सदरमुकाम पुगे पाठ्यपुस्तक

तुलाराम पाण्डे

कालीकोट — नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक सदरमुकाममा पुगेको छ । बढी जाडो हुने तिलागुफा नगरपालिकाको फोइमहादेव, राचुली, चिल्खाया र महाबै गाउँपालिकाको ओदानकुमा फागुन तथा अन्य स्थानमा वैशाखबाट शैक्षिक सत्र सुरु हुने गरेको छ । 

सदरमुकाम पुगे पाठ्यपुस्तक

फागुनदेखि शैक्षिक सत्र सुरु भएका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेका थिए भने वैशाखदेखि सुरु हुने विद्यालयका लागि बल्ल पुस्तक सदरमुकाम पुगेको हो । जिल्लामा यस वर्ष विनोद बुक सेन्टर, हाम्रो स्टेसनरी, बराल बिजिनेस सेन्टर र कर्णाली स्टेसनरीले पाठ्यपुस्तक बिक्री–वितरणको जिम्मा लिएका छन् ।


उनीहरूले संयुक्त डिपो बनाएर पाठ्यपुस्तक वितरण गर्न थालेका छन् । ‘सबै विद्यालयलाई पाठ्यपुस्तक बुझ्न खबर पठाइसकेका छौं,’ संयुक्त डिपोका अध्यक्ष राजकुमार शाहीले भने, ‘सदरमुकाममा पुगेका किताब गाउँ पठाउन थालिएको छ ।’ सोमबार सुरु हुने नयाँ भर्ना अभियानसँगै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरी गाउँगाउँमा पुर्‍याइने उनले जनाए ।


जनक शिक्षा सामग्री केन्द्रबाटै पुस्तक नछापिएकाले कक्षा ६ र ७ को नैतिक शिक्षाबाहेकका सबै ल्याइएको विक्रेताले बताए । कक्षा १ देखि १० सम्म जिल्लाभर ५४ हजार विद्यार्थी छन् । पाठ्यपुस्तकका लागि नगर तथा गाउँपालिकाले विद्यालयको खातामा रकम पठाएपछि विद्यालयमार्फत विक्रेतालाई झुक्तानी गरिनेछ ।


यस वर्ष सबै वित्रेताबीच सहकार्य गरेर समयमै किताब पुर्‍याउन लागिपरेको विनोद बुक सेन्टरका धनञ्जय अधिकारीले सुनाए । उनका अनुसार कक्षा १ देखि ५ सम्म ३ हजार ५ सय सेट किताब ल्याइएको छ । ६ कक्षादेखि १० सम्म २ हजार ५ सय सेट पुर्‍याइएको उनले जानकारी दिए । उनका अनुसार ३० हजार सेट किताब सदरमुकाम पुगेका छन् ।


जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकामा २ सय ९२ विद्यालयका ५४ हजारभन्दा बढी विद्यार्थी छन् । कतिपय विद्यालयले पुरानै पुस्तक प्रयोग गर्छन् । सबै किताब ल्याएर बिक्री नभएपछि समस्या हुने भएकाले ५४ हजार थान किताब नल्याएको विक्रेताको भनाइ छ । जिल्लामा पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहले करिब २ करोड रुपैयाँ विनियोजन गरेका छन् ।


किताब ढुवानी र बिक्रीबापत १८ प्रतिशत रकम विक्रेताले पाउँछन् । कतिपय विद्यालयले पाठ्यफुस्तकको रकम समयमा नदिने, धेरै विक्रेता हुँदा अनावश्यक बार्गेनिङ गर्ने, वित्रेताले पनि कुनै कक्षाको बढी सेट उठाउने तथा कुनै कक्षाको थोरै ल्याउने हुँदा यसअघि अपुग हुने गरेको बराल बुक सेन्टरका भानुभक्त बरालले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?