कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिकाको रोजगार कार्यक्रम : बाटो खन्दै स्थानीय

राजबहादुर शाही

पुलु, मुगु — मुगमकार्मारोङ गाउँपालिकाले सञ्चालन गरेको अध्यक्ष रोजगार कार्यक्रमले विपन्न युवामा उत्साह ल्याएको छ । स्थानीयलाई विकास कार्यक्रममा सहभागी गराउन चालु आर्थिक वर्षदेखि रोजगार कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिकाको रोजगार कार्यक्रम : बाटो खन्दै स्थानीय

स्थानीयलाई पूर्वाधार निर्माणका काममा सहभागी बनाइ रोजगारीको अवसर सिर्जना गर्न कार्यक्रम लागु गरिएको हो । यस वर्ष बर्ष कार्यक्रमका लागि ६६ लाख रकम बिनियोजन गरी छाइलदेखि मुगु सिरानीचौरीसम्म बाटो सुधारको काम भइरहेको छ । बैशाख १६ मा बिधिवत रुपमा उद्घाटन गरी कार्यक्रम सुरु गरिएको हो ।

कर्णाली रोजगार कार्यक्रम हटेपछि गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम लागु गरेको प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले बताए । कार्यक्रमले विकासमा जनसहभागिता बढाएको उनको भनाइ छ । गाउँपालिकाले रोजगार कार्यक्रम सुरु गरेपछि माग्री, रिउस, पुवा, मह, छाइल, सेरोक, दाउरा, ताखालगायत गाउँका युवा सडक निर्माणको काममा जुटेका छन् ।

दैनिक करिब तीन सय स्थानीयले बाटो खन्ने काम गरिरहेको गाउँपालिकाले जनाएको छ । रोजगार कार्यक्रमले विपन्न युवामा उत्साह थपेको रिउस गाउँका ग्याल्जन लामाले बताए । उनका अनुसार योजनास्थल भन्दा टाढाका बासिन्दा डेरा लिएर निर्माणको काममा सहभागी भएका छन् । गाउँपालिकाको सिमानदेखि छाइल, ताक्लीखोलादेखि रिउस, पुलुदेखि सेरोक, भालेदेखि डोटीच्या, पिपलाडीदेखि सिरानीचोर खण्ड बिभाजन गरी निर्माणको जिम्मा दिइएको छ ।

दैनिक हाजिरीमार्फत युवालाई ज्याला दिइने गाउँपालिकाका इन्जिनियर सरोज केसीले बताए । उनका अनुुसार दुई महिनाभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भइरहेको हो । रोजगार कार्यक्रमबाट कमाएको रकमले स्थानीयको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको उनको भनाइ छ ।

रोजगार कार्यक्रमलाई वर्षेनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार कार्यक्रमले विकासमा स्थानीयको उत्साह बढाएको छ । विकासबाट बञ्चित भएका समुदायको निम्ति कार्यक्रम प्रभावकारी देखिएको उनको भनाइ छ । 'कार्यक्रममार्फत एकातिर गाउँको विकास हुने अपेक्षा छ भने अर्कोतिर स्थानीयले रोजगारी पाएका छन्,' उनले भने,'कार्यक्रममार्फत स्थानीयलाई गाउँमै विभिन्न रोजगारमूलक कार्यमा लगाउने हाम्रो योजना हो ।'

उनले गाउँमै रोजगारी पाएपछि स्थानीयलाई कामको खोजीमा भारतका विभिन्न ठाउँ तथा खाडी मुलुक जानुपर्ने बाध्यता नहुने बताए । उनका अनुसार अहिले कामको खोजीमा बाहिर जाने युवाको संख्या घटिरहेको छ ।

प्रकाशित : वैशाख २०, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?