कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

५ वर्षमा सकिँदै ट्रस्ट ब्रिज

पुल निर्माणको काम सकिएपछि प्रदेश राजधानी सुर्खेत पुग्न झन्डै एक सय ६८ किमि दूरी मात्रै पार गर्नुपर्छ
हरि गौतम

रुकुम पश्चिम — सम्झौताबमोजिम काम भएको भए सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदीमाथि भएर सवारी साधन वारपार गरिरहेका हुन्थे नै कर्णाली प्रदेशको राजधानी पुग्न पनि जिल्लावासीलाई धेरै सहज हुन्थ्यो ।

५ वर्षमा सकिँदै ट्रस्ट ब्रिज

सानीभेरी गाउँपालिका ८ सिम्लीबाट सानीभेरी गाउँपालिकाकै ३ नम्वर वडा गरायलाको पेदी जोड्ने पुल निर्माण कार्य तोकिएको समय कटिसक्दा पनि नसकिदा समस्या भइरहेको छ ।


बीक्यू विल्डर्स काठमाडौंले दुई वर्षमा पुल बनाइसक्ने सम्झौता सडक डिभिजन कार्यालय चौरजहारीसँग गरेको थियो । ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयबीच भएको सम्झौताअनुसार काम भएको भए २०७२ मा नै उक्त पुलमा सवारी गुडिसक्थे । तर २०७५ सकिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।


सडक डिभिजन कार्यालय चौरजहारी र ठेकेदार कम्पनीबीच २०७० मा सम्झौता भएको थियो । तर ठेकेदार कम्पनीले पछिल्लो पटक भने पुल निर्माणको गति बढाएको छ । यसअघि दुई पटक पुल निर्माणमा ढिलाइ भएको समाचार कान्तिपुर दैनिकमा छापिएको थियो । लामो समयदेखि सुनसान पुल निर्माण क्षेत्रमा पछिल्लो समय धमाधम काम भइरहेको छ ।


ठेकेदार कम्पनीले अर्को कम्पनीलाई जिम्मा दिएर ट्रस्टको काम गराइरहेको छ । यसअघि नदी वारि र पारि एक/एकवटा पिल्लर मात्रै बनाउन सकेको कम्पनीले अर्को कम्पनी मार्फत ट्रस्टको काम गराइरहेको हो । अबको केही दिनमै ट्रस्टको काम सकिने जनाइएको छ । ठेकेदार कम्पनीले तलपट्टिको ट्रस्ट विछ्याइ सकेर माथिको ट्रस्ट जोड्न लागेको छ ।

पछिल्लो पटक सुरु गरिएको काम तीव्र रूपमा भइरहेको स्थानीयले जनाएका छन् । ‘ट्रस्ट राख्ने काम धेरै छिटो भइरहेको छ,’ स्थानीय हेमा ओलीले भनिन्, ‘अघि पनि यसरी नै छिटोछिटो काम गरेको भए पुल उहिल्यै बनिसक्थ्यो होला ।’ सानीभेरी नदी वारिपारि निर्मित पिलरमा ट्रस्ट जोड्नबित्तिकै गाडी गुड्न सक्ने अवस्था भने छैन । पिल्लर बनाइएको ठाउँमा ठूलो भाग खाली भएको छ । पिलर निर्माणको क्रममा बनाइएको उक्त खाली ठाउँ नपुरिएसम्म पुल बनिहाले पनि गाडी गुड्ने अवस्था नरहेको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए ।


‘स्थानीय तहमा निर्वाचित भएपछि पटकपटक ताकेता गरिरहेकै छौं,’ अध्यक्ष पुनले भने, ‘पछिल्लो पटकको काम चित्तबुझ्दो भएको छ ।’ उनले जति सक्यो छिटो पुल निर्माण गरेर हस्तान्तरणका लागि ठेकेदार कम्पनीलाई भनिएको बताए । उक्त पुल बनेपछि सानीभेरी गाउँपालिकाका ३, ४, ५ र ६ वडा गाउँपालिकासँग जोडिने तथा प्रदेश राजधानी पुग्न सहज हुने बताए । ठेकेदार कम्पनीले काममा ध्यान नदिएकै कारण दुई वर्षमा बनिसक्ने पुल ५ वर्षसम्म बन्न नसकेको भनाइ उनको छ ।


सात करोड ८२ लाखमा ठेक्का पाएको निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको छ । ठेकेदार कम्पनीले फेरि म्याद थपको निवेदन दिएको जनाएको छ । निर्माण कम्पनीले पुल निर्माणको लागि ठाउँ परिवर्तन गर्नुपर्ने भएकाले ढिला भएको दाबी गरेको छ । सुरुमा पुल निर्माण गर्ने भनिएको ठाउँमा घर रहेको तथा पहिरो जाने खतरा रहेका कारण पुल निर्माणको अर्को डिजाइन स्टिमेट गर्दा निर्माणको काम नै ढिला सुरु भएको निर्माण कम्पनीको दाबी छ ।


सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले चालु आर्थिक वर्षभित्रै पुल हस्तातरण गर्ने प्रतिबद्धता ठेकेदारले गरेको बताए । पुल निर्माणको असजिलो काम गरिसकेको कम्पनीले बाँकी काम समयमै सक्ने विश्वास रहेको उनको भनाइ छ । उनले पुलको फाउन्डेसनको सम्पूर्ण काम सकिसकेकाले सुपर स्ट्रक्चरको काम मात्रै बाँकी भएकाले पुल निर्माण छिट्टै सकिने बताए ।


उक्त पुल निर्माणको काम सकिएपछि प्रदेश राजधानी सुर्खेत पुग्न झन्डै एक सय ६८ किलोमिटर दूरी मात्रै पार गर्नुपर्छ । सानीभेरी नदीमाथि बन्दै गरेको योसहित अरू दुई पुल नबन्दा हाल ३ सय ४० किलोमिटर यात्रा गरेपछि मात्रै सुर्खेत पुग्नुपर्ने बाध्यता जिल्लावासीलाई छ ।

प्रकाशित : वैशाख १, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?