१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

असिनाले स्याउमा क्षति

राजबहादुर शाही

मुगु — छायाँनाथरारा नगरपालिकाका विभिन्न बस्तीका स्याउ बारीमा असिनापानीले ठूलो क्षति पुर्‍याएको छ । दाना लाग्दै गरेका स्याउका फूल असिनाले झारेपछि किसान चिन्तित बनेका छन् । ताल्ता, मइतु, कालापाल्ता, माथितुम, पिना, झ्यारी, बामलगायत गाउँमा असिनाले ठूलो क्षति गरेको हो । 

हिउँदमा बाक्लो हिमपात हुने क्षेत्र भएकाले ती बस्तीमा स्याउको राम्रो उत्पादन हुने गरेको छ । बाम, फोइपाटा, दर्ख्यालबाडलगायत क्षेत्र सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ । ताल्चागाउँकी विष्णुमाया रोकायाको स्याउ बगैचामा करिब एक हजार दुई सय बोट छन् ।


स्याउबाटै उनको परिवारको घर व्यवहार चलिरहेको छ । फूल फुलेर दाना लाग्ने बेलामा असिनापानी परेपछि उनलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । ‘स्याउका फूल झरेर भुइँ सेतै छ, अब के दाना लाग्ला ?,’ उनले भनिन्, ‘स्याउबाटै घरको वर्षभरिको खर्च चलिआएको छ, यसवर्ष आम्दानी नहुने भो ।’ उनका अनुसार एक/दुई हप्तासम्म असिनापानी र हावाहुरी नचलेको भए स्याउलाई असर हुने थिएन ।


स्याउका फूल असिनापानी र हावाहुरीका कारण झरेपछि किसान मर्कामा परेको कार्कीबाडा गाउँका जेटिए अजबहादुर सेजुवालले बताए । ‘बाँकी रहेका स्याउका फूलमा पानी पस्दा दाना नलाग्ने समस्या देखिएको छ,’ उनले भने, ‘ओसिलो जमिनमा स्याउ फुलेर दाना लागिसकेपछि पर्दैनथ्यो, तर फूल नै झारेपछि स्याउ उत्पादन न्यून हुने देखिएको छ ।’


बेमौसमी बाढीपहिरो

सोरु गाउँपालिकाको नार्थपु र फोतुमा बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले अन्नबालीसहित केही सिँचाइ र खानेपानी योजनामा क्षति पुर्‍याएको छ । गत सोमबार भएको वर्षासँगै एक्कासी माथिबाट आएको बाढी पहिरोले फोतुको रावलबाडा, भादगाउँ र लिब्रु गाउँमा क्षति पुर्‍याएको हो ।


बाढीले पाक्न लागेको गहुँ र जौ बाली छोपेको स्थानीयको भनाइ छ । रावलबाडा गाउँका चन्द नेपालीका अनुसार बाढीपहिरोले गुल्मा जिउलाको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ । उनका अनुसार पाक्न लागेको गहुँ छोपेर नष्ट पारेपछि किसान समस्यामा परेका छन् ।


बाढी पहिरोले बाली र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको जडेपानीका कर्णजंगशाहीले जनाए । उनका अनुसार हावाहुरीका कारण अन्नबाली र फलफूलमा क्षति पुगेको छ । सोरु गाउँपालिकाको केही बस्तीमा बाढीपहिरोले क्षति गरेको जानकारी आएपछि थप जानकारी लिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बताए ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?