कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विपन्न बालबालिकालाई स्थानीय नेताको अभिभावकत्व

तुलाराम पाण्डे

कालिकोट — गत वर्ष साविक एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाहीले अभिभावकत्व लिएका सुशील वादी ७६ प्रतिशत अंक ल्याएर कक्षा २ मा गएका छन् । सात वर्षको उमेरमा खाडाचक्र १ मान्म बजार बस्ने सुशीललाई शाहीले ड्रेस, झोला, कापी कलमलगायत विद्यालय सामग्री उपलब्ध गराएर स्थानीय महादेव आधारभूत विद्यालय बालमन्दिरमा कक्षा १ मा भर्ना गराएका थिए । 

‘सुशीलको पढाइ राम्रो छ,’ कक्षा शिक्षक अप्सरा शाहीले भनिन्, ‘विद्यालय पनि नियमित आउँछन् ।’ २६ बालबालिका रहेको कक्षा १ मा उनी ८ औं स्थानमा कक्षा उन्नति गर्न सफल भएको शिक्षक कमलबहादुर शाहीले बताए । उनको अभिभावकत्व लिएका शाहीको निरन्तरको सहयोगले विद्यालय पनि नियमित छन् ।


छोराले प्रगति गरेको देखेर सुशीलका बुवा कृष्ण र आमा सुर्जकला खुसी छन् । दैलेखबाट बसाइ सरी मान्मा आएका ४० परिवार वादी समुदाय गिट्टी कुट्ने र भारी बोक्ने काम गर्छन् । समुदायबाट एसईईसम्म २ छात्रामात्र पुगेका छन् । अन्यले बीचैमा पढाइ छाड्ने गरेको बालमन्दिरका प्रअ नन्दा शाहीले बताइन् ।


त्यस्तै, तिलागुफा नगर प्रमुख रतनबहादुर शाहीले अभिभावकत्व लिएर कक्षा ३ माभर्ना गराएका तिलागुफा १ नाग्मका विनोद दमाई गत पुस पहिलो साता वार्षिक परीक्षामा सामेल भएर पास पनि भए । हिउँदे बिदा हुने तिलागुफा १ स्थित जगन्नाथ आधारभूत विद्यालय नाग्मले गत फागुनमा भर्ना सुरु गरे पनि उनी अभिभावकसँगै भारत गएकाले अहिलेसम्म नफर्किएको प्रधानाध्यापक विमला ढुंगानाले बताइन् ।


बुवासँगै ज्याला मजदुरी गर्न भारत गएर घर फर्किएका १२ वर्षीय विनोदलाई गत वर्षको असारमा तिलागुफा नगर प्रमुख शाहीले संरक्षकको रुपमा विद्यालय भर्ना गराएका थिए । उनी हिउँदे सिजनमा गाउँमा चिसो हुने भएकाले जाडो छल्न र कमाई गर्न भारत गएर नफर्किएको प्रअ ढुंगानाले बताइन् । गत वर्ष विद्यालय बाहिर रहेका १ सय ९ बालबालिका विद्यालय भर्ना भएकोमा अधिकांश नियमित विद्यालय जाने गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?