पाठेघर खस्ने समस्या बढ्दै

कृष्णप्रसाद गौतम

सुर्खेत — सिम्ता गाउँपालिका–४ की ५६ वर्षीया लालु विक २० वर्षदेखि पाठेघरको समस्याबाट पीडित थिइन् । सानै उमेरमा ६ सन्तान जन्माए पनि गर्भवती र सुत्केरी अवस्थामा पर्याप्त स्याहार नपाउँदा उनलाई पाठेघरको समस्याले सताएको हो । केही समयअघि प्रदेश अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी उनी अहिले घरमै आराम गरिरहेकी छन् । 

सिम्ता–६ की ३५ वर्षीया तुलसा पुन पनि चार वर्षदेखि पाठेघरको समस्याबाट पीडित छिन् । उनले दुई महिनाअघि पाठेघरमा रिङप्रेसरी राखेकी छन् । खानपान र शारीरिक व्यायामलाई निरन्तरता दिएपछि अहिले उनलाई घरायसी कामकाज गर्न केही सहज भएको छ ।


यी दुई उदाहरणमात्र हुन्, कर्णाली प्रदेशका महिलामा पाठेघर खस्ने समस्या बढ्दै गएको छ । सानै उमेरमा सुत्केरी हुनु, कम समयको अन्तरमा बच्चा जन्माउनु, दक्ष स्वास्थ्यकर्मीमार्फत प्रसूति नहुनुलगायत कारण महिलामा पाठेघरको समस्या बढ्दै गएको हो ।


कर्णाली प्रदेशमा २३ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । गर्भवती वा सुत्केरी अवस्थामा गह्रौं भारी उचाल्नु, बोक्नु, आराम, स्याहार, पोसिलो खाना नपाउनुलगायत कारण पनि महिलामा यो समस्या बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।


स्वास्थ्यकर्मीका अनुसार कुपोषण र प्रजनन नलीमा संक्रमणका कारण पनि केही संख्यामा पाठेघरको समस्या देखिने गरेको छ । पछिल्लो समय बर्सेनि दुईदेखि चार सय महिलामा प्रसूति फिस्टुलाको समस्या देखिन थालेको मन्त्रालयले जनाएको छ । जसका कारण पनि पाठेघर खस्ने समस्या बढिरहेको हो ।


महिलाको प्रजनन स्वास्थ्यका लागि क्रियाशील वातावरणीय कृषि तथा विकास केन्द्र (केड) की कार्यकारी निर्देशक समिता प्रधानका अनुसार उपचार अभावमा ग्रामीण क्षेत्रका अधिकांश महिलामा जटिल पाठेघरको समस्या देखिन थालेको छ । उनका अनुसार स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा पहुँच नहुनु, हानिकारक रीतिरिवाज, सामाजिक बन्देज, महिलाविरुद्ध हुने विभेदलगायत कारण महिलामा पाठेघरको समस्या बढेको पाइएको छ ।


‘संरचनागत भेदभाव, पितृसत्तात्मक समाज, विभेदकारी सामाजिक मूल्य मान्यताका कारण पनि महिलामा प्रजनन समस्या देखिएको छ,’ उनले भनिन्, ‘अशिक्षाका कारण उपचारमा बेवास्ता गर्दा ग्रामीण क्षेत्रका महिला जटिल अवस्थाको पाठेघर खस्ने समस्याबाट पीडित छन् ।’ केडले दलित महिला चेतना केन्द्रलगायत संस्थाको समन्वयमा कर्णालीका महिलामा प्रजनन स्वास्थ्यको अवस्थाबारे अध्ययन गरेको थियो ।


अध्ययनअनुसार कर्णालीमा १९ प्रतिशत किशोरी २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुने गरेको पाइएको छ । त्यस्तै ४५ प्रतिशत महिलाले मात्र गर्भनिरोधका साधन प्रयोग गर्ने गरेका छन् । केन्द्रका अनुसार कर्णालीमा प्रसूति केन्द्रमा सन्तान जन्माउने महिलाको संख्या ५७ प्रतिशत मात्र छ ।


त्यस्तै कर्णालीमा प्रतिहजारमा ४७ प्रतिशत शिशुको मृत्यु हुने गरेको छ भने ४७ महिलाले चार पटक गर्भजाँच गराउने गरेका छन् । केन्द्रको अध्ययनअनुसार ३५ प्रतिशत महिलाले मात्र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा पाएको कार्यकारी निर्देशक प्रधानले बताइन् । उनका अनुसार सुर्खेतमा ५७, दैलेखमा ८९, जाजरकोटमा ४४ र डोल्पामा १९ प्रतिशत महिलाले मात्र गर्भचाँच गराउने गरेको पाइएको छ ।


त्यस्तै सुर्खेतमा ४८, दैलेखमा ८१, जाजरकोटमा ३७ र डोल्पामा १७ प्रतिशत महिलाले स्वास्थ्य केन्द्रमा सन्तान जन्माउने गरेको तथ्यांक रहेको केन्द्रले जनाएको छ । अध्ययनअनुसार सुर्खेत र दैलेखमा ९०, जाजरकोटमा ९२, डोल्पामा ८६ प्रतिशत बालविवाह हुने गरेको दलित महिला चेतना केन्द्रकी वकालत अधिकृत लक्ष्मी चन्दले बताइन् ।


चन्दका अनुसार गत आर्थिक वर्षमा २३ प्रतिशत महिलाले मात्र गर्भजाँच गराएको पाइएको छ । संस्थाले सुर्खेतमा पाठेघर खस्ने समस्या भएका महिलालाई उपचार र अन्य कार्यमा सहयोग गरिरहेका छन् । किशोर–किशोरी उमेरदेखि नै यौन तथा प्रजनन स्वास्थ्यबारे सही शिक्षा दिनसके पाठेघरको समस्या न्यूनीकरण हुँदै जाने उनको भनाइ छ ।


उनले धाार्मिक, सामाजिक हानिकारक रीतिरिवाज र संस्कारमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । पाठेघरको समस्या देखिएको सुरुको अवस्थामा औषधि सेवन, दोस्रो अवस्थामा रिङप्रेसरी राख्ने र जटिल अवस्थामा शल्यक्रिया गर्नुपर्ने प्रदेश अस्पतालका सुपरिटेन्डिनेन्ट डा. डम्बर खडकाले बताए ।


पाठेघर खस्ने समस्याको सघन व्यवस्थापनका लागि प्रदेश सरकारलाई नीति निर्माण गरी कार्यान्वयनमा लैजान सुझाव दिइएको कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले बताइन् । ‘हामीले संसद्मा पनि यसबारे प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेका छौं,’ उनले भनिन्, ‘कर्णालीमा स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका अधिकारसम्बन्धी बहुपक्षीय कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।’

प्रकाशित : चैत्र २४, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?