एउटा गोरुले खेती

कान्तिपुर संवाददाता

मुगु — बारी जोत्न सामान्यतः हल गोरु नारिन्छ । हल गोरु नभए के गर्ने ? बारी बाझै बस्न दिनुभएन । मुगुका केही गाउँमा बारी जोत्न हल गोरु चाहिँदैन । एउटा गोरु नै काफी । मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, मह, रिउस, पुलुलगायत ठाउँमा हलो जोत्न एउटै गोरु प्रयोग गरिन्छ ।

यसका लागि गोरुको नाकमा डोरी लगाइन्छ । गोरुको काँधमा काठ राखिन्छ, काठको दुवै टुप्पोमा डोरी बाधेर पछाडि हलोमा अडाइन्छ । त्यसपछि अगाडिबाट एकजनाले डोरी तान्छन् । पछाडि अर्को एकजनाले हलो माटोमा धस्छन् ।

‘डोरी तान्दा गोरुको नाक दुख्ने भएकाले विस्तारै बच्चाले तानेर पनि जोत्न सकिन्छ,’ माग्रीगाउँका सोनाम तोर्ची तामाङले भने, ‘हलो समात्ने मान्छे बलियो हुनुपर्छ ।’ यी गाउँमा एक गोरुले हलो जोत्ने परम्परा बस्नुको कारण हो– भिरालो र साँघुरो भूबनोट । दुइटा गोरु सँगै हिँड्दा जोत्नसमेत मुस्किल हुने स्थानीयको भनाइ छ ।

तामाङका अनुसार हल गोरुले जोत्दा जग्गामा गोरु र हलो फर्काउन समस्या हुन्छ । एक गोरुले हलो जोत्ने चलन आर्थिक रूपमा पनि किफायती छ । गाउँमा एउटा गोरुलाई १८ हजार र झोवालाई ६० हजारसम्म पर्छ । एक गोरुले ८–१० वर्षसम्म खेती लगाउन सक्छ । रिउसगाउँका ग्याल्जन तामाङ दुइटा गोरु किन्न महँगो पर्ने भएकाले एउटैले हलो जोत्नुपरेको बताउँछन् । ‘अन्यत्र दुई गोरुले खेती लगाउ“छन्, हाम्रोमा एउटै भए काफी,’ उनले भने।

मुगुमकार्मारोङ गाउँपालिका जनजाति समुदायको बाक्लो संख्या भएको क्षेत्र हो । यहा“ परम्परादेखि एक्लो गोरुले जोतेर कोदो, उ“वा, कागुनो, फापर, आलु, सिमी लगाइन्छ । भिरालो बारीमा समेत उम्रिने यी बाली लगाउन एउटै गोरु पर्याप्त हुने स्थानीय शिक्षक सीपी लामाले बताए ।

उनका अनुसार माथिल्लो मुगुगाउँवासीले त अन्नबाली लगाउन गोरुको प्रयोग नै गर्दैनन् । एकजनाले तान्ने र अर्कोले हलो समातेर जोत्ने चलन छ । भिरालो र अप्ठेरो गह्राका कारण यस्तो गर्नु बाध्यता रहेको लामा बताउँछन् । ‘ढुंगागिट्टी पन्छाएर स–साना गह्रामा गोरु जोत्न अप्ठेरो हुने भएकाले मान्छेले नै हलो तानेर बाली लगाउँछन्,’ उनले भने ।

करिब १३ सय घरधुरी रहेको यो गाउ“पालिकामा ६ हजार जनसंख्या छ । करिब २ सय हेक्टर जमिनमा मात्र अन्न उत्पादन हुने गाउ“पालिका अध्यक्ष छिरिङ क्याप्ने लामा बताउ“छन् ।

-राजबहादुर शाही

प्रकाशित : वैशाख १०, २०७६ १२:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्मचारी नहुँदा काम शून्य

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — जनशक्ति अभावले कर्णाली प्रदेशका पूर्वाधार विकास कार्यालयको काम सुस्ताएको छ । पूर्वाधार विकासतर्फको कामलाई गति दिन चार जिल्लामा स्थापना गरिएको कार्यालयको काम कर्मचारी अभावले हुन नसकेको हो  ।

पूर्वाधार विकास कार्यालयले जुम्लामा १४ प्राविधिकको दरबन्दी भए पनि दुई जनाले धान्नुपर्ने अवस्था छ । कार्यालय प्रमुख हिक्मतबहादुर महतले कर्मचारी संख्या न्यून हुँदा अपेक्षाबमोजिम काम अघि बढ्न नसकेको बताए । ‘मेरो पनि संघमै समायोजन भएको छ,’ उनले भने, ‘पदस्थापनपछि कार्यालय खाली हुने अवस्था आउछ ।’

जुम्ला, मुगु र कालीकोटका २८ सडक र तीन मोटर पुलको काम प्राविधिकबिना अघि बढ्न नसक्ने महतको भनाइ छ । उनका अनुसार कार्यालयमा १८ जनाको दरबन्दी रहे तीन जनामात्रै कार्यरत छन् । आफूहरूसँग चालु बजेट पनि नभएको उनले बताए । ‘कार्यालयका लागि फर्निचरसमेत जिससले दिएको छ,’ उनले भने, ‘कार्यालय भाडामा लिनका लागि कुरा भए पनि पैसा छैन ।’

पूर्वाधारको जुम्ला कार्यालयले सबै सडकको डीपीआर सकेर साताभित्रै टेन्डर प्रक्रियामा जाने प्रमुख महतले जनाए । उनका अनुसार तीन मोटर पुलको भने डीपीआरको काम अघि बढेको छैन ।

तीन जिल्लाको एउटा प्राविधिक
कर्मचारी अभाव झेल्दै पूर्वाधारको रुकुम पश्चिम कार्यालयले पनि काम गरिरहेको छ । कार्यालय प्रमुख योगेन्द्र धरालाले कर्मचारीको अवस्था बेहाल रहेको बताए । आफू एक जनाले मात्रै तीन जिल्लाका प्राविधिकले हेर्ने काम गर्नुपरेको गुनासो गरे । ‘नेताहरू आएर काम ढिलो भयो भन्दै गाली गर्छन्,’ उनले भने, ‘इन्जिनियर नभएपछि काम कसरी हुन्छ ?’ कर्मचारी समायोजनमा आफू कर्णालीमै बस्न चाहे पनि प्रदेश ५ मा पारिएको धरालाले सुनाए । ‘भने अनुसार सेवा सुविधा दिन भनिरहेका छौं,’ उनले भने, ‘कर्मचारीको थप व्यवस्थापन गर्न बारम्बार भने पनि सरकारले सुनेको छैन ।’

कर्मचारी नभएपछि सबै सडक योजनाको काम अगाडि बढ्न नसक्ने उनको भनाइ छ । उनका अनुसार २५ सडक योजनामध्ये डोल्पामा सात, रुकुममा पाँच र जाजरकोटमा १३ छन् । मोटरेवल पुलको भने चालू वर्षमा ठेक्का सम्झौता हुन नसक्ने उनले जनाए । रुकुममा कार्यालय स्थापना भए पनि सुर्खेतमै बस्नुपर्ने बाध्यता उनले सुनाए । ‘सि“चाइमा हाम्रो कार्यालय छ,’ उनले भने, ‘बजेट नभएर भाडामा बस्न सक्ने अवस्था छैन, त्यसैले मन्त्रालयमै बसिरहेका छौ ।’

हुम्लामा काम शून्य
पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख पूर्णबहादुर रोकायाले पूर्वाधारको काम शून्य भएको बताए । उनका अनुसार बहुवर्षीय र क्रमागत योजनाहरू मन्त्रालयमा पठाए पनि कार्यक्रम स्वीकृत भएको छैन । ‘स्वीकृत नभए काम कसरी गर्ने ?’ उनले भने, ‘मन्त्रालयमा धेरैपटक भनिरहँदा पनि वास्ता गरिएन ।’

डीपीआरको जिम्मा लिएकालाई बजेट दिन नसक्दा रिपोर्ट नबुझाएको रोकायाको भनाइ छ । कार्यालयमा आफू एक्लो कार्मचारी रहेको जनाउँदै उनले अहिलेसम्म पारिश्रमिक पनि नपाएको सुनाए । ‘म एक्लै आठवटा योजना कसरी हेर्ने ?’ उनले भने, ‘न कार्यालय छ, न एउटा डायरी किन्ने पैसासमेत छ, यसरी त एउटा पनि काम हुँदैन ।’


पूर्वाधार विकास कार्यालय सुर्खेतमा भने ५० प्रतिशत कर्मचारी रहेको प्रमुख कमलकुमार अधिकारीले बताए । सुर्खेत, दैलेख र सल्यान हेर्नेगरी स्थापना भएको कार्यालयअन्तर्गत ७९ वटा सडक आयोजना र आठ मोटरेवल पुल छन् । उनका अनुसार प्राविधिक कर्मचारीबाहेक अन्यको दरबन्दी पूर्ति भए पनि इन्जिनियर अभावमा काम हुन सक्दैन ।

-चादँनी कठायत(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख १०, २०७६ १२:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्