारी दिए । साउनेपानी टावरमा पूर्ण रुपमा क्षति पुगेपछि टेलिकमले कपुरकोटमा निर्माण गरेको रिपिटर टावरमार्फत फोन सेवा सुचारु गरेको थियो ।

प्रकाशित : चैत्र ८, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?