कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुल्लु दरबार व्यक्तिको नाममा

ज्योति कटुवाल

दैलेख — ऐतिहासिक दुल्लु दरबार व्यक्तिका नाममा हुँदा सरकारी निकायलाई पुरातात्त्विक महत्त्वको सम्पदा संरक्षण गर्न समस्या भएको छ ।

दुल्लुका तत्कालीन राजा जंगबहादुर शाहका छोरा तर्कबहादुर शाहका नाममा दुल्लु दरबार रहेको थाहा भएको हो । दरबारसहित अन्य पुरातात्त्विक र ऐतिहासिक स्थल पनि व्यक्तिको भएकाले पुनर्निर्माणमा समस्या भएको छ ।


लामो समयदेखि दरबार भग्नावशेषका रूपमा परिणत भएको छ । ऐतिहासिक महत्त्वको दरबार पुनर्निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको भनाइ छ । दुल्लु नगरपालिका र पुरातात्त्विक विभागले दरबारलाई सरकारीकरण गरे पुनर्निर्माण गरी संरक्षण गर्न सकिने जनाएका छन् । व्यक्तिका नाममा रहेको दरबारको जग्गालाई सरकारीकरण गरेर पुरानै शैलीमा पुनर्निर्माण गरिनुपर्ने स्थानीयको माग छ । पुराना सांस्कृतिक सम्पदा मेटिँदै जाँदा दुल्लुमा चहलपहलसमेत घटेको स्थानीय नरेन्द्र थापाले बताए ।


दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले दरबार पुनर्निर्माण गर्ने तयारी निकै पहिलेदेखि गरेको भए पनि शाह परिवारका नाममा भएकाले बजेट विनियोजन गर्न समस्या भएको बताए । ‘दुल्लुको पहिचान भनेको दरबार, पौवा, ढुंगेधारा हुन् । सबै भग्नावशेष अवस्थामा भएकाले पुनर्निर्माण गर्न आवश्यक देखिएको छ,’ उनले भने, ‘दरबार हेर्न बाहिर जिल्लाबाट समेत पर्यटक आउने गरे पनि भग्नावशेष देख्दा निराश भएर फर्कने गरेका छन्, त्यसैले पुनर्निर्माणको योजना बनाएका हौं ।’ दुल्लु शीतकालीन राज्य भएकाले पनि यसको पहिचान मेटाउन नदिन नगरपालिकाले धेरै प्रयास गरेको उनको दाबी छ ।


नेपाल एकीकरणपछि दुल्लुमा रुद्र शाह, श्रीभक्त शाह, भक्तबहादुर शाह, पृथ्वीनारायण शाह र जंगबहादुर शाह क्रमैसँग राजा भएका थिए । दरबार आसपासको जग्गा शाहका ११ सन्तानका नाममा रहेको पाइएको छ । ०४६ को नापीले सरकारी जग्गा सबै आफ्नो नाममा दर्ता गरिदिएको जंगबहादुरका छोरा नेपाली सेनाका अवकाशप्राप्त जर्नेल दीप्तप्रकाश शाहको भनाइ छ ।


नगरले दरबारको नाममा नामसारी गर्ने वातावरण मिलाए आफूहरू तयार रहेको उनको भनाइ छ । उनले आफ्ना नाममा भए पनि त्यो सार्वजनिक सम्पत्ति भएको जनाए । ‘दरबार जनताको हो, राजाका नाममा भयो भन्दैमा त्यतिकै छोड्न मिल्दैन,’ उनले भने, ‘सरकारको सम्पक्ति हो, कुनै व्यत्तिको चलाखीले दरबार व्यक्तिका नाममा पास भएको हो ।’


दुल्लुमा मुगल सम्राटसँग दौत्य सम्बन्ध भएको उदाहरण दुल्लु नगरपालिका १० स्थित पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कार्केनीको अशोक स्तम्भलाई पनि लिन सकिन्छ । राजा दामोपालको पालादेखि सिंजासँगै दुल्लु क्षेत्रको विकास भएको स्थानीय जानकारको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?