१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिक्षण अस्पतालमा क्याथ ल्याब

भैरहवा — मुटुका बिरामीको उपचारका लागि यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले अत्याधुनिक प्रविधिको क्याथ ल्याब सेवा संचालनमा ल्याएको छ  । यसअघि यस अस्पतालमा मुटु रोगको सामान्य उपचार र निदान मात्र हुने गरेको थियो  ।

शिक्षण अस्पतालमा क्याथ ल्याब

यस सेवाबाट अब अत्याधुनिक प्रविधिबाट उपचार सुरु भएको छ । यो सेवा लिनका लागि बिरामी काठमाडौं र भारतका विभिन्न अस्पतालमा धाउनुपर्ने बाध्यता थियो । क्याथ ल्याबबाट मुटुका बिरामीको अत्याधुनिक प्रविधिबाट एन्जिओग्राफी, एन्जिओप्लास्टीलगायतका सेवा प्रदान गर्न सकिने अस्पतालका मुटुरोग विशेषज्ञ मोहम्मद आलम खानले बताए । यसबाट पेसमेकर राख्ने काम पनि हुन्छ ।

उनका अनुसार विशेष गरी हृदयघात भएका बिरामीलाई एन्जियोग्राफी र एन्जियोप्लास्टी गर्न जरुरी छ । एन्जियोग्राफी र एन्जियोप्लास्टी रक्तनली बन्द भई रगत प्रवाह रोकिएको अवस्थामा नसा फुलाएर रक्त सन्चार गर्ने प्रविधि हो ।


पेसमेकर मुटुमा राखी मुटुको चाल बनाइराख्ने काम गर्छ । क्याथ ल्याब संचालनका लागि करिब सात करोड रुपैयाँको लगानीमा जर्मन प्रविधिको सिमेन्स कम्पनीका उपकरण अस्पतालले ल्याएको हो । काठमाडौंका गंगालाल हृदय अस्पताललगायतका ठूला अस्पतालका मुटुरोग विशेषज्ञको सहकार्यमा क्याथ ल्याब सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अध्यक्ष रमेश शर्माले यो प्रविधि र उपकरणको अभावमा बिरामीलाई उपचारका लागि अन्यत्र लैजाँदा मृत्युको सम्भावना बढी हुने भएकाले यो सेवाबाट धेरैले समयमै उपचार पाउने बताए । यस अस्पतालबाट प्रदान गरिने क्याथ ल्याब सेवा काठमाडौं र भारतीय ठूला अस्पतालको भन्दा कम नहुने दाबी उनको छ ।

यस अस्पतालमा प्रतिदिन २५ देखि ३० जना मुटुका बिरामी उपचारका लागि आउने गर्छन् । जटिल अवस्थाका बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएकामा अब यहीँ उपचार सम्भव भएको अस्प्ताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार आवश्यक परेमा काठमाडौंको मनमोहन कार्डियो सेन्टरसँग सहकार्य गरेर थप विशेषज्ञ सेवासमेत बिरामीलाई उपलब्ध गराउन सकिनेछ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?