१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिक्षकले छाडेपछि पठनपाठन अन्योलमा

विप्लव महर्जन

सल्यान — देशभर नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय तहको सक्रियतासमेत बढेको छ । बन्गाडकुपिण्डे नगरपालिकाका केही विद्यालयका माथिल्ला कक्षामा भने अझै भर्ना सुरु भएको छैन । निजी स्रोतका शिक्षकले छाडेपछि भर्ना अभियान नै प्रभावित भएको हो । 

शिक्षकले छाडेपछि पठनपाठनमा समेत अन्योल देखिएको छ । निजी स्रोतका शिक्षकले तलब नपाएको भन्दै छाडेर हिंडेपछि ८ आधारभूत विद्यालयको पठनपाठन प्रभावित हुने स्थानीयले बताए । भैरवी आधारभूत विद्यालय बेलखोला, जय नेपाल निमावि गर्चे, सरस्वती आधारभूत विद्यालय लाखर, भेरी निमावि गरा, भगवती निमावि गर्चेलगायतमा भर्ना अभियान प्रभावित बनेको छ ।


शिक्षकले छोडेपछि विद्यार्थीसमेत अन्य विद्यालय भर्ना हुन जान थालेका छन् । विद्यार्थीलाई घर नजिकैका विद्यालय छाडेर केही निमाविले कक्षा ५ भन्दा माथिका कक्षामा भर्ना लिन छाडेका छन् । शिक्षक अभावले माथिल्ला कक्षाको पठनपाठन प्रभावित हुने प्रधानाध्यापकको गुनासो छ ।


कक्षा ५ सम्म सञ्चालित आधारभूत विद्यालयमा निजी स्रोतबाट तलब खुवाउने गरी शिक्षक राखिएको थियो । स्थानीय सरकारबाट कुनै सहयोग नहुँदा निजी स्रोतका सबै शिक्षकले जागिर छाडेको राधा आधारभूत विद्यालय, भलाखर्कका प्रधानाध्यापक टोपबहादुर बुढाले बताए । ‘निजी शिक्षककै भरमा माथिल्ला कक्षा सञ्चालनमा थिए,’ उनले भने, ‘उनीहरूले छाडेपछि ती कक्षामा भर्ना गर्ने कि नगर्ने भन्ने अन्योल छ ।’ स्थानीय तहले सहयोग गरे माथिल्ला कक्षाको पठनपाठन गर्न सहज हुने उनको भनाइ छ ।


उनले जनप्रतिनिधिले आफूहरूको अनुरोध बेवास्ता गरेपछि कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालनमा समस्या भएको गुनासो गरे । तीन वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकेको उनको भनाइ छ । उनले शिक्षकको तलब पाँच लाख रुपैयाँ बक्यौता रहेको जानकारी दिए ।


स्थानीय अभिभावक र चन्दाबाट मात्रै विद्यालय सञ्चालन गर्न गाह्रो भएको भेरी निमावि गराका प्रअ हेमराज ओलीले बताए । वर्षौंदेखि अभिभावकको सहयोगमा सञ्चालन हुँदै आएको विद्यालयमा एकैपटक तीन कक्षा बन्द गर्नुपर्ने अवस्था आएको उनको गुनासो छ । ‘स्थानीय सरकारले हाम्रो समस्या बुझेन,’ उनले भने, ‘अहिलेसम्म बक्यौता भएको शिक्षकको तलब दिए पनि यो वर्ष माथिल्ला कक्षा सञ्चालन गर्न सकिन्थ्यो, यही कारण विद्यार्थी भर्नामै दोधारमा छौं ।’


बन्गाडकुपिण्डे नगरपालिका जनप्रतिनिधिको विवादले शैक्षिक गुणस्तर खस्किएको बेला कक्षा घटाउनुपर्ने अवस्था आएको शिक्षकको गुनासो छ । एक शिक्षकका अनुसार फागुनमा निकासा हुने पाठयपुस्तकको रकमसमेत अहिलेसम्म भएको छैन । भर्ना भएकाले पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् ।


नगर प्रमुख गोविन्दकुमार पुनले सामुदायिक विद्यालयको समस्या समाधानका निम्ति छलफल भइरहेको बताए । कर्मचारी अभावले प्रशासनिक र पाठ्यपुस्तकको रकम विद्यालयको खातामा पठाउन नसकिएको उनको भनाइ छ । नगरभरिका विद्यालयको शैक्षिक गुणस्तर बढाउने गरी यस वर्ष पूर्वाधार विकासलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले जनाए ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?