‘डिपिङ ट्यांक’ अलपत्र

विप्लव महर्जन

सल्यान — साविक जिल्ला पशु सेवा कार्यालयले पशुको उपचारका लागि विभिन्न स्थानमा निर्माण गरेका ‘डिपिङ ट्यांक’ अलपत्र परेका छन्  । ‘डिपिङ ट्यांक’ लामो समयदेखि बेवारिसे बनेपछि लाखौं सरकारी रकमको दुरुपयोग भएको छ  ।

‘डिपिङ ट्यांक’ अलपत्र

बाख्रा, खसीबोकालगायत पशुमा उपियाँ, जुम्रालगायत अन्य किरा परेमा औषधि पानीमा घोलेर ट्यांकीमा राख्ने गरिएको थियो । विषादी घोलेर ट्यांकीमा राख्ने र त्यसैमा पशुलाई चोपल्दा शरीरका किरा मर्नेगरी ‘डिपिङ ट्यांक’ बनाइएको थियो । किसानले प्रयोग गर्न नजानेका कारण ट्यांक अलपत्र परेको पशु प्राविधिकको भनाइ छ । दशक अघिसम्म कार्यालयले ट्यांकी निर्माणका लागि किसान समूहलाई ५०/५० हजार रुपैयाँ अनुदान दिने गरेको थियो ।

कजेरीका दुर्गाबहादुर बुढाथोकीले ट्यांकी संरक्षणमा कसैले चासो नदिँदा सरकारी रकमको दुरुपयोग भएको बताए । ‘सुरुमा पशुमा कुनै किराको प्रकोप हुँदा यो विधि ज्यादै भरपर्दो थियो, हामीले केही समय ट्यांकीको प्रयोग गर्‍यौं,’ उनले भने, ‘अहिले पशुमा कुनै किराको प्रकोप भए औषधि किनेर असुरक्षित तरिकाले घरमै लगाइने गरिएको छ ।’ शारदा नगरपालिका १३ रेशमज्युलामा बनाएको ‘डिपिङ ट्यांक’ संरक्षण अभावमा पुरिन थालिसकेको स्थानीय नरबहादुर बुढाथोकीले बताए ।

गाउँमा गाईभैंसी र बाख्रापालन गर्ने क्रम बढ्दै गए पनि ट्यांकीमा उपचार गराउने चलन हटिसकेको बताए । ‘पहिले गाउँगाउँमा सरकारी अनुदानमा ट्यांकी बनाउने लहर चल्यो, केही समय उपचारका लागि प्रयोगसमेत भए,’ उनले भने, ‘तर अहिले सबै अलपत्र परेपछि बालबालिकाले खेल्ने ठाउँको रूपमा प्रयोग गरिरहेका छन् ।’ उनले पशु सेवा कार्यालयले अनुगमन नगरेका कारण पनि सरकारी रकमको दुरुपयोग भएको जनाए । उनका अनुसार ट्यांकी संरक्षणका लागि बनाइएका समिति अहिले निष्कृय छन् ।

मूलखोलामा निर्माण गरेको ट्यांकी अहिले पशु चौपाया आहाल बस्ने ठाउँमा परिनत भएको स्थानीय हरिलाल बिष्टले बताए । किसानले प्रयोग गर्न नजान्दा ट्यांकी बेवारिसे बनेको उनको भनाइ छ । उनका अनुसार संरक्षण नहुँदा वर्षेनि पुरिने क्रम बढ्दै गइरहेको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पशुको उपचार सहज बनाउन जिल्लाभरि दुई दर्जन बढी ट्यांकी निर्माण गरिएको थियो । केन्द्र प्रमुख टेकनाथ आचार्यले स्थानीय तथा पशु प्राविधिकको बेवास्ताले ट्यांकी प्रयोगविहीन भएको बताए । उनले धेरै अगाडिका योजना भएकाले जिल्लाभर कति संख्यामा निर्माण भएका छन भन्नेबारे जानकारी नभएको बताए ।

उनले कार्यालय अगाडि निर्माण गरिएको ‘डिपिङ ट्यांक’ समेत प्रयोगविहीन बनेको जनाए । उनले साविक पशु सेवा कार्यालयले निर्माण गरेका संरचना संरक्षणको जिम्मा अहिले स्थानीय तहमा सरेको जानकारी दिए ।

प्रकाशित : वैशाख १७, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?