पढ्दै कमाउँछन् विद्यार्थी

हरि गौतम

रुकुम पश्चिम — सरस्वती जैसी चौरजहारी नगरपालिका ११, खोलागाउँस्थित हिमालय माविको प्राविधिक धारअन्तर्गत कृषि जेटीए अध्ययन गरिरहेकी छन् । उनी नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिन्छिन् नै, विद्यालयले गराउने प्रयोगात्मक कक्षामा पनि उनको सहभागिता हुन्छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ को हिमालय माविका कृषि जेटीए तथा तीनवर्षे बाली विज्ञान विषयमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको च्याउ बिक्रीका लागि लैजाने तयारी गर्दै । फाइल तस्बिर : कान्तिपुर

उनलाई यतिले मात्रै पुगेको छैन । विद्यालयको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाका साथै आफैं थप प्रयोगात्मक कार्य गर्दै आएकी छन् ।

Citizen

उनी बेमौसमी तरकारी तथा कुखुरापालन गरेर छुट्टै व्यावहारिक कक्षामा पनि सहभागी भइरहेकी छन् । प्राविधिक धारअन्तर्गत तीनवर्षे बाली विज्ञानको पहिलो वर्षमा पढ्ने मीनबहादुर केसी पनि विद्यालयले दिने सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षामा नियमित सहभागी हुन्छन् । केसीले नछुटाउने अर्को कक्षा पनि छ, व्यावहारिक कक्षा । उनी पनि अन्य साथीभाइसँगै मिलेर बेमौसमी तरकारीका साथै कुखुरापालन गरिरहेका छन् ।

जैसी र केसीमात्रै होइन, उक्त विद्यालयको प्राविधिक धारका ८० विद्यार्थी पढाइका साथसाथै व्यावसायिक व्यावहारिक अभ्यासमा व्यस्त छन् । विद्यालयको सैद्धान्तिक र प्रयोगात्मक कक्षापछिको फुर्सदको समय उनीहरूले कृषि कर्ममा लगाउन थालेका छन् । ‘हामीले जे पढ्दै र सिक्दै छौं, त्यसको व्यावहारिक रूपमा कार्यान्वयन पनि गरिरहेका छौं,’ जैसीले भनिन्, ‘सिक्दै काम गर्दा अरू प्रभावकारी हुने देखियो ।’ विद्यालय आसपासका जग्गा भाडामा लिएर विद्यार्थीले पढाइसँगै आम्दानी गर्न थालेका छन् । उनीहरूले उत्पादन गरेको एक सय आठ किलो च्याउ बिक्री भइसक्यो ।

प्रतिकिलो दुई सयका दरले विद्यार्थीले यसबाट २१ हजार ६ सय रुपैयाँ कमाए । ‘चौरजहारी नगरपालिकाको कृषि शाखाले निःशुल्क बीउ दिएको थियो,’ जैसीले भनिन्, ‘त्यसैबाट उत्पादित पहिलो पटकको च्याउ बिक्री गरिसक्यौं, त्यसबाट भएको आम्दानी जम्मा गरेका छौं ।’ आफैंले पढ्दै गरेको विषयमा काम गर्दा रमाइलो हुने अनुभव उनको छ । ‘आफूले जे पढिरहेका छौं, त्यही काम गर्न सुरु गरियो, आम्दानी पनि हुन लागेको छ,’ केसीले भने, ‘पढ्दै काम गर्दा सजिलो र रमाइलो हुने रहेछ ।’

प्राविधिक धारतर्फका ८० विद्यार्थीले ६ समूह बनाएर तरकारी खेती र कुखुरापालन गरेका हुन् । सुरुमा ६ समूहले २६ पोकाका दरले एक सय ५६ पोका च्याउ लगाएर उत्पादन सुरु गरेका थिए । विद्यार्थीले जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेका हुन् । विद्यालयको दुई हजार सात सय वर्गमिटर जग्गा र दुई रोपनी जग्गा भाडामा तरकारी लगाएका छन् ।

वार्षिक १० हजार भाडा तिर्ने गरी स्थानीयको दुई रोपनी जग्गामा पनि तरकारी खेती सुरु भएको विद्यालयका कृषि प्रशिक्षक उदयराम ओलीले बताए । जग्गाको भाडा भने विद्यालय आफैंले तिरिदिने भएको छ । विद्यार्थीलाई उत्पादनमा जोड्न र सिकेको कुरा कार्यान्वयनका लागि हौसला प्रदान गर्न जग्गा भाडामा लिएर तरकारी खेती व्यवस्थापनको काम गरिदिएको ओलीले बताए ।

‘सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञान दिने पहिलो उद्देश्यले विद्यार्थीलाई खेती गर्न प्रेरित गरिएको हो,’ ओलीले भने, ‘त्यसबाट हुने आम्दानी विद्यार्थीकै हुन्छ ।’ विद्यार्थीको उत्पादनले बजार पाउन समस्या नहुने प्रअ भीमबहादुर ओलीले बताए । उनका अनुसार नगरपालिकाले पनि बिक्रीका लागि सघाउने भएको छ । पहिलो चरणको च्याउ बिक्री गरिसकेका विद्यार्थीले टमाटर, करेला, भिन्डीलगायत उमारिसकेका छन् ।

प्रकाशित : वैशाख २, २०७६ ०९:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डोजर चालक  गाउँको प्राविधिक

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका ८, मार्केको सालचौरदेखि निगालचुला जाने सडक ०५० बाट खन्न सुरु भयो । सशस्त्र द्वन्द्वका कारण रोकिएको सडकले ०६६ पछि निरन्तरता पायो । साबिक जिविसका प्राविधिकले खोलापारिबाट सडक लैजाने गरी गरेको सर्भे स्थानीयको अवरोधले कार्यान्वयन हुन सकेन ।

पछि डोजर चालकले आफूलाई सजिलो हुने भन्दै खोलाबाटै सडक लगे । प्राविधिक स्टेटमेन्टविपरीत खनिएको सडकका कारण स्थानीयले वर्षौंदेखि सास्तीभोग्दै आएका छन् । वर्षैपिच्छे आउने बाढीले सडक पुर्दा त्यसको विकल्पमा अहिले निगालचुलाबाट अर्कोबाटो खनिँदैछ ।

शारदा नगरपालिका ७ कजेरीको रामे खोलादेखि बयल बजार हुँदै ओख्रेनी पुग्ने सडक पनि ०५२ मै खन्न थालिएको हो । द्वन्द्वका कारण रोकिएको सडकको काम ०६४ बाट सुरु भयो । जिविसकै प्राविधिकले खोलाको छेवैबाट लैजान सिफारिस गरे । केही समय उपभोक्ता समितिमा विवाद भयो । विवाद साम्य नहुँदै डोजर चालकले सजिलोका लागि नापिएको ठाउँभन्दा केही माथिबाट सडक खने । धेरै उकालो भएका कारण उक्त सडकमा पनि अहिले गाडी चल्न सक्दैन ।

यी दुईमात्र होइनन्, जिल्लामा डोजरमार्फत खनिएका अधिकांश सडकमा चालकको मनपरी चल्ने स्थानीयको अनुभव छ । साबिक गाविस र जिविसले अनुगमन र मूल्यांकनमा ध्यान नदिँदा करोडौं रकम खर्चिएर बनाइएका सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

घर अगाडि सडक भए पनि स्थानीय घन्टौं पैदलयात्रा गर्न बाध्य छन् । बाह्रै महिना गाडी चलाउन समस्या भएपछिस्थानीय तहले पुनः सडक सुधारको काम थालेका छन् । अधिकांश ग्रामीण सडक साँघुरा र ठाडा हुँदा दुर्घटनाको जोखिमसमेत हुन्छ । ०४५ सालदेखि सडक निर्माण थालिएको सल्यानमा ०६४ पछि तीव्रता पायो ।

साबिक गाविस कार्यालयमा प्राविधिक नहुँदा निर्माण सम्पन्न भएपछि नापजाँचबिनै भुक्तानी दिने गरिएको थियो । जसका कारण सडक गुणस्तरहीन भएको बयल बजारका तिलकबहादुर रेउलेले बताए । उनका अनुसार अधिकांश सडकमा गाडी चल्न नसकेपछि करोडौं सरकारी लगानी बालुवामा पानी भएको छ । निगालचुलाका पूर्णबहादुर पुनले प्राविधिक स्टिमेटअनुसार खनिएका सडकमा वर्षौंदेखि गाडी चलिरहेको बताए । उपभोक्ता समितिले पनि राजनीतिक अनुकूलतामात्र हेरेकाले सडक कामै नलाग्ने भएको उनको भनाइ छ ।

जथाभावी सडक खनिएका कारण बर्सेनि भूक्षय बढ्दै गएको, पानीका मुहान सुकेको, सिँचाइ योजना र वनक्षेत्र मासिएको स्थानीयको गुनासो छ । पहिले निर्माण गरिएका अधिकांश सडक काम नलाग्ने भएकाले सबै स्थानीय तहले स्तरोन्नति गरिरहेको जनाएका छन् । अधिकांश सडक ठाडा र साघुँरा हुँदा पुनः सर्भे गर्नुपरेको जनप्रतिनिधिको भनाइ छ ।

जिससका अनुसार जिल्लाभर करिब तीन हजार किलोमिटर सडक खनिएको छ । जसमध्ये एक सय २० किलोमिटरमात्र कालोपत्रे छ ।दक्ष प्राविधिकको अभाव र बजेट पर्नेबित्तिकै जथाभावी सडक निर्माण गर्ने प्रवृत्तिका कारण अधिकांश सडक कामै नलाग्ने अवस्थामा पुगेको जिससका इन्जिनियर प्रणी थापाले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT