३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

३५ वर्ष पुरानो योजनाकै भर

जुम्ला — निर्माणाधीन ठिन्के जलविद्युत् आयोजना समयमै पूरा नहुँदा स्थानीय ३५ वर्ष पुरानै योजनाकै भरमा बस्नु परेको छ  । जुगाडखोला साना जलविद्युत् आयोजना जीर्ण बन्दै गएपछि खलंगाबासी दैनिक लोडसेडिङको चर्को मार भोग्न बाध्य छन्  ।

विद्युत्को भारले थाम्न नसक्नेगरी ग्राहक बढेपछि स्थानीयले वैकल्पिक व्यवस्था गर्न थालेका हुन् । ठिन्केबाट एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी निर्माण काम थालिएको छ । साविक चन्दननाथ गाविसलाई केन्द्रित गरी पाँच सय घरधुरीका लागि ०४० सालमा जुगाडखोलाबाट विद्युत् उत्पादन गरिएको थियो ।

अहिले उक्त योजनाबाट २ हजार ९ सय घरमा लाइन जडान गरिएको छ । जुगाड खोलामा पानीको बहाब घटदै गएपछि विद्युत उत्पादन घटदा स्थानीय थप समस्यामा परेका हुन् । चन्दननाथ नगरपालिकामा अहिले विद्युतको समस्या विकराल बन्दै गइरहेको छ । एक दिन बिराएर बत्ती आउने गरे पनि दिउँसो केही घण्टामात्रै बल्ने गरेको छ । सदरमुकाममा विद्युत् आउने र जाने निश्चित हुँदैन ।

एक गाउँका लागि उत्पादन गरिएको दुई सय किलोवाट विद्युत्ले खलंगा बजारलाई भरथेग गरिरहेको छ । ०४० सालमा प्राधिकरणले सुरु गरेको आयोजना लामो सयमसम्म जाल्पा हाइड्रोले सञ्चालन गर्‍यो । ०६० सालसम्म जाल्पाले सञ्चालन गरेको विद्युत् वितरण सन्तोषजनक नभएको, धेरै लोडसेडिङ व्यहोर्नु परेको भन्दै स्थानीयले उपभोक्ता समिति गठन गरेर विद्युत योजना सञ्चालन जिम्मा लिएका थिए ।

उपभोक्ता समितिले जिम्मा लिएको केही समयसम्म सिएफएल चिमको प्रयोगले लोडसेडिङ घटे पनि केही वर्षयता फेरि बढेको स्थानीय किशोर न्यौपानेले बताए ।

‘हाइड्रोबाट उपभोक्ता समितिमा विद्युत जिम्मा आएपछि केही सुधार हुने आशा थियो,’ उनले भने, ‘तर समस्या जस्ताको तस्तै छ ।’ विद्युतको विकल्प नहुँदा जुम्लामा लगानी भित्रन नसकेको उनको भनाइ छ । साना जलविद्युत उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढथापाले एउटा गाउँका लागि सुरु गरिएको योजना अहिले नगरका अधिकांश क्षेत्रमा बिस्तार गरिएकाले समस्या भएको जनाए ।

‘सुरुका वर्ष दुई सय किलोवाट विद्युत् उत्पादन हुन्थ्यो,’ उनले भने, ‘आयोजनाका सामग्री जीर्ण बन्दै गएकाले र पानीको बहाव घटदा एक सय २० किलोवाट मात्रै विद्युत उत्पादन हुन्छ ।’ उनका अनुसार ०४० सालमा ढाणथपला गाउँका लागि सुरु गरेको विद्युत् अहिले नगरपालिकाभरि फैलिएको छ । स्थानीय नेताले ०४६ देखि विद्युत् विकासको नारा लगाए पनि कुनै ठोस योजना सञ्चालन गर्न नसकेको उनले गुनासो गरे । उनले ग्राहक संख्या बढदै गए पनि उत्पादन घटिरहेकाले समस्या भइरहेको जनाए ।

तत्कालीन सांसद ललितजंग शाहीको पहल र भारतीय दूतावासको सहयोगमा आयोजनामा नयाँ मेसिन जडान गर्न दुई वर्षदेखि काम सुरु गरिएको छ । दूतावासको दुई करोड ६३ लाख रुपैयाँ सहयोगमा काम सुरु गरिए पनि पूरा नहुँदा स्थानीय समस्यामै छन् । अहिले एउटा टर्बाइन मेसिन परिवर्तन भइसकेको छ भने अर्को जडान थालिएको छ ।

विद्युत् नहुँदा जिल्लाका उद्योग फस्टाउन सकिरहेका छैनन् । सरकारी कार्यालयदेखि व्यवसायीले विद्युत्का लागि बैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । चन्दननाथ नगरपालिकाले विद्युत्लाई पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख कान्तिका सेजुवालले बताइन् ।

‘पुरानो विद्युत् योजनाको मर्मत वैशाखसम्म सकाउने लक्ष्य थियो, तर विविध कारणले ढिलो भयो,’ उनले भनिन्, ‘ठिन्के जलविद्युत् आयोजनाको निर्माण पनि तीब्र बनाइएको छ । अब छिट्टै खलंगाको उज्यालो सपना पूरा हुने विश्वास छ ।’ उनका अनुसार अहिले सञ्चालनमा रहेको साना जलविद्युतका दुईवटै टर्बाइन मेसिन परिवर्तन गरी दुई सय किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?