३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्मचारी समायोजनको असर : स्थानीय तह रित्तै

तुलाराम पाण्डे

कालीकोट — पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मा कर्मचारी समायोजनमा संघमा परेपछि गत चैत्र १ गते रमाना लिएर गए ।

उनको ठाउँमा सरकारले कञ्चनपुर घर भएका खेमप्रसाद चौधरीलाई सरुवा गरेको जानकारी गाउँपालिकामा आयो । तर, अनिवार्य अवकाश हुन २ वर्ष मात्र बाँकी रहेका चौधरीले विकटमा आउन नमानेपछि गाउँपालिकामा आवश्यक आर्थिक तथा प्रशासकीय अधिकार प्रयोग गर्नेगरी राजवहादुर बमलाई निमित्तको जिम्मेवारी दिइएको छ ।


‘निमित्त त पहिले पनि थिए,’ नासु बमले भने, ‘बाहिरका सिनियर आउन नमानेपछि आर्थिक तथा प्रशासकीय अधिकारसहितको पत्र आएको छ ।’ उनले अधिकृत आएपछि नासुमै कायम रहने बताए । शुभकालिका गाउँपालिकामा २२ कर्मचारीको दरबन्दी छ ।


कर्मचारी समायोजनमा सवओभरसिर गोपिचन्द्र अधिकारी, अहेव ऐनवहादुर शाही, नासु मोहन न्यौपाने र महिला विकास निरीक्षक अमृता अधिकारीबाहेक अन्य कसैले शुभकालिका रोजेनन् । यहीका स्थानीय कर्मचारीले समेत प्रदेश र संघ रोजेर गए पछि गाउँपालिका कर्मचारी विहीन छ ।


प्रमुख प्रशासकीय अधिकृत खड उपाध्यायको समायोजन संघमा र लेखापाल विश्वामित्र न्यौपाको कृषि ज्ञान केन्द्रमा सरुवा भएपछि योजनाको भुक्तानी दिनेलगायत काम प्रभावित भएको अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘२२ जना कर्मचारीमा ३ जनाले मात्र शुभकालिका रोजे,’ गाउँपालिका अध्यक्ष चौलागाईले भने, ‘कर्मचारी नहुदा काम गर्न कठिन भयो ।’


साविकका भर्ता, सुकाटिया र कालिका मिलेर बनेको गाउँपालिकाको ८ वटै वडामा दरवन्दीका वडा सचिव पनि छैनन् । करारमा राखिएका कर्मचारीमार्फत जनतालाई सेवा दिन कठिनाइ छ । नयाँ कर्मचारीलाई धेरै कुराको जानकारी नहुने र करार सेवाका कर्मचारीको जिम्मेवारी नहुने भएकाले कामकाज प्रभावित भएका छन् ।


समायोजनपछि कर्मचारी अभाव भएपछि रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल कर्मचारी माग्न मन्त्रालय नै पुगेका छन् । नगरमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल छैनन् । अन्य कर्मचारीको पनि अभाव छ । महिला तथा बालबालिका शाखामा हालसम्म कर्मचारी नै गएका छैनन् ।


कर्मचारी नहुँदा योजनाको सम्झौता गर्न, पेश्की दिन र काम सकिएका योजनाको भुक्तानी दिन पनि सकिएको छैन । अहिले रास्कोट, नरहरिनाथ, पलाता, पचालझरना, महाबै र सान्नीत्रिवेणीमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । वडामा वडा सचिव आएका छैनन् ।


खाडाचक्र र शुभकालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि सरुवा भइसकेका छन् । कर्मचारी नहुँदा अधिकांश स्थानीय तहले पाठ्यपुस्तक वापतको रकम विद्यालयलाई दिएका छैनन् । जसका कारण सदरमुकाम मान्म पुगेका पाठ्यपुस्तक विद्यालय नगएको हाम्रो स्टेशनरीका संचालक राजकुमार शाहीले बताए ।


उनले नरहरिनाथ र सान्नीत्रिवेणी गाउँपालिकाले मात्र पाठ्यपुस्तकको केही रकम विद्यालयको खातामा जम्मा गरेको जानकारी दिए । कर्मचारी समायोजनको असर स्थानीय तहका मात्र होइन । स्वास्थ्य संस्थामा पनि परेको छ । जिल्ला अस्पताल मान्म र अन्य स्थानीय तहका स्वास्थ्य चौकीमा पनि समायोजन रोजेका कर्मचारी सुगममा गएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?