२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२ दिन हिंडेर नागरिकता

मुगु — ‍सोरु गाउँपालिका २, नचाराका २० वर्षीय दलजित नेपाली दुई दिन पैदल हिंडेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सोमबार सदरमुकाम आइपुगेका छन् । उनीसँगै नागरिकता लिन ३१ वर्षीया लक्ष्मी नेपाली पनि सदरमुकाम पुगेकी थिइन्  ।

उनीहरूमात्र होइन, सोरु गाउँपालिकाका अधिकांश बासिन्दालाई दुई दिन पैदल हिंडेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आउनुपर्ने बाध्यता छ । यही समस्याले धेरैजासो बासिन्दा नागरिकताको प्रमाणपत्रबाट वञ्चित छन् ।

स्थानीयलाई घरबाट गमगढी पुग्न दुई दिन र फर्किन दुई दिन गरी चार दिन खर्चेर सरकारी कामकाज गर्नुपर्छ । वडा कार्यालयबाट सिफारिस र अनुसूची फाराम बोकेर सातामा करिब १२ जना स्थानीय सदरमुकाम आउने गरेका छन् । ‘अरू काम वडा र गाउँपालिकामै हुने भए पनि नागरिकता लिन सदरमुकाम आउनुपर्छ,’ दलजितले भने, ‘लामो बाटो हिंडेर आउदा धेरै सास्ती खेपेका छौं ।’ अहिले पनि सरकारी सेवाका लागि सास्ती भोगिरहेकाले स्थानीय सरकारको अनुभव नभएको उनले गुनासो गरे । उनले सानो सरकारी कामका लागि पनि धेरै रकम खर्चिनुपर्ने बाध्यता रहेको जनाए ।


विकास निर्माण तथा पञ्जीकरणको काम स्थानीय सरकारबाटै गरिरहेको भए पनि जग्गा किनबेच, नागरिकता, राहदानी सिफारिसलगायत काम गर्न सदरमुकाम आउनैपर्ने नेपालीले बताइन् । उनका अनुसार सोरु गाउँपालिकाको फोतु, नार्थपु, भीई र खत्याड गाउँपालिकाको सुकाढिक, हयाङलु मुगुमकार्मारोङ गाउँपालिकाको मुगु र डोल्फुबाट सदरमुकाम आउन दुई दिन पैदल हिंड्नुपर्छ । ‘अधिकांश ज्येष्ठ नागरिक हिंड्न नसक्ने भएकाले नागरिकताबाट वञ्चित छन्,’ उनले भनिन्, ‘नागरिकता नहु“दा उनीहरूलाई गाउँपालिकाले दिने सेवासमेत दिन सकिएको छैन ।’


स्थानीयका अनुसार सदरमुकाम आई गाउँ फर्कंदा कम्तीमा प्रतिव्यक्ति पाँच हजार रुपैयाँ खर्च हुने गरेको छ । सोरु गाउँपालिकाको सोरुकोटमा ०७३ मा स्थापना गरिएको इलाका प्रशासन कार्यालय एक वर्षदेखि कर्मचारीविहीन छ । कर्मचारी नहुँदा सरकारी कामकाज बन्द भएपछि स्थानीयलाई सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।

इलाका प्रशासनमा कर्मचारी बसेर काम नगर्दा ११ वटै वडावासीले सास्ती भोग्नुपरेको वडा ६ का अध्यक्ष मानप्रसाद भट्टले बताए । उनका अनुसार कार्यालय दुई कार्यालय सहयोगीको भरमा रहदा कुनै पनि कामकाज हुन सकेका छैनन् । ‘जिल्ला प्रशासन पुगेर कुनै कागज अपुग भए वा दस्तखत नमिले दोहोरो दुःख पाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले अधिकांश बासिन्दा आधारभूत सरकारी सेवाबाट समेत वञ्चित छन् ।’

कर्मचारी अभावले सोरुकोट इलाका प्रशासनबाट कामकाज हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले बताए । उनले कर्मचारी व्यवस्थापनका लागि पटकपटक गृह मन्त्रालयमा अनुरोध गरिए पनि बेवास्ता भइरहेको गुनासो गरे ।

प्रकाशित : वैशाख १०, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?