२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जीर्ण अस्पताल ३१ वर्षपछि मर्मत

हरि गौतम

रुकुम पश्चिम — जिल्ला अस्पतालका भौतिक संरचना मर्मत गर्न थालिएको छ । झन्डै ३१ वर्षपछि मुख्य संरचनाको मर्मत थालिएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरिदका लागि जिल्ला अस्पताललाई ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

जीर्ण अस्पताल ३१ वर्षपछि मर्मत

सोही रकमबाट भौतिक संरचना मर्मतका काम सुरु गरिएको हो । भवनका जस्ता फेर्ने, भित्तामा पलास्टर गर्ने, टायल विछ्याउने तथा सडक निर्माण गर्नेगरी काम थलिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।


अन्तरंग, प्रयोगशाला र अप्रेसन कक्ष रहेको भवनको जस्ता फेरिनेछ । यी तीनवटै भवनको भित्री भित्तामा प्लास्टरका साथै भूँइमा टायलिङ र माथिपट्टि फर्सिलिङ गर्ने काम पनि सुरु भएको छ । आकस्मिक कक्ष र प्रसूति गृहका पनि भुइँमा टायलिङ तथा माथिपट्टि फर्सिलिङ गरिनेछ ।


भवन पुरानो र जीर्ण भइसकेकाले मर्मत थालिएको व्यवस्थापन समिति अध्यक्ष सुन्दर ओलीले बताए । ‘यी भवन निकै पुराना र जीर्ण छन्, विकसित समयअनुसारको बिरामीमैत्री तथा कामकाजका लागि पनि उपयुक्त बनाउ मर्मतको काम भइरहेको हो,’ ओलीले भने, ‘अर्को भवन नबन्दासम्म भए पनि मर्मत थालिएको छ ।’ आवश्यक भए पनि तत्कालै अर्को भवन बनाउन सक्ने अवस्था नभएपछि प्रदेश सरकारसँग बजेट माग गरेर मर्मत थालिएको उनले जनाए ।


समितिका अनुसार अस्पतालको गेटदेखि आकस्मिक कक्षसम्मको सडकलाई पनि यसै बजेटबाट पक्की बनाइनेछ । प्रदेश सरकारको ६० मध्ये ५० लाखले भौतिक संरचना मर्मत गरिए पनि १० लाखचाहिँ आवश्यक उपकरण खरिद गर्ने तयारी भइरहेको छ । बिरामी बेड, म्याट्रेस र बेड साइड लकर खरिद तयारी गरिएको समितिले जनाएको छ ।


कतिपय बेड अस्पताल बन्ने बेलादेखिकै छन् । त्यसैले २२ बिरामी बेड र त्यसका आवश्यक अन्य उपकरण खरिद गरिने जिल्ला अस्पताल प्रमुख डा. सुशील पोखरेलले बताए । पुराना बेड बिरामीका लागि अनुपयुक्त हुँदै गएकाले नयाँ खरिद तयारीमा रहेएको उनको भनाइ छ ।


०४५ सालमा तत्कालीन जनसंख्यालाई ध्यान दिई स्थापना गरिएको अस्पतालको संरचना अहिलेसम्म उस्तै छ । विरामीको संख्या बढदै गएको भए पनि स्वास्थ्यकर्मी दरबन्दी बढेको छैन । दैनिक सयदेखि तीन सयसम्म बिरामी आउने अस्पताल १५ शय्याको मात्रै छ । अस्पतालको सेवा तथा संरचनालाई समयानुकूल बनाउन नसक्दा बिरामीले समस्या भोग्नु परिरहेको छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?