कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

४० वर्षपछि गाउँमा खानेपानी

विप्लब महर्जन

सल्यान — कालीमाटी गाउँपालिका–२, जेलेनीमा खानेपानी योजना सुरु भएको ४० वर्षपछि स्थानीयले खानेपानी सुविधा पाएका छन् । जेलेनीका ३५ घरधुरीलाई लक्षित गर्दै खानेपानी योजना सञ्चालन भएको थियो । स्थानीले वर्षौंदेखिको खानेपानी समस्याबाट मुक्ति पाएका हुन् ।

४० वर्षपछि गाउँमा खानेपानी

गाउँमा खानेपानी पुर्‍याउन स्थानीयले पाँच लाख रुपैयाँ बढीको श्रमदान गरेका छन् । २०३५ सालमा गाउँमा सुरु भएको खानेपानी योजना पूरा नभएपछि स्थानीयले लामो समयदेखि खानेपानी समस्या भोग्दै आइरहेका थिए । पानीका लागि ठूलो कष्ट सहँदै आएका जेलेनीका बासिन्दा घर नजिकैको धारामा पानी भर्न पाउँदा मक्ख छन् । गाउँमा खानेपानी योजनामार्फत सात स्थानमा धारा जडान गरिएको छ । एक धाराबाट तीन/चार घरले सामूहिक रूपमा खानेपानी सुविधा उपभोग गरिरहेका छन् ।


स्थानीय भीमीकुमारी ओलीले खानेपानी समस्याका कारण महिला र बालबालिका वर्षौंदेखि पीडित हुँदै आइरहेको बताइन् । ‘रातबिरात केही नभनेरै पानीका लागि एक घण्टा टाढाको खोलामा झर्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अहिले घर नजिकैको धाराबाट २४ सै घण्टा खानेपानी उपभोग गर्न पाइरहेका छौं ।’ उनका अनुसार गत वर्षसम्म खानेपानी ओसार्नकै लागि घरका अन्य काम पन्छाउनुपर्ने बाध्यता थियो । उनले धाराको पानीलाई सदुपयोग गरी करेसाबारीमा प्रयोग गर्ने गरिएको बताइन् । स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि विगतमा जस्तो दूषित पानीका कारण हुने विभिन्न स्वास्थ्य समस्याबाट मुक्ति पाइएको स्थानीय खिमबहादुर ओलीले बताए । उनका अनुसार घर नजिकै धारा बनेपछि बालबालिकाको पढाइ नियमित बनेको छ । ‘साँझ र बिहान महिला र बालबालिकाको अधिकांश समय पानी ओसार्नमै बित्ने गरेको थियो,’ उनले भने, ‘खोलामा पनि पालो कुर्नुपर्ने भएपछि बालबालिकाको पढाइ कहिलेकाहीँ छुट्ने समस्या थियो, घर नजिकै धारा भएपछि उनीले बिहान–साँझको समय पढाइमा लगाएका छन् ।’


कालीमाटी गाउँपालिका–२ का वडाध्यक्ष इन्द्रबहादुर ओलीले भौगोलिक विकटताका कारण लामो समयदेखि स्थानीयवासी खानेपानी समस्याबाट पीडित हुँदै आएको बताए । गाउँपालिकाको १ लाख ५० हजार र दलित विकास समाजद्वारा सञ्चालित पहल कार्यक्रमको पाँच लाख रुपैयाँ अनुदानमा खानेपानी योजना सम्पन्न भएको उनको भनाइ छ । गाउँमा खानेपानी पुर्‍याउन स्थानीयले पाँच लाख बढीको श्रमदान गरेको उनले जानकारी दिए । ‘घर अगाडि पानीको धारा भएपछि स्थानीयले वर्षौंदेखिको पानीको दुःख भुलेका छन्, बचेको पानीलाई करेसाबारीमा लगाउन थालेपछि तरकारी उत्पादन हुन थालेको छ,’ उनले भने, ‘खानेपानी सुविधा पुगेपछि स्थानीयको जनजीवन सहज भएको छ । गाउँमा तरकारी खेतीको लहर चलेको छ ।’

प्रकाशित : चैत्र २०, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?