२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भर्ना अभियान : पोसाक र स्टेसनरी निःशुल्क

शैक्षिक सामग्री किन्न नसकेकै कारण कुनै विद्यार्थी विद्यालयबाट बाहिर हुन नदिन स्थानीय तहको पहल

रुकुम पश्चिम र सल्यान — चौरजहारी नगरपालिकाले चालू शैक्षिक सत्रमा विद्यार्थीलाई पाठ्यपुस्तकसहित पोसाक र कापी–कलम निःशुल्क दिने तयारी गरेको छ । कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई पाठ्यपुस्तकको साथमा वर्षभरि पुग्ने कापी–कलम र एक जोर पोसाक दिन लागेको हो ।

भर्ना अभियान : पोसाक र स्टेसनरी निःशुल्क

नगरपालिकाभर ४१ विद्यालय छन् । कक्षा १ देखि ५ सम्म पढाइ हुने ४० विद्यालय छन् । झण्डै ५ हजार विद्यार्थीलाई कापी(कलमको साथमा विद्यालय पोसाक दिने निर्णय नगर कार्यपालिकाले गरेको छ ।


‘विद्यालय जानबाट कोही पनि वञ्चित नहोउन् भन्ने उद्दश्यले पुस्तकसहित अन्य शैक्षिक सामग्री दिने निर्णय गरेक हौं,’ नगर प्रमुख विशाल शर्माले भने, ‘विपन्न परिवारका बालबालिकालाई कापी, कलम र पोशाक किन्न समस्या हुने भएकाले उनीहरूको माग सम्बोधन गर्न लागिएको हो ।’ नगरले बाल विकासका बालबालिकालाई भने खेलौना पनि दिनेछ । बालविकासका छात्रछात्रालाई पढ्न अभिरुचि बढाउने सामग्री उपलब्ध गराइने नगर प्रमुख शर्माले जनाए ।


पहिलो चरणको भर्ना अभियान सकिने दिन वैशाख ८ गते सबै विद्यार्थीलाई पाठ्यपुस्तक साथमा एक जोर पोसाक र कापीकलम दिने नगरको योजना उनले सुनाए । वैशाख ८ गते सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने र पठनपाठन पनि थाल्ने योजना बनाएको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख धनन्जय आचार्यले बताए ।


विद्यार्थी भर्ना अभियानमा नगरपालिका, वडा कार्यालय, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा अभिभावक लागिरेको आचार्यले बताए । पहिलोपटक हरेक विद्यार्थीले ६ विषयका ६ थान कापी पाउनेछन् । त्यसको अलाबा छुट्टै लेखन अभ्यास र गणित विषयका पनि कापी दिइनेछ । त्यसपछि विद्यार्थीले आवश्यकताको आधारमा शैक्षिक सामग्री पाउँछन् ।


किताब पाएनन्

समयमै रकम निकासा नहुँदा बन्गाडकुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकाका सामुदायिक विद्यालयमा भर्ना विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । सल्यानमा भर्ना अभियान जारी भए पनि दुई स्थानीय तहले विद्यालयको खातामा रकम नपठाउँदा २० प्रतिशत बिद्यार्थी प्रभावित भएका छन् ।


भर्ना भएका विद्यार्थीलाई रित्तो हात फर्कनुपर्ने बाध्यता छ । वैशाख १८ गतेदखि पठनपाठन सुरु हुने भए पनि बजेट निकासा नभएकाले विद्यार्थी अलमलमा परेका छन् । पुस्तक बिक्रेताले किताब ल्याएर गोदाममा थुपारे पनि स्थानीय तहले बजेट बिनियोजन नगर्दा पुस्तक ल्याउन नसकेको कृष्ण मावि संग्रहीका प्रधानाध्यापक मोहनकुमार रोकायले बताए ।


प्रभाकर मावि देवस्थलका प्रअ शिखरकुमार यरीले पुस्तक बिक्रेतासँग उधारो दिन अनुरोध गरे पनि नमानेपछि छात्रछात्रालाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको जनाए । त्रिजमावि च्युराले भने उधारोमा पुस्तक किनेर वितरण गरिएको जनाएको छ ।


प्रधानाध्यापक गुमानसिं बिष्टले पछि तिर्ने सर्तमा उधारोमा पुस्तक ल्याएको जनाए । ६८ विद्यालय रहेको बन्गाडकुपिण्डेका त्रिभुवन जनता मावि शंखपिपल र फुर्खेसल्ली आधारभूत बामेले पुस्तक लिएको व्यवसायी तिलक बुढाले बताए ।


पुस्तक व्यवसायी संघका उपाध्यक्ष डम्मर केसीले जिल्लाका १० स्थानीय तहमध्ये सातले समयमै पाठयपुस्तकको रकम निकासा गरेपछि धमाधम विद्यालयले किताब खरिद गरेको जनाए । उनका अनुसार शारदा नगरपालिकाले भर्खरमात्र रकम निकासा गरेको छ । दुई स्थानीय तहले रकम निकासामा ढिलाइ गर्दा विद्यार्थीले पुस्तक पाउन नसकेको उनले जनाए ।


नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा पाठयपुस्तकको रकम निकासा गर्न नसकिएको बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले बताए । उनका अनुसार प्रशासकीय अधिकृत नोखिराम ओली र लेखा अधिकृत कर्ण बोहरा जिल्लाबाहिर छन् । भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराएको पुस्तक खरिद गरेको बिल विद्यालयले पेस गरेपछि तुरुन्तै भुक्तानी दिने त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?