२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डोजर चालक  गाउँको प्राविधिक

सल्यान — शारदा नगरपालिका ८, मार्केको सालचौरदेखि निगालचुला जाने सडक ०५० बाट खन्न सुरु भयो । सशस्त्र द्वन्द्वका कारण रोकिएको सडकले ०६६ पछि निरन्तरता पायो । साबिक जिविसका प्राविधिकले खोलापारिबाट सडक लैजाने गरी गरेको सर्भे स्थानीयको अवरोधले कार्यान्वयन हुन सकेन ।

पछि डोजर चालकले आफूलाई सजिलो हुने भन्दै खोलाबाटै सडक लगे । प्राविधिक स्टेटमेन्टविपरीत खनिएको सडकका कारण स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । वर्षैपिच्छे आउने बाढीले सडक पुर्दा त्यसको विकल्पमा अहिले निगालचुलाबाट अर्को बाटो खनिँदैछ ।


शारदा नगरपालिका ७ कजेरीको रामे खोलादेखि बयल बजार हुँदै ओख्रेनी पुग्ने सडक पनि ०५२ मै खन्न थालिएको हो । द्वन्द्वका कारण रोकिएको सडकको काम ०६४ बाट सुरु भयो । जिविसकै प्राविधिकले खोलाको छेवैबाट लैजान सिफारिस गरे । केही समय उपभोक्ता समितिमा विवाद भयो । विवाद साम्य नहुँदै डोजर चालकले सजिलोका लागि नापिएको ठाउँभन्दा केही माथिबाट सडक खने । धेरै उकालो भएका कारण उक्त सडकमा पनि अहिले गाडी चल्न सक्दैन ।


यी दुईमात्र होइनन्, जिल्लामा डोजरमार्फत खनिएका अधिकांश सडकमा चालकको मनपरी चल्ने स्थानीयको अनुभव छ । साबिक गाविस र जिविसले अनुगमन र मूल्यांकनमा ध्यान नदिँदा करोडौं रकम खर्चिएर बनाइएका सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।


घर अगाडि सडक भए पनि स्थानीय घन्टौं पैदलयात्रा गर्न बाध्य छन् । बाह्रै महिना गाडी चलाउन समस्या भएपछि स्थानीय तहले पुनः सडक सुधारको काम थालेका छन् । अधिकांश ग्रामीण सडक साँघुरा र ठाडा हुँदा दुर्घटनाको जोखिमसमेत हुन्छ । ०४५ सालदेखि सडक निर्माण थालिएको सल्यानमा ०६४ पछि तीव्रता पायो ।


साबिक गाविस कार्यालयमा प्राविधिक नहुँदा निर्माण सम्पन्न भएपछि नापजाँचबिनै भुक्तानी दिने गरिएको थियो । जसका कारण सडक गुणस्तरहीन भएको बयल बजारका तिलकबहादुर रेउलेले बताए । उनका अनुसार अधिकांश सडकमा गाडी चल्न नसकेपछि करोडौं सरकारी लगानी बालुवामा पानी भएको छ । निगालचुलाका पूर्णबहादुर पुनले प्राविधिक स्टिमेटअनुसार खनिएका सडकमा वर्षौंदेखि गाडी चलिरहेको बताए । उपभोक्ता समितिले पनि राजनीतिक अनुकूलतामात्र हेरेकाले सडक कामै नलाग्ने भएको उनको भनाइ छ ।


जथाभावी सडक खनिएका कारण बर्सेनि भूक्षय बढ्दै गएको, पानीका मुहान सुकेको, सिँचाइ योजना र वनक्षेत्र मासिएको स्थानीयको गुनासो छ । पहिले निर्माण गरिएका अधिकांश सडक काम नलाग्ने भएकाले सबै स्थानीय तहले स्तरोन्नति गरिरहेको जनाएका छन् । अधिकांश सडक ठाडा र साघुँरा हुँदा पुनः सर्भे गर्नुपरेको जनप्रतिनिधिको भनाइ छ ।


जिससका अनुसार जिल्लाभर करिब तीन हजार किलोमिटर सडक खनिएको छ । जसमध्ये एक सय २० किलोमिटरमात्र कालोपत्रे छ । दक्ष प्राविधिकको अभाव र बजेट पर्नेबित्तिकै जथाभावी सडक निर्माण गर्ने प्रवृत्तिका कारण अधिकांश सडक कामै नलाग्ने अवस्थामा पुगेको जिससका इन्जिनियर प्रणी थापाले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?