कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

असिनापीडितलाई एक महिनाको तलब

ज्योति कटुवाल

दैलेख — ठाँटिकाध गाउँपालिकाका जनप्रतिनिधिले असिनापीडितलाई एक महिनाको तलब राहतस्वरुप प्रदान गर्ने भएका छन् । गत शुक्रबार परेको असिनापानीले स्थानीयको अन्नबाली सखाप पारेपछि एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको हो ।

असिनाले गाउँपालिकाभरि लगाइएको अन्नबालीमा ठूलो क्षति गर्दा किसान समस्यामा परेका छन् । किसानलाई वर्षभरिको खाद्यान्न जोहो कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । गाउँपालिकाले असिनाका कारण पुगेको क्षतिको स्थलगत अनुगमन गरी विवरण संकलन गर्न सुरु गरेको छ । क्षतिको विवरण आएपछि पीडितलाई थप राहत दिइने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए ।


‘बाली भित्र्याउने समयमै असिनाले ठूलो क्षति गर्‍यो,’ उनले भने, ‘पीडितको राहतका लागि तत्काल एक महिनाको तलब सबै जनप्रतिनिधिले प्रदान गर्ने निर्णय भएको छ ।’ उनले क्षतिको विवरण संकलन गर्न गाउँगाउँमा टोली खटाउन आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार असिनापीडितलाई प्रदेश सरकारले पनि दुई करोड राहत दिने निर्णय गरेको छ ।


गाउँपालिकाका अनुसार अध्यक्ष, उपाध्यक्ष, ६ वटै वडाध्यक्ष, ६ कार्यपालिका सदस्य र १८ गाउँसभाका सदस्यले एक महिनाको पारिश्रमिक पीडितलाई दिने भएका हुन् । गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहका अनुसार जनप्रतिनिधिको एक महिनाको तलबबाट ३ लाख ४४ हजार ५ सय रुपैयाँ संकलन हुनेछ । ‘राहत रकम संकलन भएपछि कसरी वितरण गर्ने भन्ने टुंगो लाग्नेछ, असिनापीडितका लागि पुरक बजेटसमेत पारित गरिएको छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले पनि तत्कालका लागि राहत दिएको छ, थप रकम संघीय सरकारसँग माग गरिनेछ ।’


गाउँपालिका कर्मचारी पदमबहादुर बमले पनि पोषाक भत्ताबापतको १० हजार रुपैयाँ असिनापीडित किसानलाई उपलव्ध गराउने घोषणा गरेका छन् । चैत २२ र २४ गते साँझ परेको असिनापानीले तरकारी, फलफूललगायतमा ठूलो क्षति गरेको गाउँपालिकाले जनाएको छ । उसका अनुसार ६ वटै वडामा असिना पर्दा किसानले अन्नको बीउसमेत जोगाउन पाएनन् ।


स्थानीयका अनुसार अधिकांश किसानलाई वर्षभरिको खाद्यान्न जोहो गर्न भारतलगायतमा मजदुरीका लागि जानुपर्ने बाध्यता आएको छ । सोमवार सम्पन्न चौथो गाउँसभामार्फत असिनापीडितको समस्या हल गर्न पूरक बजेट पास गरिएको उपाध्यक्ष सिंहले बताइन् । उनका अनुसार गाउँसभाले विभिन्न विधयेकसमेत पारित गरेको छ । ‘विनियोजन विधयेकलाई संशोधन गरी पूरक बजेट ल्याएको हो,’ उपाध्यक्ष सिंहले भनिन्, ‘पूरक बजेटमा असिनापीडित किसानका लागि विशेष कार्यक्रम ल्याइएको छ ।’

प्रकाशित : वैशाख ६, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?