२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जुत्ता सिलाएर पढाइ खर्च

राजबहादुर शाही

मुगु — छायानाथरारा नगपालिकाको चरापगाउँका १२ वषर्ीय रामबहादुर विकले गमगढी बजारमा जुत्ता सिलाएर आफ्नो पढाइ खर्च धानिरहेका छन् । गमगढी बजारको सालिक नजिकै सानो टहरोमा उनी बाबुसँगै जुत्ता सिउँछन् ।

जुत्ता सिलाएर पढाइ खर्च

साँझ-बिहान जुत्ता सिलाउने उनी समता स्कुलमा कक्षा १ मा अध्ययन गर्छन् । उनी बाबुसँगै गमगढीमै बस्छन् । बाबुको दुःख सम्झेर आफूले पनि जुत्ता सिलाउन थालेको उनले बताए । 'सुरुमा जुत्ता सिलाउँदा सियोले औंलामा घाउ भयो,' उनले भने, 'हिजोआज त बानी परिसकेको छु । सबैखाले जुता बनाउन आउँछ मलाई ।'


विद्यालय समयबाहेक उनी बिहान सबेरैदेखि राति अबेरसम्म जुत्ता बनाउने र मर्मत गर्ने काममा व्यस्त रहन्छन् । एक जोर छालाको जुत्ता बनाएवापत ९ सय रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ । जुत्ता मर्मत गरेको २ सय रुपैयाँसम्म लिने गरेको उनले जनाए । 'बुवालाई सघाउँदै गर्दा सीपसमेत सिकेको छु,' उनले भने, 'जुत्ता बेचेर कमाएको रकम बुबालाई राख्न दिन्छु, यसैबाट पढाइखर्च चलाइरहेको छु ।' घरको आर्थिक अवस्था कमजोर भएकाले आफूले एक वर्षदेखि जुत्ता सिलाइरहेको उनले सुनाए ।


छोराले सानै उमेरमा सीप सिकेर केही कमाउन थालेको उनका बाबु कर्मसिंहले बताए । आफूले लामो समयदेखि गमगढी बजारमा पुख्यौली पेसालाई निरन्तरता दिइरहेको उनको भनाइ छ । 'घरको आर्थिक अवस्था कमजोर भएपछि छोरालाई पनि जुत्ता सिलाउने काममा लगाएको हुँ,' उनले भने, 'छोराले सघाउँदा कामका केही सहज भएको छ, आम्दानी पनि बढिरहेको छ ।' उनले समय मिलाएर छोरालाई गृहकार्य गराउने र घरमा पढाउने गरेको जनाए ।


रामबहादुरकी आमा बाँचकलीसहित दुई दिदी र दाइ गाउँमै बस्छन् । पर्याप्त जग्गा जमिन नहुँदा घरमा खान नपुग्ने समस्या रहेको कर्मसिंहले गुनासो गरे । गाउँमा कुनै रोजगारी नपाइएपछि सदरमुकाम आएर जुत्ता सिलाउने काममा लागेको उनले बताए । 'हामी बाबुछोराले कमाएको रकम घरखर्चका लागि गाउँमा पठाउने गरेका छौं,' उनले भने, 'दुवैजनाले जुत्ता सिलाउन थालेपछि घरखर्च कटाएर केही रकम जम्मा हुन थालेको छ ।' उनले छोरालाई उच्च शिक्षा अध्ययन गराउने आफ्नो रहर रहेको सुनाए । छोराको लागिसमेत केही रकम जम्मा गर्न थालेको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख २६, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?