कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी सरुवाले कार्यक्रम अन्योलमा

सल्यान — समायोजनका त्रममा डिभिजन वनका अधिकृतसहित ११ कर्मचारीको सरुवाले कार्यक्रम सञ्चालनमै अन्योल भएको छ । कर्मचारी सरुवाले सुरु हुन थालेका कार्यक्रम केही समय प्रभावित हुने देखिएको हो । 

चालू वर्षमा उद्योग र पर्यटन कार्यक्रमका लागि प्रदेश सरकारले ८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । अहिलेसम्म २५ प्रतिशतमात्र रकम खर्च भएको डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले बताए ।


कार्यालयका अनुसार ढोडचौरमा अदुवा प्रशोधन केन्द्र भवन निर्माणका लागि एक करोड, सिद्धकुमाख गुफामा सिढी निर्माण गर्न ५० लाख, मधना–पैयाखर्क सडकमा ५० लाख, कुपिण्डेदह सडकमा ४० लाख र स्यानीखाल सडकमा २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । केही काम सुरु भएका छन् । तर कर्मचारी तथा प्राविधिक अभावमा कामले तीव्रता पाउन सकेको छैन ।


८ करोड ५० लाख बजेट आएकोमा अहिलेसम्म योजनाका लागि भन्दै ३३ लाख रुपैयाँमात्र निकासा भएको कार्यालयले जनाएको छ । ‘वन तथा वातावरणसम्बन्धी काम गर्ने कार्यालयले विकास निर्माणमा हात हाल्दा उसै पनि अन्यौल थियो, अहिले कर्मचारी सरुवाले थप समस्या बनाएको छ,’ कार्कीले भने, ‘यहाँ कार्यरत कर्मचारी गए पनि रिक्त स्थानमा आउनुपर्ने अझै आएका छैनन् । यही कारण समयमै काम नसकिने देखिएको छ ।’ कार्यालयका अनुसार कपुरकोट प्रवेशद्वार, शिवगुफा सिढी, बालुवासंग्रही सडक, हाइटेक नर्सरीलगायत योजनाका काम अझै सुरु हुन सकेका छैनन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?