पाठ्यपुस्तक आएन
मुगु — नयाँ शैक्षिक सत्र सुरु भइसके पनि तीन स्थानीय तहका पाठ्यपुस्तक जिल्ला आइपुगेका छैनन् । व्यवसायीको लापरबाहीका कारण छायानाथ रारा नगरपालिका, सोरु र मुगुमकार्मारोङ गाउँपालिकामा पाठ्यपुस्तक पुग्न नसकेको हो ।
ती स्थानीय तहमा क्रिशत्ति स्टेसनरी, जयलक्ष्मी पुस्तक पसल र केबी स्टेसनरीले ढुवानीको जिम्मा लिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । नतिजा प्रकाशन भएलगत्तै विद्यार्थी पुस्तक खोज्न गमगढी बजार धाउन थालिसकेका थिए । तर उनीहरू खाली हात फर्किएका छन् । जिल्लामा सधैं समयमा पाठ्यपुस्तक ढुवानी नहुँदा पठनपाठनमा समस्या पर्ने गरेको छ ।
खत्याड गाउँपालिकाका विद्यालयका लागि बाजुराको धुलाचौरमा पाठ्यपुस्तक पुगेका छन् । विद्यार्थी र शिक्षकले त्यहीं गएर किताब ल्याउने तयारी गरेको खत्याड गाउँपालिकास्थित सर्वोदय मावि सुकाढिकका प्रधानाध्यापक लोकेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार खत्याड गाउँपालिकाका लागि रारा स्टेसनरी सेन्टरले कर्णाली करिडोरबाट पाठ्यपुस्तक धुलाचौर पुर्याएको हो ।
मुगुका लागि किताब ढुवानी गर्न कोही पनि नआएको जनक शिक्षा सामग्री केन्द्रको कर्णाली प्रदेश कार्यालयका धनबहादुर केसीले बताए । उनका अनुसार खत्याड गाउँपालिकाका लागि मात्र किताब ढुवानी भएको छ ।
केबी स्टेसनरी सेन्टरका प्रोपराइटर केशव चौलागाईंले एक/दुई दिनभित्र पाठ्यपुस्तक लिन जाने बताए । जिम्मा लिएका स्टेसनरी पसलले ढुवानीमा लापरबाही गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए । उनले पाठ्यपुस्तक छिटो ल्याउन ताकेता गरिरहेको जनाए ।
प्रकाशित : वैशाख ५, २०७६ ०९:०४