१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

थपिए बर्थिङ सेन्टर

तुलाराम पाण्डे

कालीकोट — खाडाचक्र नगरपालिकाले नवजात शिशु र सुत्केरीको स्वास्थ्यमा सुधार गर्न स्वास्थ्यसम्बन्धी तीन वर्षे रणनीतिक योजना निर्माण गरेको छ ।

थपिए बर्थिङ सेन्टर

रणनीतिअनुसार जिल्ला अस्पताल, दाहा र पाखामा स्वास्थ्य चौकी गरी तीन वटामाक्र स्वास्थ्य संस्था मात्र रहेको खाडाचत्रले यस वर्ष थप आठ सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न थालेको छ ।


खाडाचक्रले अन्य स्थानीय तहको तुलनामा स्वास्थ्य क्षेत्रमा बजेट बढी विनियोजन गरेको नगर स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । उनका अनुसार विनियोजित बजेटबाट औषधि र उपकरण खरिद, स्वास्थ्यकर्मीलाई तलब, महिला स्वास्थ्य स्वमसेविकालाई विभिन्न सामग्री उपलब्ध गराइएको छ ।


लगानी अनुसार सूचक पुरा नभएको निष्कर्षसहित सरोकारवालाहरूले हालको अवस्था, कारण, समाधानका उपाय, समयावधि र लागत बजेटसहित रणनैतिक योजना निर्माण गरेका हुन् । ‘नगरको प्राथमिकता स्वास्थ्य, शिक्षा, पूर्वाधार हो,’ नगर प्रमुख जसीप्रसाद पाण्डेले भने, ‘योजनाअनुसार उपलब्धी हासिल गर्न सबै पक्षको सक्रियता र सहयोग आवश्यक छ ।’


शत प्रतिशत संस्थागत सुत्केरी गराउने, सबै बालबालिकालाई अनिर्वाय खोप सेवा उपलब्ध गराउने र चार पटक गर्भ जाच गराउने, ६ महिनासम्म आमाको दुध मात्र चुसाउने र सबै नवजात शिशुलाई नाभी मलम उपलब्ध गराउन लक्ष्य रणनैतिक योजनामा समेटिएको छ ।


योजना अनुसार सुरक्षित मातृत्व, खोप सेवा, गर्भजाच र स्वास्थ्य संस्थागत सुत्केरीकोबारे चेतनामूलक अभियान सञ्चालन गरिने नगर उपप्रमुख विजया विष्टले बताइन् । भौगोलिक विकटता, दक्ष स्वास्थ्यकर्मीको अभाव, उपकरण र भौतिक पूर्वाधारको कमीलगायत कारण मातृ तथा नवजात शिशु मृत्युदर उच्च रहेको उनको भनाइ छ ।


विकटताले स्वास्थ्य संस्था पुग्न कठिनाई भएका खाडाचक्र-४ ताडी, वडा नं ७ पिली, वडा नं १० चौकी र वडा नं ११ बदालकोटमा बर्थिङ सेन्टर सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । त्यस्तै गर्भर्वती महिलाको स्वास्थ्य जाच गर्न स्वास्थ्य संस्थामार्फत घुम्तीरुपमा भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सञ्चालन गर्नेजस्ता क्रियाकलाप योजनामा समेटिएको नगरपालिकाले जनाएको छ ।


प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले गत वर्ष स्वास्थ्य क्षेक्रमा खाडाचत्रले दुई करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार गत वर्ष चार पटक गर्भजाँच गर्ने गर्भवतीलाई आयोडिनयुक्त नून र पोषिलो पिठो वितरण गरिएको बताए ।


प्रकाशित : वैशाख २५, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?