१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

८ वर्षमा ४ किमि पनि बनेन

हरि गौतम

रुकुम पश्चिम — चार किमि सडक बनाउन कति समय लाग्ला ? ६ महिना, १ वर्ष ? यहाँको बाँफिकोट गाउँपालिकामा भने ८ वर्षसम्म सडक अधुरै छ । गाउँपालिकाको वडा नं. ४ मा पर्ने नेटादेखि वडा नं. ५ मा पर्ने काँडासम्मको सडक आर्थिक वर्ष ०६८/६९ देखि सुरु भएको हो ।

सडक निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । यो वर्ष नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको १२ लाख र बाँफिकोट गाउँपालिकाको ४ लाख ८६ हजार रुपैयाँमा निर्माण अघि बढेको छ । यसअघि भने ८४ लाख २० हजार रुपैयाँ खर्च भइसकेको छ ।


सडक निर्माण उपभोक्ता समितिका अनुसार आव ०६८/६९ मा १५ लाख, ०६९/७० मा १५ लाख, ०७०/७१ मा ८ लाख, ०७१/७२ मा १६ लाख, ०७२/७३ मा ६ लाख, ०७३/७४ मा ४ लाख, ०७४/७५ मा ४ लाख २० हजार रुपैयाँ खर्च भएको थियो । उपभोक्ता समितिका अध्यक्ष नवराज केसीले सडक निर्माण गर्दागर्दै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको बताए ।


‘वर्षात्को समयमा सडकको अवस्था नाजुकै हुन्छ,’ उनले भने, ‘आएको बजेटले पहिरो सोहोर्न र मर्मत गर्नै ठिक्क हुन्छ ।’ यो वर्ष सडकमुनि तारजाली र मेसिनरी पर्खालको काम भइरहेको उनले बताए । यद्यपि यस वर्ष ६ सय ४४ मिटर नयाँ सडक पनि निर्माण हुने उनको भनाइ छ ।


बनेको सडक पनि गुणस्तरीय नहुँदा गाडी चढ्न मुस्किल हुने गरेको छ । ट्रयाक्टरलाई ४० क्विन्टल लोड बोक्न हम्मे हुने गरेको छ । ५ नम्बर वडाका अध्यक्ष कस्तुप्रकाश दाहालले यो वर्ष भने अलि सुधार भएको बताए । ‘सुरुको ट्रयाक खोल्ने क्रममा प्राविधिकले नापेको भन्दा अर्कै ठाउँबाट सडक बनाउँदा समस्या भयो,’ उनले भने, ‘एक्साभेटरले जता माटो, त्यतै खन्ने काम गर्‍यो ।’

प्रकाशित : वैशाख ८, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?