३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

३ वर्षदेखि भवन अलपत्र

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका १, पोखरीस्थित त्रिभुवन जनता माविको चारकोठे भवन तीन वर्षदेखि अलपत्र अवस्थामा छ । बजेट अभावमा भवन पूरा नहुँदा पठनपाठनमै समस्या परेको शिक्षकले बताए ।

३ वर्षदेखि भवन अलपत्र

साबिक जिविसमार्फत निर्माण क्षेत्र विकास कोषको रकमबाट भवन निर्माण सुरु गरिएको थियो । दुई कोठाको निर्माण सम्पन्न भए पनि भवन अलपत्र परेपछि पठनपाठनमै समस्या भएको हो । साबिक जिविसले भवन निर्माणमा ६ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले चारकोठे भवन पूरा हुन नसकेपछि लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ ।


बजेट अपुग भएकोबारे विभिन्न निकायमा जानकारी गराउँदा पनि बेवास्ता भएपछि काम अघि बढाउन नसकिएको प्रधानाध्यापक पोखरसिं खत्रीले बताए । ‘भवनमा रकम अपुग भएपछि बनेको संरचनासमेत जीर्ण बन्दै गएको छ,’ प्रअ खत्रीले भने, ‘विद्यार्थीलाई कोचाकोच गरेर एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ ।’ विद्यालयका अनुसार भवनका लागि ल्याएका सामग्री थन्किएका छन् । कक्षा १० सम्म सञ्चालित विद्यालयमा कक्षा १२ को पठनपाठन गराउने योजना थियो । तर भवन नभएर सञ्चालन हुन सकेको छैन ।


विद्यालयका अनुसार साबिक जिल्ला शिक्षा कार्यालयले निर्माण गरेको भवनमा मात्र पठनपाठन गराइएको छ । शान्ति मन्त्रालयको बजेटबाट निर्माण भएको भवन चार वर्षअघिको भूकम्पले जीर्ण बनेपछि पठनपाठनमा गाह्रो भएको शिक्षकहरू बताउँछन् ।

भूकम्पका कारण चर्किएको भवनमा जोखिम मोलेर कक्षा सञ्चालन गरिरहेको प्रअ खत्रीले सुनाए ।


उनका अनुसार गतिलो भवन नहुँदा पठनपाठन गुणस्तरीय हुन सकेको छैन । अलपत्र भवनको माथिल्लो तला थप्न सके कक्षा सञ्चालनमा सहज हुने उनको भनाइ छ । बनिसकेको दुइटा कोठामा पनि सामग्री थन्काइएको छ । यी सामग्री बाहिर राख्दा हराउने डरले कक्षाकोठामै राख्न बाध्य भएको उनले बताए ।


खत्रीले स्थानीय र प्रदेश सरकारसँग पटकपटक यसबारे माग गरे पनि बेवास्ता भएको जनाए । पुराना सबै भवन जीर्ण भएकाले वर्षाको समयमा पानी चुहिने समस्या छ । ‘भवन निर्माण भए प्राविधिक धारको पढाइ र प्लस टु सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘तर सबैतिरबाट बेवास्ता हुँदा आफैं आँट गर्न सकेका छैनौं ।’


सदरमुकाम खलंगा नजिकैको बस्ती भए पनि लक्ष्मीपुर विकासमा पछि परेको व्यवस्थापन समिति अध्यक्ष दुर्गाबहादुर डाँगीको अनुभव छ । प्राविधिक धारअन्तर्गत आयुर्वेद शिक्षा सञ्चालन गर्न खोजे पनि समस्या भइरहेको जनाए । राजनीतिक पहुँच नपुग्दा विद्यालयले विभिन्न पूर्वाधार समस्या झेलिरहेको उनी बताउँछन् ।


‘निर्माणाधीन भवनको काम बीचैमा रोकिएपछि नजिकैको अर्को पुरानो भवनसमेत जोखिममा छ,’ उनले भने, ‘ठूलो वर्षात भए भत्किने सम्भावना रहेकाले जोखिम मोलेर कक्षा सञ्चालन गराएनौं ।’

प्रकाशित : वैशाख ३, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?