कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विवाद निरुपण गर्न जनशक्ति

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका ४ की सरिता शाही शुक्रबारदेखि मेलमिलापकर्ताका रूपमा कार्य सम्हालिन् । वडा ८ की खिमाकुमारी रोकाया पनि शुक्रबारै मेलमिलापकर्ता बन्न सफल भइन् ।

विवाद निरुपण गर्न जनशक्ति

यसअघि स्थानीय विवाद निरुपणबारे अनभिज्ञ उनीहरू मेलमिलापकर्ताको ४८ घण्टे आधारभूत तालिमपछि सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नेमा ढुक्क छन् ।


उनीहरू मात्र होइन, तालिम प्राप्त गरेका सबैले टोल, बस्ती र समुदायमा हुने विवाद समाधान गर्न सकिने आत्मबल बढाएका छन् । तालिम प्राप्त व्यक्ति सम्बन्धित स्थानीय तहको न्यायिक समितिमा सूचीकृत भएपछि मेलमिलापकर्ताका रूपमा कार्य गर्न पाउनेछन् ।


समुदायका विवाद निरुपण गर्न जिल्लाका ४ स्थानीय तहले आठदिने आधारभूत तालिममार्फत मेलमिलापकर्ता जनशक्ति उत्पादन गरेका छन् । समुदायका मनमुटाव, वैमनस्यता, झगडालगायत विवाद समाधान गर्न र न्याय समितिको न्यायिक कार्य सम्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले जनशक्ति उत्पादन गरिएको हो । तालिमले बारेकोट, कुशे गाउँपालिका, भेरी र नलगाड नगरपालिकाका सबै वडामा मेलमिलापकर्ता उत्पादन भएका छन् ।


तालिममार्फत जिल्लामा डेढ सय मेलमिलापकर्ता तयार भएको जिल्ला अदालतका स्रेस्तेदार देवीराम भण्डारीले बताए । तालिम आयोजना गर्ने स्थानीय तहमा २५ देखि ३५ मेलमिलापकर्ता उत्पादन भएको उनको भनाइ छ । न्यायिक समितिको न्यायिक कार्य सम्पादनमा सहयोग गर्ने, विवादलाई मेलमिलापका माध्यमबाट टुंगो लगाउने, प्रचलित कानुनको परिपालना गरी समाजमा मेलमिलाप कायम गर्नेलगायत काम मध्यस्तकर्ताले गर्नेछन् ।


तालिमले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा न्याय सम्पादनका कामलाई सुलभ बनाउने परिकल्पना लिएको उनले जानकारी दिए । ‘स्थानीय तहमा कानुनी ज्ञानको कमी र तालिम प्राप्त जनशक्ति अभावमा न्यायिक समितिका काम प्रभावकारी हुन सकेनन्,’ उनले भने, ‘समितिको कामकाज प्रभावकारी बनाउन तालिममार्फत मेलमिलापकर्ता उत्पादन गरिएको छ ।’

भेरी, कुशे र बारेकोटले आयोजना गरेको तालिमका सहभागीलाई सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोकका प्रशिक्षकले सहजीकरण गरेका थिए । आधारभूत तालिम प्राप्त सहजकर्ताले समुदायमा भएका अन्तरविरोध तथा अन्तरकलहलाई जित र हार नभएर दुवै पक्षको जित हुनेगरी मेलमिलाप गराउनेमा जोड दिने केन्द्रका प्रशिक्षक विनिता गुरुङले बताइन् ।


पूर्वाधार मात्र नभई प्रत्येक नागरिकमा सकारात्मक सोचको विकास गराउनु पनि समृद्धि भएको उनको भनाइ छ । ‘गाउँ, बस्ती र वडास्तरका विवादको समाधानबाट मात्र स्थानीय तहलाई विकसित बनाउने वातावरण सिर्जना हुन्छ,’ उनले भनिन्, ‘तालिमका सहभागीले द्वन्द्व, विवादको अवधारणा तथा विकास, विवाद समाधानका परम्परागत तरिका, विवाद समाधानका वैकल्पिक उपायहरू, मेलमिलापमा सञ्चारलगायत विषयमा प्रशिक्षण पाएका छन् ।’ आधारभूत तालिम लिएर स्नातक उत्तीर्ण गरेकाले राष्ट्रिय मेलमिलाप परिषद्बाट मेलमिलापकर्ताको इजाजत पाउने प्रावधान रहेको उनको भनाइ छ ।


मेलमिलापसम्बन्धी आधारभूत तालिमबाट समाजका रहेको विवादको कसरी अन्त्य गर्ने र विवादित पक्षबीच कसरी मेलमिलाप गर्ने भन्ने ज्ञान प्राप्त गरेको प्रशिक्षार्थी भैरव खड्काले बताए । तालिमबाट घरपरिवारदेखि समाजसम्म के–कसरी मेलमिलाप गर्न सकिन्छ भन्ने सीप सिकेको उनको भनाइ छ ।


तालिमपछि मेलमिलापकर्ताको रूपमा दर्ज भएका सहजकर्ताले समाजमा शान्ति र मेलमिलापको अवस्था सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । समाजमा शान्ति र एकता नै विकासको मुख्य आधार भएको अध्यक्ष बस्नेतले बताए ।


कानुनी ज्ञानको कमी, जनशक्तिको अभाव, स्रोत साधनको कमीलगायत कारण न्यायिक समितिले न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउन नसकेको अध्यक्ष बस्नेतले जनाए । मेलमिलापकर्ता जनशक्ति उत्पादनले न्यायिक समितिको कार्य सम्पादनमा सहज हुने उनी बताउँछन् ।

प्रकाशित : चैत्र २५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?