डेढ दशकदेखि कच्ची सडकमै यात्रा

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारदेखि रुकुमको चौरजहारीसम्मको सडकको ट्रयाक खुलेको १५ वर्ष भयो । सरकारी निकाय र निर्माण व्यवसायीको बेवास्ताका कारण स्थानीयबासी कच्ची सडकमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

डेढ दशकदेखि कच्ची सडकमै यात्रा

सल्लीबजारदेखि चौरजहारीसम्मको ४१ किलोमिटर सडक स्तरोन्नति नहुँदा यात्रुहरू धुलाम्मे र हिलाम्मे यात्रा गर्न बाध्य छन् । सडक स्तरबृद्धिका लागि सडक डिभिजन कार्यालय दाङले १० करोड बढी रकम खर्च गरिसकेको छ । तर सडक वर्षेनि जीर्ण बन्दै गइरहेको छ । सडक स्तरोन्नतिको काम बीचमै अलपत्र परेपछि यात्रुलाई आउजाउमा सास्ती भएको हो ।

ठेकेदारले स्तरोन्नतिको जिम्मा लिए पनि बीचैमा काम छाडेर भाग्ने गरेकाले सडकको अवस्था सुधार हुन नसकेको हो । यात्रुहरू बषर्ामा हिलाम्मे र अन्य समयमा धुलाम्मे यात्रा गर्न बाध्य छन् । ठेकेदार भाग्ने समस्याका कारण सडकको तीन किलोमिटर खण्डमात्र कालोपत्रे हुन सकेको छ । ठेकेदारले कामप्रति बेवास्ता गर्दा केही बर्षअघि गरिएको ग्राभेल अधिकांक उप्किसकेको छ ।

सुख्खायाममा धुलो र वर्षातमा हिलोले गर्दा सडकमा गाडी जाम हुने गरेको स्थानीय नेत्र थापाले बताए । १० बर्षअघि काम सुरु गरेका ठेकेदारसमेत काम छोडेर भागे पनि सरकारी निकायले कारवाहीमा बेवास्ता गरेको उनी बताउँछन् । सल्यान-रुकुम-जाजरकोट र डोल्पालाई प्रदेश राजधानीसँग जोड्ने सबैभन्दा छोटो बाटो यही भए पनि तीनै तहका सरकारले स्तरोन्नतिमा बेवास्ता गरिरहेको उनको गुनासो छ ।

गत आर्थिक वर्षमा सात किलोमिटर कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ११ करोड बिनियोजन गरेको भए पनि ठेकेदारले काममा ढिलाइ गरिरहेका छन् । गत वर्ष गजुरमुखी/गाल्भा जेभीका तर्फबाट रामबहादुर बिष्टले कामको जिम्मा लिएका थिए । उक्त ठेकेदार कम्पनीले सात महिनादेखि निर्माणस्थल छोडेको छ ।

सडक डिभिजन कार्यालय दाङसंग ३३ महिनामा काम पुरा गर्नेगरी ठेकेदार कम्पनीले सम्झौता गरेको थियो । सडकको जिम्मा प्रदेश सरकार मातहत गएपछि ठेकेदार कम्पनीले थप बेवास्ता गरिरहेको स्थानीयले जनाएका छन् । गजुरमुखी/गाल्भा जेभीका प्रोपराइटर नरहरी थपलिया र पेटीमा काम गरिरहेका ठेकेदार रामबहादुर बिष्ट सम्पर्कविहीन भएको स्थानीयले जनाएका छन् ।

अघिल्लो बर्ष स्तरोन्नतिको जिम्मा लिएको हिमदुङ ठोकर कन्ट्रक्सनले समेत काम पुरा नगरी छाडेको स्थानीय बिमलकुमार खडाले बताए । उनका अनुसार सडक खण्डको बन्गाड र स्यानीपिप्ली खोलामा पक्की पुल बन्न नसक्दा वषर्ायाममा यातायातका साधन अबरुद्ध हुने गरेका छन् । उनले ठेकेदारकै लापरवाहीका कारण लामो समयदेखि पुल अलपत्र परेको जानकारी दिए । ठेकेदार विभिन्न बहानामा काम सम्पन्न गर्न पन्छिने गरे पनि सरकारी निकायले बेवास्ता गरिरहेको उनले जनाए ।

बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोबिन्दकुमार पुनले सल्लीबजार-चौरजहारी सडकमा ठेकेदारले काम गर्ने क्रममा आलटाल गरिरहेको बताए । उनले ठेकेदारको लापरवाहीका कारण सरकारी रकमको दुरुपयोग बढै गएको जनाए । 'पटकपटक ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न ताकेता गरिरहेको छु,' उनले भने, 'तर विभिन्न बहाना बनाइ ठेकेदार पक्षले निर्माणमा ढिलाइ गरिरहेको छ ।' उनले ठेकेदार कम्पनीलाई कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

अहिले सडक डिभिजन कार्यालय दाङको जिम्मेवारी सरेर सुर्खेतमा गएको छ । डिभिजन कार्यालय, सुर्खेतले सल्लीबजार-चौरजहारी सडकको बजेट निकासा गरिसकेको कर्णाली प्रदेशका अर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

'यस वर्ष सडक स्तरोन्नतिको कामका लागि क्रमागत बजेट बिनियोजन गरिसकिएको छ, ठेकेदार पक्षलाई काम छिटो सक्न ताकेता गरिरहेका छौं,' उनले भने, 'अहिलेको काम सम्पन्न भए आगामी वर्ष कालोपत्रेका लागि पर्याप्त रकम बिनियोजन गरिनेछ ।' उनले प्रदेश राजधानी सुर्खेतलाई विभिन्न जिल्ला जोड्ने सजिलो र सहज मार्ग भएकाले सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रकाशित : वैशाख २०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?