२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मुगुमा योजना सम्झौताको चटारो

राजबहादुर शाही

मुगु — आर्थिक वर्ष सुरु भएको १० महिनापछि छायानाथ–रारा नगरपालिका र मुगमकार्मारोङ गाउँपालिकामा योजना सम्झौताको चटारो सुरु भएको छ । योजना सम्झौताको चटारोका कारण नगरपालिकामा उपभोक्ताको घुँइचो बढेको छ ।

श्रीनगर, कार्की, भामबाडा, निगाले, सायाँखोला, रुघा, पिना, मुन्दु, रोवालगायत गाउँबाट आएका उपभोक्ताको भीडले जनप्रतिनिधि र कर्मचारी व्यस्त बन्न थालेका छन् ।


विभिन्न निर्माण समितिका पदाधिकारी हातमा फाइल बोकेर सदरमुकाम आउने गरेका छन् । तीन घण्टा हिडेर सिँचाइ योजना सम्झौता गर्न आएको मुन्दु गाउँका धनरुप बोहोराले बताए । उनका अनुसार खेतीको काम सकाएर उपभोक्ता विकास निर्माणमा लाग्न थालेका छन् । ‘अहिले सम्झौता भएका योजनाको काम असार मसान्तभित्रै सक्ने योजना छ,’ उनले भने, ‘अन्नबाली लगाउने

काम सकिएकाले गाउँको सबै जनशक्तिलाई निर्माणको काममा लगाइनेछ ।’


गाउँमा उपभोक्ता समिति गठन प्रक्रिया नमिलेपछि अधिकांश समितिका पदाधिकारी सदरमुकाम आएका छन् । प्राविधिक कर्मचारी योजनाको स्टमेट बनाउन व्यस्त बनेका छन् भने लेखा शाखाका कर्मचारीलाई पेश्की रकम दिन भ्यानभ्याइ छ । चैत महिनासम्म फुर्सदिला बनेका कर्मचारी विहानैदेखि राति अबेरसम्म योजना सम्झौताको काममा व्यस्त बन्न थालेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललिजंग मल्लले बताए ।


नगरमा लामो समय जनप्रतिनिधिबीच विवाद भएपछि ढिलोगरी योजनाको सम्झौता भइरहेको उनको भनाइ छ । ‘एकातिर जनशक्ति अभाव र अर्कोतिर नजिकिदै गरेको असार मसान्तले सबैलाई भ्याइनभ्याइ छ,’ उनले भने, ‘जतिसक्दो छिटो सबै योजना सम्पन्न गर्नेगरी सम्झौताको काम भइरहेका छन् ।’ तोकिएको बजेट खर्च गर्न नसके फिर्ता जाने भएकोले दिनरात नभनी काममा लागेको उनको भनाइ छ ।


नगरपालिकाले चालु आर्थिक वर्षमा करिब दुई सय योजनामा रकम विनियोजन गरेको छ । आइतबारसम्म ६० भन्दा बढी योजना सम्झौता भइ पेश्की रकम निकासा भइसकेको योजना फाँटका कर्मचारी केशर रावलले बताए । उनका अनुसार नगरबाट योजनाको पेश्की लिएपछि मात्र उपभोक्ता समितिले काम सुरु गर्ने गरेका छन् । यस वर्ष ३० करोड ९५ लाख रुपैयाँ बिनियोजन गरिएको उनले जानकारी दिए । अहिलेसम्म विकासतर्फ दुई करोड रुपैयाँ मात्र खर्च भएको उनले जनाए ।


यस वर्ष पनि असारे विकासलाई निरन्तरता दिइएको स्थानीयको गुनासो छ । असारे विकासका कारण विकास निर्माणको उपलव्धी शून्य देखिएको स्थानीयबासी बताउँछन् । नगरपालिकामा उपप्रमुख सुन्तला रोकायाको संयोजकत्वमा योजना अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिको सिफारिसबिना योजनाको अन्तिम भुक्तानी नदिने नियम बनाइएको रोकायाले बताइन् ।


मुगमकार्मारोङ गाउँपालिकामा योजना सम्झौताको चटारो छ । उपभोक्ताहरू सदरमुकामस्थित सम्पर्क कार्यालयमा आइ योजना सम्झौता गरेर फर्किने गरेका छन् । पटकपटकको हिमपात र चिसो छल्न स्थानीयबासी औंल झरेकाले योजना सम्झौतामा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । बैंक स्थापना हुन नसकेको भन्दै गाउँपालिकाले सदरमुकाममा सम्पर्क कार्यालय राखेर कामकाज गर्दै आइरहेको छ ।

प्रकाशित : वैशाख २४, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?