सडक नखुल्दा सास्ती

कान्तिपुर संवाददाता

मुगु — खत्याड गाउँपालिका जोड्ने कालाकाँडा–गम्था सडक साढे तीन महिनादेखि बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ  । पुसदेखि फागुनसम्म हिमपातले बन्द सडकमा चैतदेखि जुम्लाको लुम र बुडु गाउँवासीले अबरुद्ध गराएका हुन्  ।

लुम र बुडु गाउँवासीले सडक खन्दा खेतीयोग्य जमिनमा क्षति भएको भन्दै क्षतिपूर्ति मागसहित सडक बन्द गराएका थिए । निर्माण क्रममै उनीहरूले खोलापारिबाट सडक खन्न माग गरेका थिए । तर प्राविधिक स्टमेटअनुसार खनिएको थियो । स्थानीयले ६ वर्षअघिको माग बल्झाउँदै सडक बन्द गराएका हुन् ।

सडकमै पर्खाल लगाएर उनीहरूले बन्द गराएका छन् । यसले ग्रामीण क्षेत्रका लागि ढुवानी गरिएको खाद्यान्न, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री जुम्लाको गोठिज्यूला बजारमै राख्नु परेको छ । खत्याड गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र गम्थामा दैनिक उपभोग्य वस्तु र खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताए । गम्थामा सामान पाउन मुस्किल हुन थालेपछि स्थानीय उपभोक्ता बाजुराको बोल्टिक पुगेर खरिद गर्न बाध्य छन् । अभाव देखाउँदै स्थानीय व्यापारीले ७५ प्रतिशत मूल्य बढाउँदा उपभोक्ता मर्कामा परेका छन् ।

सडक नखुल्दा आफ्नो करिब डेढ करोडको समान गोठिज्यूलामै थन्किएको गम्थाका लोकराज दाहालले बताए । सडक अबरुद्ध हुँदा विकास निर्माणका काममा समेत बाधा परेको छ । निर्माण सामग्री लामो समयदेखि ढुवानी नहुँदा समस्या भएको वडा २ का अध्यक्ष लालबहादुर मल्लले सुनाए । ‘एक पोका तेल र एक किलो चिनी पाउनै समस्या हुन थाल्यो,’ उनले भने, ‘ढुवानी अभावमा औषधिसमेत अभाव भएको छ ।’

अबरुद्ध सडक खुलाउन कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधिसँग आग्रह गरे पनि बेवास्ता भएको खत्याडका जनप्रतिनिधिले बताए । गाउँपालिका अध्यक्ष उब्जन शाहीले पटकपटक आग्रह गरिए पनि बेवास्ता भएको आरोप लगाए । उनका अनुसार प्रतिनिधिसभा सदस्य गोपाल बमसहितको टोलीले मंगलबार गोठिज्यूला पुगेर स्थानीयसँग छलफल थालेको छ । सडक बन्द हुँदा स्थानीय घण्टौं हिड्न बाध्य छन् ।

Citizen

प्रकाशित : वैशाख ११, २०७६ १३:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

केन्द्रले बढायो चहलपहल

गाउँपालिकाको केन्द्र बनेपछि चहलपहल बढेको छ । घडेरी महँगा भएका छन् । पसल चलेका छन् भने होटल व्यवसाय फस्टाएको छ ।
माधव अर्याल

पाल्पा — स्थानीय तह चुनावपछि ग्रामीण भेकका बजारमा चहलपहल बढेको छ । स्थानीय तहका मुख्य कार्यालय (केन्द्र) रहेका स्थानमा चहलपहल बढेको हो । यसको उदाहरण रैनादेवी छहराको केन्द्र हो । छहरास्थित बजारमा अहिले २० बढी घर निर्माणका क्रममा छन् । होटल, फेन्सी पसल सञ्चालनमा आएका छन् । घरघडेरीको मूल्य बढेको छ ।

‘गाउँपालिकाको केन्द्र बसेपछि यहाँ चहलपहल बढेको हो,’ गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले भने, ‘पहिले र अहिलेको अवस्था तुलना हुन सक्दैन । धेरै विकास भएको छ ।’

उनका अनुसार छहरा बजार र यसको वरपरको क्षेत्रले विकासमा तीव्रता पाएको छ ।


रिब्दीकोट गाउँपालिका केन्द्र रहेको खस्यौलीको अवस्था पनि उस्तै छ । यस वरपर बजार विस्तार हुने क्षेत्र थिएन । पाखोबारी खेर गएका थिए । बिक्री हुन्थेनन् । तिनै बारीमा अहिले टहरा, घरघडेरी र होटल संचालन भइरहेका छन् । ‘केन्द्र बनेपछि चहलपहल बढेको छ,’ स्थानीय गणेशप्रसाद आचार्यले भने, ‘विकासले फड्को मार्दै छ ।’ पहिले वडा कार्यालय हुँदा खासै चहलपहल थिएन । अहिले गाउँपालिकाको केन्द्र बनेपछि त्यसको असर देखिएको उनले बताए । घडेरी महँगा भएका छन् । पसल चलेका छन् । होटल व्यवसाय फस्टाएको छ ।


तानसेनभन्दा गाउँमै उपभोग्य बस्तु र लत्ताकपडा सस्तो पाइन्छ । बुटवल, भैरहवा, काठमाडौंबाट सीधा सामान गाउँमै पुग्न थालेको छ । बजारीकरण अझ बढो छ । सवारी साधन, मोटरबाटोको पहुँचले गाउँमा सहरीकरण सुरु भएको छ । ‘सामान किन्न बजार जानु पर्दैन,’ पालुङमैनादीका फर्सबहादुर कुँवरले भने, ‘थोक मूल्यमा गाउँमै सामान आउन थालेको छ ।’


गाउँपालिकाको केन्द्र बनेसँगै रम्भाको खोकखोला क्षेत्रमा पनि चहलपहल बढेको छ । यहाँको व्यापार–व्यवसाय बढेको स्थानीय तुलसीराम पराजुलीले बताए । ‘पहिला खासै केही थिएन, गाउँपालिकाको केन्द्र यहाँ आएपछि बल्ल यसको महत्त्व बढेको छ,’ उनले भने, ‘यहाँका घरजग्गाको पनि भाउ बढ्न थालेको छ ।’

माथागढी गाउँपालिकाको केन्द्र रहेको झडेवाको पनि अहिले महत्त्व बढेको छ । फाँट क्षेत्र भएकाले यस क्षेत्रका बासिन्दाका लागि बजार गर्ने थलो बनेको छ । माथागढीबाट रूपन्देहीको खैरेनी र नवलपरासी (पश्चिम)को सुनवल सडक सन्जालमा जोडिएको छ । जसले गर्दा पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीय दीपक पन्थीले बताए ।


गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले यस क्षेत्रको थप विकासका लागि योजना बनाएर लाग्नुपर्ने बताए । ‘अहिले सर्दी हुँदै दुम्कीबास, सुनवल, खैरेनी जोडिएको छ,’ उनले भने, ‘यसलाई उपयोग र विकास गर्ने कुरामा स्थानीय बासिन्दा र स्थानीय सरकार लाग्नेछ ।’

यस क्षेत्रको विकासमा समयमै विस्तृत योजना बनाउने उनले बताए । गाउँपालिकाको केन्द्र भएर खासै विकास हुन नसकेको तिनाउ हो । तर, यहाँ वरपर होटल व्यवसाय भने चम्किएको छ । यस क्षेत्रबाट बुटवल नजिक पर्ने भएर पनि यहाँ घर बन्न नसकेका हुन् । ‘धेरैको घर बुटवलतिर छ,’ तिनाउका प्रवक्ता एवं वडाध्यक्ष राजेश श्रेष्ठले भने, ‘अन्यत्र बजार विस्तार भएजस्तो यहाँ नभए पनि जे होस्, चहलपहल भने बढाएको छ ।’


तिनाउ गाउँपालिकाबाट बुटवल ६ किमि दूरीमा छ । त्यसैले पनि यस क्षेत्रको खासै महत्त्व बढेको छैन । तर, पूर्वखोला गाउँपालिकाको केन्द्रमा बजार बसेको छ । घर बन्ने क्रम जारी छ । घडेरी महँगो भएको छ । योजना बनाएर काम नगर्ने हो भने घडेरी अव्यवस्थित हुने अवस्थामा पुगिसकेको छ ।

पूर्वखोला–३ का वडाध्यक्ष नीलकण्ठ भट्टराईले बजार क्षेत्र घोषणा गर्नुपर्ने गरी बस्ती बसेको बताए । ‘यति धेरै घर बनिसकेका छन्,’ उनले भने, ‘घडेरीको कारोबार भएको छ । अझ कति बन्ने हो, थाहा छैन ।’ पूर्वखोला फाँट क्षेत्र भएकाले यहाँ निर्माणको काम अझ तीव्र गतिमा छ । यही सडक भएर सर्दी–दुम्कीबास पुग्न सकिने भएपछि अझ चहलपहल बढेको उनले बताए ।


निस्दी गाउँपालिका रहेको मित्याल रुक्सेभञ्ज्याङ क्षेत्र फनि अहिले बजार बिस्तारको क्रममा छ । यहाँ डोजर लगाएर डाँडा सम्माएर घडेरी बित्री भइरहेको स्थानीय अगुवा सन्तवीर सुनारीले बताए । ‘पहिले तराईतिर जाने सोच बनाए पनि गाउँपालिकाको केन्द्र यहाँ बसेपछि त्यो सोच हराएको छ,’ उनले भने, ‘लाखौं खर्च गरी बजार बसाल्ने तयारी निजी क्षेक्रको छ ।’


अहिले धमाधम घडेरी बित्री भइरहेका छन् । बजार क्षेत्रमा पनि ठूला भवन बनेका छन् । सामान्य बस्ती रहेको रुक्सेभञ्ज्याङमा फेन्सी पसल, गल्ला, किराना पसल बढेका छन् । तराईको अरूणखोला नाकाका रूपमा समेत यसलाई लिइएको छ । पोखराबाट तनहुँको खैरेनीटारबाट केलादी भएर मित्याल हुँदै तराई झर्ने छोटो नाकासमेत यही पर्छ ।

‘त्यसैले पनि यस क्षेत्रको बजार बिस्तार भइरहेको छ,’ स्थानीय लालबहादुर सोतीले भने । जिल्लाको रामपुर नगरपालिकाको बेझाड क्षेत्रमा पनि बजार विस्तार तीव्र रूपमा भएको छ । अहिलेसम्म लालपुर्जा नभएका ८ सय बढी घर यहाँ बनिसकेका छन् । निजी लालपुर्जा भएकाले पनि महँगोमा घडेरी बिक्री गरिरहेका छन् । जसले गर्दा रामपुर क्षेत्रको विकास र विस्तार तीव्र भएको छ । ‘रामपुर नगरपालिका हुनासाथ यस क्षेत्रको महत्त्व बढेको हो,’ नगर प्रवक्ता हुमनाथ न्यौपानेले भने, ‘अहिले पनि अवस्था उस्तै छ । सहरीकरण तीव्र छ ।’


गाउँपालिकाको केन्द्र टुंगो नलागेको र स्थान अभावले गर्दा बगनासकालीको वरपर भने बजार बस्न सकेको छैन । भीर र पहाडका बीचमा पनि केही घर बन्ने अवस्था छ । अहिले चिलाङदीमा केन्द्र हुने भएपछि यस क्षेत्रमा चहलपहल बढेको स्थानीय दीपक ढुंगानाले बताए । उनका अनुसार गाउँपालिका केन्द्र भइसकेपछि चहलपहल अत्यधिक बढेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT