कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चन्द समूहको गतिविधि नियन्त्रण गर्न थबाङमा अन्तर जिल्ला सुरक्षा अधिकारीको बैठक

काशीराम डाँगी

रोल्पा — रोल्पा लगायत पहाडी जिल्लाका सुरक्षा अधिकारीहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधि नियन्त्रण गर्नेसम्बन्धी साझा योजना बनाएका छन् । स्रोतका अनुसार गत वैशाख १४ मा रोल्पाको थबाङमा बसेको अन्तरजिल्ला संयुक्त सुरक्षा अधिकारीहरुले बैठकमार्फत् द्वन्द्व, तस्करी, अपराध, प्रकोप नियन्त्रण गर्नुका साथै विकासका गतिविधिमा साझेदारी भूमिका निर्वाह गर्ने निर्णय गरेका हुन् । 

बैठकमा रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व र बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय प्रमुखहरुको सहभागिता थियो । सुरक्षा अधिकारीहरुले यी जिल्लामा बढ्दै गएको चन्द नेतृत्वको नेकपाको गतिविधिप्रति गम्भीर हुने निर्णय गरेका छन् ।


चन्द नेतृत्वको गतिविधिका कारण यस क्षेत्रमा द्वन्द्व सिर्जना भएको निष्कर्ष सुरक्षा अधिकारीहरुको छ । गत निर्वाचन अघिदेखि नै नेकपाका गतिविधिप्रति निगरानी गर्दै आएका सुरक्षा संयन्त्रहरुले उक्त संयुक्त बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने अधिकारीहरुले प्रतिवदेनमाथि समीक्षासमेत गरेका थिए । सरकारले चन्द नेतृत्वको नेकपाप्रति प्रतिबन्ध लगाएपछि सुरक्षा व्यवस्था झन् कडा पारिएको अधिकारीहरुले जनाएका छन् । प्रतिबन्धपछि नेकपाको गतिविधि कम भएको सुरक्षा निकायको निष्कर्ष छ ।


सुरक्षा प्रमुखहरुले यसपटक उपस्थित हुन नसकेका गृह मन्त्रालयका सचिवलगायत उच्च सुरक्षा अधिकारीलाई समेत बोलाएर चन्दका गतिविधि नियन्त्रण गर्न थप योजना बनाउने सहमति गरेका हुन् । यसअघि थबाङ बैठकमा गृह सचिव प्रेमकुमार राईसमेत आउने कार्यक्रम थियो । बैठकमा नयाँ जिल्ला रुकुम पूर्वको सुरक्षा अवस्था र नेकपाको 'विशेष जिल्ला थबाङ' को बारेमा विशेष छलफल भएको थियो ।


लामो सशस्त्र द्वन्द्वबाट प्रभावित जिल्लाहरु रोल्पा, दुवै रुकुम र बाग्लुङका गाउँहरुमा शान्ति महसुस गराउन स्थानीय तहलाई विशेष आग्रह गर्ने सुरक्षा अधिकारीले बताएका छन् । स्थानीय तहको निर्वाचनपछि विकासका गतिविधि सुरु भए पनि अझै पनि पूर्णरुपमा जनताका चाहना सम्बोधन गर्न नसकिएको गुनासो आएको रोल्पास्थित एक सुरक्षा अधिकारीले बताए ।


रोल्पाका प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले थबाङ बैठकले छिमेकी जिल्लासँग समन्वय बिस्तार भएको बताए । उनले चन्द नेतृत्वको नेकपाको गतिविधिका साथै प्रकोप, अपराध नियन्त्रण गर्न र विकासका गतिविधि बीचमा समन्वय र सहकार्य स्थापना गर्न बैठक सफल भएको बताए । उनले सबै जिल्लाका प्रशासन संयन्त्रका बीचमा समन्वय र सहकार्य हुने भएकाले सबै प्रकारका समस्याप्रति छिटो प्रतिकार्य गर्न सहयोग पुग्ने बताए ।


गृहमन्त्रालयको निर्देशन अनुसार सदरमुकाम बाहिर सुरक्षा बैठकको आयोजना गरिएको हो । यसैगरी अर्को चरणको बैठक रोल्पा लगायत दाङ, प्युठान, सल्यानका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको सहभागितामा निकट भविष्यमा रोल्पाको होलेरीमा आयोजना गरिने स्रोतले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?