कोदो र कागुनो छर्ने चटारो

राजबहादुर शाही

माग्री, मुगु — मुगमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँका सोनाम तोर्चे लामालाई कोदो र कागुनो छर्ने चटारो छ । खाना बोकेर बिहानै बारीमा जाने दिनभर काम गरेर अबेरमात्र घर फर्कन्छन् । उनी सातादेखि बारीमै व्यस्त छन् । 

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँका किसान पाखो जग्गामा कोदो र कागुनो लगाउँदै । तस्बिर : राजबहादुर/कान्तिपुर 

सोनाममात्र होइन, गाउँका अधिकांशलाई अहिले बाली लगाउने चटारो छ । स्थानीय बारीमै भेटिन्छन् । गाउँघर सुनसान छन् । महिला(पुरुष बिहानदेखि साँझ अबेरसम्म खेतबारीमै हुन्छन् । कोदो छर्ने समयले गर्दा एकछिन फुर्सद नभएको सोनामले बताए । ‘यो समयमा कोदो नछरे कात्तिकमा पाक्न मुस्किल हुन्छ,’ उनले भने, ‘हिउँ बिलाएपछि अहिले सबै किसान बारीमा व्यस्त बनेका छौं ।’

Citizen


मुगमकार्मारोङ गाउँपालिकाको मह, रिउस, पुवा, दाउरा, सेरोकलगायत बस्तीका बासिन्दालाई पनि बाली लगाउन भ्याइनभ्याई छ ।
गाउँपालिकाका अधिकांश गाउँमा एउटा मात्रै गोरुले जोत्ने चलन छ । एक जनाले हलो तान्ने र अर्काले गोरुको नाकमा लगाएको डोरी तान्ने गर्छन् । यो वर्षको भारी हिमपातले गर्मी मौसम ढिलो सुरु हुँदा चैतमा छर्ने कोदो र कागुनो वैशाखमा रोप्नु परेको स्थानीय बताउँछन् । मुगमकार्मारोङको मानवीय बस्ती उच्च हिमाली क्षेत्रमा भएकाले धान फल्दैन ।

गाउँपालिकामा चिनो, कागुनो, फापर, उँवा र आलुमात्र लगाइन्छ । वैशाखमा कोदो र कागुनो छर्ने स्थानीयले जेठ/असारमा चिनो रोप्ने गरेका छन् । ती बाली पनि कात्तिकमै भित्र्याइन्छ । एक बाली लगाएर वर्षभरिको छाक टार्न मुस्किल हुने रिउस गाउँकी याङजुङ लामाले बताइन् । उनका अनुसार उत्पादनसमेत कम हुँदा बाहिरको चामलको भर पर्नुपर्छ । भोकमरीको डरले आफूले उत्पादन गरेको अनाजलाई जोगाएर खानुपरेको उनले सुनाइन् ।

सिँचाइको असुविधा र भिरालो जग्गाका कारण स्थानीय आकासेपानीको भरमा खेतीपाती गर्छन् । गाउँपालिकाकै मुगु गाउँवासी भने अहिले आलु लगाउने चटारोमा छन् । जाडो कटाउन औंलतिर झरेका किसान धमाधम गाउँ फर्किएर बारीमा पसेका हुन् । बर्सेनि हिउँ पर्नुअघि नै चौरीसहित गाउँ छाड्ने उनीहरू हिउँ पग्लिएपछि मात्र फर्कन्छन् । हिउँले छोपेको जग्गाजमिन सफा भएपछि गाउँमा आलु लगाउन भ्याइनभ्याइ हुन्छ ।

‘गाउँमा अरु कुनै बाली उमि्रँदैन, त्यसैले बर्सेनि आलु मात्र लगाउने गरिएको हो,’ वडाध्यक्ष कार्मा लामाले भने, ‘वैशाखमा रोपेको आलु पनि कात्तिक अन्तिममा भित्र्याउने गरिन्छ ।’ उनका अनुसार अन्न उत्पादन नहुने भएकाले स्थानीयलाई तिब्बतको खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ । स्थानीयले वर्षायाममा तिव्बतबाट किनेर ल्याएको खाद्यान्नले वर्षभरिकोजोहो गर्ने गरेको उनले जनाए ।

जडीबुटी प्रशस्त पाइने भएकाले स्थानीयले आफ्नो थातथलो छोड्न नसकेको रिउस गाउँका शिक्षक सिपी लामाले बताए । उनका अनुसार व्यवसायबाटै स्थानीयले वर्षभरिको खर्च धान्ने गरेका छन् । ‘विकट र चीनसित सीमा जोडिएको क्षेत्र भएकाले स्थानीयलाई खाद्यान्नदेखि दैनिक उपभोग्य सामान तिब्बतकै भर पर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थानीयस्तरमा उत्पादन हुने जडीबुटीको बिक्री पनितिब्बती बजारमै हुन्छ ।’

प्रकाशित : वैशाख ५, २०७६ १०:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चेन्नाइमाथि हैदरावाद बलियो

एजेन्सी

हैदरावाद — सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा बुधबार राति चेन्नाइ सुपर किंग्लसलाई ६ विकेटले हराएको छ । चेन्नाइको कमजोर ब्याटिङपछि हैदरावादको सजिलो जित सम्भव भएको हो । 

पहिले ब्याटिङ गरेको चेन्नाइले ५ विकेटमा १ सय ३२ रन बनाएको थियो। जवाफमा डेविड वार्नरको अर्धशतकको मदतले हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाएर १ सय ३७ रन बनायो।

प्रकाशित : वैशाख ५, २०७६ १०:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT