कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाण्डवगुफाको मौलिकता हराउँदै

एलपी देवकोटा

जुम्ला — सडक सुविधासँगै सिंजा क्षेत्रमा रहेको ऐतिहासिक महत्त्वको पाण्डवगुफामा आन्तरिक पर्यटकको भीड बढदै गएको छ  । तर ऐतिहासिक महत्त्वको गुफामा प्लाष्टिकका मूर्ति राखिएका कारण मौलिकता भने हराउँदै गएको छ  ।

पाण्डवगुफाको मौलिकता हराउँदै

खस भाषाको उद्गमस्थलका मानिने कनकासुन्दरी गाउँपालिकामा अवस्थित गुफा अवलोकनका लागि आउने पर्यटक बढेका छन् । पाण्डुसेरी गाउँको दक्षिणी भागमा रहेको गुफामा पाँच भाइ पाण्डव १४ वर्षसम्म गुप्तबास बसेको किंवदन्ती छ । किंवदन्ती अनुसार गुफाभित्र चार गदी थिए । उक्त गदीको निशानी हेर्न आउने पर्यटकको संख्या बढै गएको स्थानीय चन्द्र रोकायाले बताए ।

'पुरानो गुफाको इतिहास बुझ्ने यहाँ जिल्लाभित्र र बाहिरका धेरै मानिस आउँछन्,' उनले भने, 'पाण्डबहरू वसेको गदी भएको ठाउँमा प्लाष्टिकका मूर्तिहरू राखिदा मौलिकता हराएको छ ।' प्रत्येक गदीमा पाँच भाइ पाण्डवका एक/एक मूर्ति राखिएका छन् । साविक पाण्डवगुफा गाविसको सहयोगमा प्लाष्टिकका मूर्ति राखिएको हो ।

गुफामा राखिएका पाँच वटा मूर्तिहरू नहकुल, शहदेव, युधिष्टर, द्रौपति र भिमका रहेको स्थानीय टेकबहादुर हमालले वताए । 'गुफाको बीच भागमा अग्नि कुण्ड छ,' उनले भने, 'तर अझैसम्म पनि गुफाको लम्वाइ, चौडाइ र उचाइबारे एकिन गर्न सकिएको छैन ।' गुफा भित्र पस्दा नदी वगेको जस्तो आवाज सुनिन्छ । तर गुफाभित्र पानी नै छैन । कहिलेकाँही शंख वजाएको जस्तो आवाज आउने गरेको स्थानीय बताउँछन् ।

गुफाको दक्षिणतर्फ हिमा नदी किनारमा वाणगंगा वा सतिदेवीको अंगपतन भएको किंवदन्ती छ । स्थानीयका अनुसार नाग्म-गमगढी सडक खण्डमा पर्ने भएकोले गाडी लिएर जानेहरू जोसुकैले पनि गुफाको अबलोकन गर्ने गरेका छन् । औसत दैनिक २५ जना आन्तरिक पर्यटक गुफाको अबलोकनका लागि आउने गरेको स्थानीयको भनाइ छ । केही वर्षअघिसम्म गुफामा विहान-वेलुका मात्रै पर्यटकलाई अवलोकन गर्न दिने व्यवस्था थियो । अहिले आन्तरिक पर्यटकको संख्या वढै गएकाले दिनभर गुफा खुला राख्ने गरिएको छ ।

वाहिर हरियो जस्ताले छाएको मन्दिरमा गुफा छ । गुफाभित्र गएर फोटो खिच्ने व्यवस्था मिलाइएको छ । 'प्रचारप्रसार हुन नसक्दा संसारसामु यसको महत्व दर्शाउन सकिएको छैन,' संस्कृतिसम्वन्धी जानकार रमानन्द आचार्यले भने, 'गुफालाई धार्मिक एवं आन्तरिक पर्यटनको केन्द्र बनाउन जरुरी छ ।'

उनले प्लाष्टिकको मूर्ति राख्नुभन्दा गदी नै देखाउन ठिक हुने जनाए । गाउँको बिचमा गुफा भएकोले स्थानीयले अहिले संरक्षणमा जोड दिन थालेका छन् ।

प्रकाशित : वैशाख १८, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?