तागे संक्रान्तिको रौनक

एलपी देवकोटा

जुम्ला — नयाँ वर्षसँगै तागे संक्रान्तिको रौनक सुरु भएको छ । नयाँ वर्षलाई साबिक कर्णालीवासीले तागे संक्रान्तिका रूपमा मनाउने गरेका छन् । जिल्लामा खस समुदायका विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै तागा लगाएर नयाँ वर्ष मनाउने चलन छ ।

जुम्ला सदरमुकाम खलंगामा नयाँ वर्षका अवसरमा तागा लगाइँदै । तस्बिर : एलपी/कान्तिपुर

वर्षको सुरुको दिन महिलाले लगाएको तागा कात्तिक ६ गते विधिपूर्वक पूजाआजा गरी विसर्जन गर्ने परम्परा छ । जुम्लामा तागे संक्रान्ति मनाउने चलन मल्ल सामाज्य कालदेखि खस समुदायबाट सुरु भएको स्थानीय जानकार बताउँछन् । कल्याल राज्यकालमा पूर्णरूपमा यो पर्व विकसित भएअनुसार नै अहिलेसम्म कायमै रहेको स्थानीय जानकार एवं संस्कृतिविद् रमानन्द आचार्यले बताए ।
‘तागे संक्रान्तिमा महिलाले तागा लगाइसकेपछि मंगलसूचक मंगलगानको देउडा खेलेर रमाउने चलन छ,’ उनले भने, ‘यो पर्वमा खाइने मुख्य वस्तु पुवा हो । चामलको पिठोलाई भुटेर मह र बेसारमा मुछेर पुवा पकाइन्छ ।’ ब्राह्मणले विधिपूर्वक पूजाआजा गरेको सात रङको २१ वटा गाँठा भएको तागा विवाहित महिलाले लगाउने गर्दछन् ।

सुरुमा तागे संक्रान्ति ब्राह्मण समुदायले मात्रै मनाउने गरे पनि अहिले सबै जातिमा लोकप्रिय बन्दै गएको आचार्यले सुनाए । गाउँका मुखिया, नायक र जान्नेसुन्नेको घरमा गएर पूजाआजा गरी महिलाले तागा लगाउने गरेको उनले जनाए । आचार्यका अनुसार तागा लगाएपछि ‘अब कामका दिन आए, कृषि कर्म गर्न कम्मर कसौं भन्ने’ सन्देश तागाले दिने गरेको छ ।

स्थानीय जानकार पूर्णसिंह कठायतका अनुसार तागाले धानखेतीको सुरुवातको सन्देशसमेत दिने गर्छ । ‘तागा लाएसँगै किसान धानको ब्याड राख्नेलगायत काममा लाग्छन्,’ उनले भने, ‘कात्तिक ६ गते तागा विसर्जन गरेपछि अब धान काट्ने समय भयो भन्ने हुन्छ ।’ उनका अनुसार पतिको दीर्घायुका लागि तागा लगाउने चलन आसपासका जिल्लामा पनि बढेको छ ।

स्थानीय शिवकन्या अधिकारीका अनुसार नयाँ वर्षको दिन बिहानै घरमा तागा लगाएपछि महिला सार्वजनिक स्थानमा जम्मा हुने गर्छन् । ‘सामूहिक रूपमा देउडा गाएर तागे संक्रान्ति मनाउँछौं,’ उनले भनिन्, ‘सासू र बुहारीले सुखदुःखका कुरा देउडामार्फत पोख्ने चलन पहिलेदेखि चलिआएको छ ।’

प्रकाशित : वैशाख २, २०७६ ०९:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयाँ वर्षमा पर्यटकको ओइरो

पछिल्लो समय नेपालीमा पनि घुम्ने बानीको विकास भएको छ । लुम्बिनीमा काठमाडौं, धरान, विराटनगर, नेपालगन्ज र पोखरालगायतका स्थानबाट पर्यटक आएका छन् । 
मनोज पौडेल

लुम्बिनी — सुनसरीको धरानबाट सुलभ राई नयाँ वर्ष मनाउन बुद्धस्थल लुम्बिनी आएका छन् । ४ जनाको परिवारसहित उनी दुई दिनअघि यहाँ आएका थिए । ‘प्रचण्ड गर्मी छ,’ उनले भने, ‘लुम्बिनीको पवित्रता र महिमाले भने दुःख–कष्ट सबै भुलायो ।’ उनीजस्तै ललितपुर, झम्सिखेलका जीवन आचार्य पनि नयाँ वर्षसँगै आध्यात्मिक ऊर्जा सञ्चय गर्न पाउँदा निकै खुसी छन् ।

नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकले भरिभराउ बुटवलको मणिमुकुन्द सेन उद्यान पार्क (बायाँ) र बुद्धस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनका लागि लामबद्ध श्रद्धालु । यहाँ आइतबार मात्रै ६५ हजारभन्दा बढीले मायादेवी मन्दिर र आसपासका विहार अवलोकन गरेका छन् । तस्बिर : घनश्याम गौतम र मनोज पौडेल/कान्तिपुर

दैनिक काम गर्दागर्दै तनाव झेलेका उनले शान्तिका अग्रदूतको महिमा र ऊर्जाको भावले यहाँ शीतलताको अनुभूति गरेको बताए । नयाँ वर्ष मनाउन पहिलोपटक परिवारसहित आएका उनले यहाँ दुई दिन बितेको पत्तै नभएको बताए । चार दिनका लागि यहाँ आएका थिए । ‘शान्ति, सद्भाव र भ्रातृत्वको राम्रो अनुभूति गरें,’ उनले भने, ‘जीवनलाई सकारात्मक बाटोमा डोर्‍याउने प्रेरणा पनि पाएँ ।’

नयाँ वर्ष मनाउन अहिले लुम्बिनी आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् । सानादेखि तारे होटलसम्मका कोठा भरिएका छन् । पर्यटकहरू योजना बनाएर यहाँ आएका छन् ।

नजिकभन्दा टाढाबाट आन्तरिक पर्यटक धेरै आएको होटल व्यवसायीहरूले बताए । पछिल्लो समय नेपालीमा पनि आन्तरिक पर्यटकका रूपमा घुम्ने बानीको विकास भएपछि यहाँ भीड बढेको हो । लुम्बिनीमा काठमाडौं, धरान, विराटनगर, नेपालगन्ज र पोखरालगायतका ठाउँबाट पर्यटक आएका छन् ।

त्यस्तै सय किमि सेरोफेरोका आन्तरिक पर्यटक पनि लुम्बिनी घुम्न आएका थिए । आइतबार दिनभर लुम्बिनीमा आन्तरिक पर्यटकको घुइँचो नै लागेको छ । साँझ पनि मन्दिर परिसरमा उस्तै भीड थियो । मायादेवी मन्दिर दर्शन गर्न ५ सय मिटर लामो लाइन लागेको थियो । ‘४० मिनेट लाइन लागेर दर्शन गरें,’ तौलिहवाबाट आएका उपासक विकास पोखरेललेभने, ‘आध्यात्मिक र शान्तिको ऊर्जा सञ्चय भयो ।’

नजिकै भए पनि अहिलेसम्म उनी नयाँ वर्षमा लुम्बिनी आएका थिएनन् । नयाँ वर्षमा यहाँ पर्यटकको चाप थामी नसक्नु रहेको सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका महासचिव लीलामणि शर्माले बताए । ‘होटलले राम्रो व्यापार गरेका छन्,’ उनले भने, ‘नयाँ वर्ष मनाउन आउनेले यहाँका सबैजसो होटल भरिभराउ छन् ।’

नयाँ वर्षमा अहिलेको जस्तो व्यापार पहिले नभएको सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । लुम्बिनी आसपासका होटल अहिले भरिभराउ छन् । नयाँ वर्ष मनाउन आउनेले मात्र आफ्नो होटलका १२ कोठा बुक गरेको उनले बताए । लुम्बिनीमा साना–ठूला गरी ८० बढी होटल छन् । नयाँ वर्षमा१४ कोठा बुक भएको २ महिनाअघिमात्र सञ्चालनमा आएको होटलअलोका इनका सञ्चालक किरणचन्द्र पौडेलले बताए ।

लुम्बिनीका थेरवादी क्षेत्रमा रहेका कम्बोडिया, थाई र म्यानमारका मन्दिरमा पर्यटकको भीड लागेको छ । त्यस्तै, पश्चिमी क्षेत्रको महायानी सम्प्रदायका द ग्रेट लोटस स्तुपा, लिनसन, सिंगापुर, अस्ट्रिया, क्यानाडा र चिनियाँ विहार र मन्दिरमा पनि उस्तै भीड छ ।
पर्यटकलाई नयाँ वर्षका दिन लुम्बिनी विकास कोषले मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क मिनाहा गरेको छ । नयाँ वर्षका दिन ६५ हजारभन्दा बढी पर्यटकले लुम्बिनीको अवलोकन गरेको लुम्बिनी विकास कोष सूचना शाखाले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT