मौरी पाल्न मुडेघारकै भर

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका २ बराढुंगामा मौरीपालन व्यवसाय फस्टाउँदै गए पनि स्थानीय पालक मुडेघारकै भरमा छन् । उपयुक्त तालिम र प्रविधिबाट वञ्चित उनीहरूले परम्परागत विधिबाटै मौरीपालन गरिरहेका हुन् । 

मौरी पाल्न मुडेघारकै भर

बराढुंगाका अधिकांश घरमा मौरीपालन हुन्छ । स्थानीय भिमीकुमारी ओलीले आधुनिक घारमा मौरीपालन गर्ने चाहना भए पनि सरकारी निकायको बेवास्ताले परम्परागत विधि अपनाइरहेको बताइन् । ‘आधुनिक घार किन्न महँगो पर्छ, हामीले त्यसबारे तालिमसमेत लिएका छैनौं,’ उनले भनिन्, ‘आधुनिक घार राख्नसके उत्पादन र आम्दानी दुवै बढ्थ्यो ।’ मुडेघारमा मौरी पाल्दा दुःख धेरै भए पनि आम्दानी न्यून हुने गरेको उनको गुनासो छ ।


स्थानीय बेलबहादुर ओलीले २० वटा मुढेघार राखेर मौरीपालन गरिरहेका छन् । आफ्नो व्यवसायलाई आधुनिक बनाउन धेरै कोसिस गरे पनि रकम अभावले समस्या भएको उनको भनाइ छ । ‘मौरीबाट आएको आम्दानीले वर्षभरिको घरखर्च चलाउनुपर्छ,’ उनले भने,‘व्यवसाय विस्तार र आधुनिकीकरण गर्न खोजे पनि सकिएको छैन ।’


उनले तालिम र आवश्यक प्रविधिमा सहयोग गर्न कृषि ज्ञान केन्द्र र गाउँपालिकासँग पटकपटक माग गरे पनि बेवास्ता भइरहेको उनले गुनासो गरे । मौरीपालक किसान रत्नबहादुर सलामीले मौरीपालनबाटै चार जनाको परिवारको वर्षभरिको खर्च चलिरहेको बताए । तर सरकारी निकायको बेवास्ताले आधुनिक प्रविधि उपभोग गर्न नसकेको उनको भनाइ छ ।


उनका अनुसार बराढुंगाका २५ परिवारले लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आइरहेका छन् । कृषि ज्ञान केन्द्र र गाउँपालिकाले रामपुर नजिकै मौरीपालन गर्दै आएका किसानलाई आधुनिक मौरीघार, मह निकाल्ने सामग्रीलगायत विभिन्न सहयोग गरे पनि आफूहरू वञ्चित भएको उनले जनाए । उनले १५ घारमा मौरीपालन गरिरहेका छन् ।


२० वटा मुढेघारमा मौरीपालन गर्दै आएका बेलबहादुर ओलीले वार्षिक ६० हजार रुपैयाँसम्म कमाए पनि व्यावसायिक रूपमा बदल्न नसकेको जानकारी गराए । उनका अनुसार मुढेघारमा मौरी पाल्दा मर्ने र भागेर जाने समस्या बढी छ । उनले बेलाबेला प्राविधिक सहयोग नपाउँदा पनि मौरीपालनमा समस्या भएको जनाए ।


स्थानीयले मौरीपालनबाट उत्पादित मह रामपुर, सदरमुकाम खलंगा, तुलसीपुरलगायत स्थानमा लिएर बिक्री गर्दै आइरहेका छन् । कतिपयले घरबाटै मह किनेर लैजाने गरेकाले बजारको खासै समस्या नभएको स्थानीयको भनाइ छ ।


स्थानीय खिमबहादुर ओलीले आधुनिक मौरीपालनका लागि टाठाबाठाले मात्रै सम्बन्धित निकायबाट सुविधा लिएको आरोप लगाए । ‘गाउँपालिकानजिकैका गाउँमा आधुनिक मौरीपालन गरेकालाई वर्षैपिच्छे सहयोग मिल्छ । बिक्री गर्ने व्यवस्थासमेत मिलाइन्छ,’ उनले भने, ‘हामीलाई भने अहिलेसम्म सरकारी निकायबाट कुनै सहयोग प्राप्त भएको छैन ।’


साबिक कृषि विकास कार्यालय र कालीमाटी गाउँपालिकाले कालीमाटीलाई मौरीपालन पकेट क्षेत्र घोषणा गरे पनि नाममा मात्र सीमित गरेको स्थानीयको गुनासो छ । कालीमाटी २ का अध्यक्ष इन्द्रबहादुर ओलीले वडाका सबै गाउँ विकट भएकाले किसानलाई सक्दो सहयोग गर्न नसकिएको जनाए ।


‘गाउँमा खानेपानी, सडकलगायत धेरै समस्या छन्, त्यसैले अहिले हाम्रो ध्यान पूर्वाधार विकासमा मात्र गएको छ,’ उनले भने, ‘तत्कालका समस्या समाधान भए किसानलाई व्यावसायिक खेती र मौरीपालनमा सहयोग गर्न गाउँपालिकाले योजना बनाएको छ ।’ उनले बराढुंगाका स्थानीयलाई आधुनिक तथा व्यावसायिक मौरीपालनमा उत्साही गर्न विभिन्न निकायसँग समन्वय गर्ने जानकारी दिए ।

प्रकाशित : वैशाख १२, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?