नगरपालिकाको बिजुली निभेको निभ्यै

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका ३, सिमलगैरीका धीरेन्द्र पुनलाई बारम्बारको विद्युत् अवरुद्धले तनाव दिएको छ । पुन विजय फर्निचर उद्योगका प्रोपाइटर हुन् । मुनलाइट डिजिटल प्रिन्टका प्रोपाइटर मोहन खड्कालाई पनि उस्तै तनाव छ । 

नगरपालिकाको बिजुली निभेको निभ्यै

उनीहरूमात्र होइन, बारम्बार बिजुली निभ्दा स्थानीयका साथै उद्यमी, व्यवसायीलगायत मर्कामा परेका छन् । पटकपटकको विद्युत् अवरुद्धले खलंगामा सञ्चालन भएका फर्निचर, ग्रिल उद्योग, कम्प्युटर इन्स्टिच्युट, फोटोकपी सेन्टर, छापाखाना र वित्तीय संस्था प्रभावित भएका छन् । विद्युत् समस्याकै कारण सरकारी कार्यालयबाट सेवाग्राहीले छिटो सेवा पाउन सकेका छैनन् ।


बिजुली आउने जाने कुनै टुंगो नहुँदा काममा ढिलासुस्ती भएको खड्काले बताए । ‘दिनमा १५/२० पटक बत्ती जान्छ, जसका कारण समयमा काम नभई सेवाग्राही मर्कामा परेका छन्,’ उनले भने, ‘जतिपटक हावाहुरी चल्छ वा पानी पर्छ उतिपटक बिजुली निभ्छ ।’ वर्षाको समयमा घन्टौंसम्म विद्युत् अवरुद्ध हुने गरेको उनले जनाए ।


नियमित बिजुली आपूर्ति नहुँदा केन्द्रीय लाइन नाममात्रको भएको उनले गुनासो गरे । सदरमुकाम खलंगा, कुदु, जगतीपुरलगायत क्षेत्रमा केन्द्रीय लाइनको बिजुली वितरण गरेको एक वर्ष बितेको छ । विद्युत् लाइन नआउँदासम्म यहाँका बासिन्दा कहिले आउला बिजुली भनेर दिन गन्थे । तर अहिले स्थानीय केन्द्रीय लाइनदेखि वाक्क बनेका छन् ।


पानी पर्दा, हावाहुरी चल्दा र आकाश गडगडाउनासाथ विद्युत् विच्छेद हुने समस्याले खलंगावासी मर्कामा परेका छन् । सुर्खेतको राकमबाट आएको ३३ केभी प्रसारण लाइन कुनै जानकारीबिना विच्छेद हुने गरेको छ । केन्द्रीय विद्युत् लाइन नियमित नहुँदा भेरी नगरपालिकाका दुई हजार परिवार अधिकांश समय अँध्यारोमा बस्न बाध्य छन् ।


३३ केभी प्रसारण लाइनको लम्बाइ बढी हुँदा विद्युत् आपूर्तिमा समस्या आउने प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताए । कर्णाली प्रदेशमा एक सय ३२ केभी प्रसारण सबस्टेसन नहुँदा थप समस्या भएको प्रमुख

खड्काको भनाइ छ । ३३ केभी प्रसारण लाइनको लम्बाइ घटाउन र नियमित विद्युत् आपूर्ति गर्न सबस्टेसन निर्माण गर्न जरुरी रहेको उनले औंल्याए ।


‘यसमा एक सबस्टेसनबाट अर्कोसम्मको दूरी ६० किलोमिटर हुनुपर्ने हो, तर कोहलपुर एक सय ३२ केभी सबस्टेसनबाट जाजरकोट कुदु सबस्टेसनसम्मको दूरी १ सय ५० किलोमिटर छ,’ उनले भने, ‘एक सबस्टेसनबाट अर्को बीचको दूरीमा ट्रान्सफर्मर नराख्नुपर्नेमा कोहलपुरदेखि कुदुसम्म पाँच दर्जन ट्रान्सफर्मर भएकाले पनि समस्या भएको छ ।’ त्यसैमा ३३ केभीबाट सीधै ग्राहक सेवा दिँदा ग्रामीण क्षेत्रको एलटी लाइनमा सामान्य समस्या आउँदा गडबडी आएको उनले जनाए ।


मुख्य लाइनको लम्बाइ, ट्रान्सफर्मर, निकुञ्ज क्षेत्रमा रूख काट्न नदिनुलगायत कारण विद्युत् ग्राउन्डमा लिक हुने र रूख छुँदा विद्युत् नियमित हुन नसकेको वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार लाइनको छिन्चुदेखि जहरेमा बढी समस्या भएको छ । पानी पर्दा र हावाहुरी छल्दा सुर्खेत कार्यालयले रामघाट सबस्टेसनमा जाजरकोट प्रसारण लाइन काट्ने गर्दा पनि समस्या भएको हो ।


राकम–जाजरकोट क्षेत्रमा समस्या आए तत्काल समाधान गर्ने गरेको भए पनि छिन्चु, जहरेलगायत स्थानमा समस्या आए समाधान गर्न कठिनाइ हुने गरेको प्रमुख खड्काको भनाइ छ । सुर्खेत वितरण केन्द्रले ३३ केभीबाट सीधै ग्राहक सेवा दिएको लाइनलाई हटाई ११ केभी प्रसारण लाइन वितरण सुरु गरेको उनले बताए । त्यसैगरी सुर्खेतमा १३२ केभीको सबस्टेसन बनाउन पनि पहल हुन थालेको उनले जानकारी दिए ।


कुदुमा सबस्टेसन बन्यो

भेरी नगरपालिका १३, कुदुमा ३३ केभी प्रसारण लाइनको सबस्टेसन निर्माण सम्पन्न भएको छ । तीन वर्षअघि निर्माण सुरु भएको उक्त सबस्टेसन गत महिनादेखि सुचारु भएको छ ।


आरके इन्टरनेसनल फर्मले उक्त स्टेसन १८ करोडमा निर्माण सम्पन्न गरेको विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख खड्काले जानकारी दिए । कुदुमा सबस्टेसन निर्माण भएपछि विद्युत् भोल्टेजमा सुधार, कुनै पनि समस्या आउँदा छिटो मर्मत गर्न सकिने, सामान्य हावाहुरी र पानी विद्युत् अवरुद्ध नहुने, वितरण लाइन भरपर्दो हुने र ग्रामीण क्षेत्रमा विद्युत् विरण गर्न सहयोग पुग्ने केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार नलगाड नगरपालिका–१२, चौखा र छेडागाड नगरपालिका ५, बडावनमा पनि ३३ केभी सबस्टेसन निर्माण सुरु भएको छ । चालु आर्थिक वर्षभित्र जिल्लाका सातवटै स्थानीय तहको केन्द्रसम्म केन्द्रीय लाइन पुर्‍याउने योजनाअनुरूप कार्य भइरहेको प्राधिकरणले जनाएको छ । यस वर्ष भेरी नगरपालिकाको पूरै वडा, कुशे गाउँपालिका–५ र छेडागाड नगरपालिका–१२ र १३ मा बिजुली बाल्ने योजना फ्राधिकरणको छ ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?