कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काकाकुल बन्गाड–कुपिन्डे

मुहान सुक्दै गएकाले नगरपालिकाका १२ वडाका ३५ हजार स्थानीयलाई खानेपानी समस्या
विप्लव महर्जन

ल्यान — बन्गाडकुपिण्डे नगरपालिकाको घाँजरीपिल, मैदु, बामे, मुलखोला, माझँकाडा, निगालचुला, कुपिण्डे, देबस्थललगायत बस्ती काकाकुल बन्दै गएका छन्  । पुराना योजना मर्मत नहुनु र नयाँ योजना निर्माणमा ढिलाइ हुँदा नगरपालिकाभरि खानेपानीको अभाव भएको हो  ।

काकाकुल बन्गाड–कुपिन्डे

मुहान सुक्दै गएकाले नगरपालिकाका १२ वडाका ३५ हजार बासिन्दा प्रभावित भएका छन । वर्षौदेखि गाउँमा खानेपानी नहुँदा घण्टौ पैदल हिडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीयको गुनासो छ । दुई दशकदेखि नगरमा खानेपानी अभाव हुने गरेको अमर प्राविका प्रधानाध्यापक झलक बुढाले बताए । उनका अनुसार फागुनदेखि वर्षेनि पानीको समस्या चुलिने गरेको छ ।


‘पानीको लागि सास्ती भएपछि अडलेर खानुपर्ने बाध्यता छ,’ उनले भने, ‘घण्टौं हिडेर डोकोमा पानी बोक्ने बाध्यता स्थानीयलाई छ ।’ उनले स्कुले बालबालिकासमेत पानी बोक्न जाने गरेकाले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ । खानेपानी समस्याकै कारण अन्यक्र बसाइसराइ गर्ने त्रम बढेको उनले जानकारी दिए ।


नगरपालिकाले गत वर्ष सबै वडामा खानेपानी योजना सञ्चालन गर्नेगरी बजेट बिनियोजन गरे पनि योजना निर्माण पुरा नभएको बन्गाड नगरपालिका(३ मेलटाकुराका इन्द्र पुनले बताए । उनले वर्षायाममा बाहेक अन्य ६ महिना खानेपानीको समस्या भोग्नुपरेको बताए । ‘वर्षातको समयमा सुकेका मूल जाग्छन र टाढा जानु पर्दैन,’ उनले भने, ‘फागुन लाग्नेवित्तिकै मुहान सुकेपछि सबै वडामा पानीको हाहाकार हुने गरेको छ ।’ उनका अनुसार खानेपानी समस्याका कारण अधिकांश स्थानका शौचालय प्रयोगविहीन भएका छन् ।


पानीको लागि बारम्बार आग्रह गर्दै आए पनि सरकारी निकायले बेवास्ता गरिरहेको निगालचुलाका प्रेमबहादुर पुनले बताए । उनका अनुसार खोलासम्मै पुगेर खानेपानी ल्याउने गरे पनि दिनभर अडलेर उपभोग गर्नुपर्ने बाध्यता छ । बस्तुभाउलाई खुवाउनका लागि गाउँमा चारवटा आकाशे पानी संकलन गर्ने पोखरी बनाए पनि सबै सुकेकाले स्थानीयलाई थप सास्ती भएको छ ।

पानीको हाहाकार भएका कारण अधिकांशले खोला र भेरी नदीको दुषित पानी उपभोग गर्दै आइरहेको उनको गुनासो छ । खानेपानी अभावकै कारण गाउँमा पशुपालन गर्ने क्रम घटेको उनले जानकारी दिए । उनले दिनभर पानीकै पिरलो हुने गरेको सुनाए । महिला तथा बालबालिकाले तीन/चार पटकसम्म खानेपानी ओसार्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।


नगर प्रमुख गोबिन्दकुमार पुनले अधिकांश गाउँमा लामो समयदेखि खानेपानी अभाव भएकाले एकैपटक समस्या समाधान गर्न गाह्रो भएको बताए । उनका अनुसार गत वर्ष दुई योजना मात्र सम्पन्न गर्न सकिएको छ ।

‘नयाँ योजना सञ्चालन गर्न धेरै बजेट लाग्ने गरेको छ,’ उनले भने,‘हामीसँग सीमित बजेट हुन्छ । अधिकांश बस्ती डाँडामा भएकाले र मुहानहरू सुक्दै गएकाले थप समस्या भइरहेको छ ।’ उनले खानेपानी समस्याको दीगो समाधानका लागि योजना निर्माणको काम भइरहेको जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?