तागे संक्रान्तिको रौनक

एलपी देवकोटा

जुम्ला — नयाँ वर्षसँगै तागे संक्रान्तिको रौनक सुरु भएको छ । नयाँ वर्षलाई साबिक कर्णालीवासीले तागे संक्रान्तिका रूपमा मनाउने गरेका छन् । जिल्लामा खस समुदायका विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै तागा लगाएर नयाँ वर्ष मनाउने चलन छ ।

तागे संक्रान्तिको रौनक

वर्षको सुरुको दिन महिलाले लगाएको तागा कात्तिक ६ गते विधिपूर्वक पूजाआजा गरी विसर्जन गर्ने परम्परा छ । जुम्लामा तागे संक्रान्ति मनाउने चलन मल्ल सामाज्य कालदेखि खस समुदायबाट सुरु भएको स्थानीय जानकार बताउँछन् । कल्याल राज्यकालमा पूर्णरूपमा यो पर्व विकसित भएअनुसार नै अहिलेसम्म कायमै रहेको स्थानीय जानकार एवं संस्कृतिविद् रमानन्द आचार्यले बताए ।

‘तागे संक्रान्तिमा महिलाले तागा लगाइसकेपछि मंगलसूचक मंगलगानको देउडा खेलेर रमाउने चलन छ,’ उनले भने, ‘यो पर्वमा खाइने मुख्य वस्तु पुवा हो । चामलको पिठोलाई भुटेर मह र बेसारमा मुछेर पुवा पकाइन्छ ।’ ब्राह्मणले विधिपूर्वक पूजाआजा गरेको सात रङको २१ वटा गाँठा भएको तागा विवाहित महिलाले लगाउने गर्दछन् ।


सुरुमा तागे संक्रान्ति ब्राह्मण समुदायले मात्रै मनाउने गरे पनि अहिले सबै जातिमा लोकप्रिय बन्दै गएको आचार्यले सुनाए । गाउँका मुखिया, नायक र जान्नेसुन्नेको घरमा गएर पूजाआजा गरी महिलाले तागा लगाउने गरेको उनले जनाए । आचार्यका अनुसार तागा लगाएपछि ‘अब कामका दिन आए, कृषि कर्म गर्न कम्मर कसौं भन्ने’ सन्देश तागाले दिने गरेको छ ।


स्थानीय जानकार पूर्णसिंह कठायतका अनुसार तागाले धानखेतीको सुरुवातको सन्देशसमेत दिने गर्छ । ‘तागा लाएसँगै किसान धानको ब्याड राख्नेलगायत काममा लाग्छन्,’ उनले भने, ‘कात्तिक ६ गते तागा विसर्जन गरेपछि अब धान काट्ने समय भयो भन्ने हुन्छ ।’ उनका अनुसार पतिको दीर्घायुका लागि तागा लगाउने चलन आसपासका जिल्लामा पनि बढेको छ ।


स्थानीय शिवकन्या अधिकारीका अनुसार नयाँ वर्षको दिन बिहानै घरमा तागा लगाएपछि महिला सार्वजनिक स्थानमा जम्मा हुने गर्छन् । ‘सामूहिक रूपमा देउडा गाएर तागे संक्रान्ति मनाउँछौं,’ उनले भनिन्, ‘सासू र बुहारीले सुखदुःखका कुरा देउडामार्फत पोख्ने चलन पहिलेदेखि चलिआएको छ ।’

प्रकाशित : वैशाख २, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?