२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

३२ वर्षपछि आंगिक

भीमबहादुर सिंह

जाजरकोट — जिल्लाको सबैभन्दा पुरानो क्याम्पस ३२ वर्षपछि आंगिक क्याम्पस बन्न पुगेको छ । २०४३ सालमा स्थापना भएको भेरी ज्ञानोदय क्याम्पस सोमबारबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को आंगिक क्याम्पस बनेको हो । 

३२ वर्षपछि आंगिक

यसअघि क्याम्पस त्रिभुवन विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले एमयूका उपकुलपति उपेन्द्रकुमार कोइरालालाई चल अचल सम्पत्ति विवरण हस्तातरण गरे । ‘सरकारी क्याम्पस नहुँदा विद्यार्थी महँगो शुल्कको मारमा थिए, अब विद्यार्थीले सहज रुपमा गुणस्तरीय शिक्षा पाउनेछन्,’ उनले भने, ‘लामो पर्खाइपछि क्याम्पस सरकारी बन्दा जिल्लावासी हर्षित भएका छौं ।’


अबदेखि क्याम्पसको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन एमयूले गर्ने उपकुलपति कोइरालाले बताए । ‘क्याम्पसको स्वामित्व विश्वविद्यालयले ग्रहण गरेको छ, क्याम्पसको सञ्चालन पनि विश्वविद्यालयको ऐन कानुन अनुसार हुन्छ,’ उनले भने, ‘कर्णाली प्रदेशलगायत दुर्गम ठाउँमा पनि प्राविधिक शिक्षाका साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको कार्यक्रम छ ।’ जिल्लावासीको माग अनुसार क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको कोइरालाले जनाए ।


आंगिक बनेसँगै यसअघि विद्यार्थीको शुल्कलाई मुख्य आधार मानेर सञ्चालित क्याम्पसले ऊक्त बाध्यताबाट मुत्त पाएको छ । क्याम्पसमा कार्यरत शिक्षक तथा सम्पूर्ण व्यवस्थापन खर्च विश्वविद्यालयले बेहोर्ने भएपछि क्याम्पसको शुल्क समेत घट्नेछ । यसबाट विद्यार्थीसमेत उत्साही भएका छन् । ढिलै भए पनि क्याम्पस सरकारी बनेपछि सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पाइने विश्वास बढेको विद्यार्थी दुर्गा भण्डारीले बताइन् ।


क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाए पनि आंगिक बन्न नसक्दा बिगतमा निकै आर्थिक कठिनाइ भोग्नुपरेको बताए । उनका अनुसार साविक स्थानीय निकाय, चन्दादाता, संघसंस्थाको सहयोग र विद्यार्थी शुल्कका भरमा क्याम्पस सञ्चालन हुँदै आइरहेको थियो ।


क्याम्पसमा २०४३ देखि मानविकी संकायअर्न्तगत प्रमाणपत्र तहको पढाइ सुरु भएको थियो । क्याम्पसमा २०५३ सालमा मानविकी स्नातक, २०६० शिक्षाशास्त्र संकाय स्नातक र २०७० मा स्नातक व्यवस्थापन संकायको पठनपाठन सुरु भएको थियो । क्याम्पसमा ९ जना प्राध्यापक, ८ जना कर्मचारी र ५ जना आंशिक शिक्षक कार्यरत छन् । क्याम्पसमा ५ सय ३१ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसको विभिन्न वैंक खातामा १ करोड २८ लाख ४८ हजार रकम बचत छ ।

प्रकाशित : चैत्र १९, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?