चन्दननाथमा प्लाष्टिक झोला प्रतिबन्ध

एलपी देवकोटा

जुम्ला — चन्दननाथ नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र वनाउने अभियान सुरु गरिएको छ । सफा र सुन्दर नगर निर्माणका लागि नगरपालिकाले खलंगामा प्लाष्टिक झोला प्रतिबन्ध लगाएको हो । 
प्लाष्टिकजन्य वस्तुका कारण वातावरण प्रदुषित बनेपछि प्लाष्टिक झोलामा प्रतिबन्ध लगाउने नगर कार्यपालिकाले निर्णय गरेको हो ।

चन्दननाथमा प्लाष्टिक झोला प्रतिबन्ध

अब नगरपालिकामा प्लाष्टिक झोलाको सट्टा जुट र फ्याब्रिक झोलाको प्रयोग गरिनेछ । चन्दननाथ नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष अर्जुनसिंह कठायतले प्लाष्टिकमुक्त नगरका लागि पहिलोपटक ६ क्विन्टल जुट/फ्याब्रिक झोला उद्योग वाणिज्य संघलाई अनुदान दिएको बताए ।


‘पहिलो पटकका लागि ब्यापारीलाई फ्याब्रिक झोला प्रयोगको वानी बसाउन संघलाई अनुदान दिएका हौं,’ उनले भने, ‘अब व्यापारीले प्लाष्टिक बाहेकका झोला आफैले ब्यवस्था गर्नेछन् ।’


व्यवसायीले उपझोक्तालाई सामान बित्री गर्दा जुट र फेब्रिक झोला उपलव्ध गराउनुपर्ने वाध्यकारी नियम ल्याइएको उनको भनाइ छ । नगर प्रमुख कान्तिका सेजुवालले अबदेखि जुट र फेब्रिक झोला प्रयोगमा नल्याउने व्यवसायी र उपभोक्तालाई कारवाही हुने बताइन् । उनका अनुसार अहिले बजारमा प्लाष्टिकजन्य पदार्थको व्यवस्थापन नहुँदा ठूलो समस्या भइरहेको छ । ‘पहिलो चरणमा प्लाष्टिक झोलामा प्रतिबन्ध लगाइएको छ,’ उनले भनिन्, ‘निकट भविष्यमै प्लाष्टिकमुक्त नगर बनाउनेगरी अभियान सुरु गरिएको हो ।’


त्यसका लागि प्लाष्टिक झोला न्युनीकरण तथा विस्थापन, जुट र फेब्रिक झोला प्रबर्द्धन प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याइएको उनको भनाइ छ । प्लाष्टिक झोलाको विकल्पमा अपनाइने झोला केही महंगो भएकाले पहिलो पटकका लागि अनुदान दिइएको उनले जानकारी दिइन् । अब चन्दननाथ नगरपालिकाले जुट र फेब्रिक झोला नियमित रुपमा उत्पादन गर्ने वातावरण वनाउने छ व्यापारीले त्यसको प्रयोग गर्ने वातावरण सिर्जना गर्नेछन् । सदरमुकाम खलंगालाई प्लाष्टिकमुक्त बनाउनु उदाहरणीय कार्य भएको उद्योग वाणिज्य संघका महासचिव अनिल रोकायाले वताए ।


‘पहिलो पटकका लागि बैकल्पिक झोला नगरपालिकाले अनुदान दिएको छ,’ उनले भने ‘सबै व्यवसायीलाई प्लाष्टिकको झोला प्रयोग नगर्न अनुरोध गरिएको छ ।’


प्लाष्टिकजन्य वस्तुले पार्ने असरका बिषयमा उपभोक्ता र व्यवसायीलाई सचेत बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने नगरको योजना छ । नगर कार्यपालिकाको बैठकले प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रोक लगाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले वताए । ‘नगर क्षेत्रको प्रदुषणको विश्लेषण गर्दा सबैभन्दा प्रमुख कारण प्लाष्टिकको झोलाको प्रयोग देखियो,’ उनले भने, ‘प्लाष्टिकजन्य वस्तुको प्रयोग अत्यधिक बढेका कारण कृषि उत्पादनमा असर परेको भेटिएपछि बाध्यात्मक निर्णय गरिएको हो ।’


नगरको अभियानपछि जया अफसेट प्रेसले फ्याब्रिक झोला बजारमा ल्याएको छ । प्लाष्टिकमुक्त नगर निर्माणका लागि स्थानीय प्रशासन, नागरिक समाज, राजनीतिक दललगायतले ऐक्यबद्धता जनाएका छन् ।


प्रकाशित : वैशाख २५, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?