कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

 ११ सयलाई नागरिकता

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला प्रशासन कार्यालयले बारेकोट गाउँपालिकामा सञ्चालन गरेको बृहत् घुम्ती शिविरमा एक हजार एक सय ४० जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको छ ।

बारेकोट गाउँपालिका र जिल्ला प्रशासनको सहकार्यमा सञ्चालित शिविरमा पहिलो पटक डिजिटल प्रविधिबाट नागरिकता वितरण गरिएको हो ।


६ दिनसम्म सञ्चालित शिविरमा उनीहरूले एक हजार तीन सय ४८ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । शिविरकै क्रममा ३० घरेलु उद्योग व्यवसाय दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताए । ऊनका अनुसार नागरिकता वितरण गरिएकामध्ये महिलाको संख्या बढी छ । ‘शिविरमा सुत्केरी महिला, ज्येष्ठ नागरिक, शारीरिक अशक्त व्यत्तिलगायतले सरकारी सेवा लिने अवसर पाएका छन्,’ उनले भने, ‘विविध कारणले यसअघि अधिकांश स्थानीयवासी नागरिकतालगायत विभिन्न सरकारी सुविधाबाट वञ्चित रहेको पाइयो । यसपटकको शिविरमार्फत सबै स्थानीयवासीलाई सरकारी सुविधा गाउँमै प्रवाह गरिएको छ ।’


घरदैलोमै नागरिकतालगायत विभिन्न सरकारी सेवा उपलब्ध भएपछि स्थानीयलाई राहत पुगेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । दुई/तीन दिन पैदल हिंडेर सदरमुकाम खलंगा गएर सेवा लिन नसक्ने स्थानीयवासीलाई लक्षित गर्दै घरदैलोमा सुविधा दिएको शाहले जानकारी दिए ।


‘जनतालाई पायक पर्नेगरी गाउँपालिका केन्द्र लिम्सा र सेपुखोलाबाट विभिन्न सरकारी सेवाप्रवाह गरिएको हो, नागरिकता नहुँदा गाउँपालिकाका सयौं ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता र मतदानको अधिकारबाट वञ्चित हुँदै आइरहेका थिए,’ उनले भने, ‘ नागरिकता वितरणपछि उनीहरूलाई अन्य सेवाप्रवाह गर्नसमेत सजिलो भएको छ ।’ ७० वर्ष माथिको समेर समूहका करिब चार दर्जन ज्येष्ठ नागरिकले घरदैलोमै नागरिकता प्रमाणपत्र पाएको उनको भनाइ छ ।


बारेकोटका अधिकांश बासिन्दा मजदुरी गर्न भारत विभिन्न ठाउँमा जाने गरेकाले उनीहरू लामो समयदेखि नागरिकता नहुँदा यसअघि विभिन्न सरकारी सेवाबाट वञ्चित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार अझै तीन हजार स्थानीय उमेर पुगेर पनि नागरिकताबाट वञ्चित भएका छन् । उनीहरूलाई लक्षित गरी फेरि अर्को शिविर आयोजना गरिने अध्यक्ष शाहको भनाइ छ ।



प्रकाशित : चैत्र १३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?