चोरी-सिकारीले वन्यजन्तु संकटमा

राजबहादुर शाही

पूलु, मुगु — सिकारीको हूलले गत साता छाइल गाउँको वन क्षेत्रमा लखेट्दै गरेको घोरल आत्तिएर कर्णाली नदीमा हाम फाल्यो । लगत्तै मुगमकार्मारोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले सिकारीलाई नियन्त्रण लिए र डिभिजन वन कार्यालयमा बुझाए ।

चोरी-सिकारीले वन्यजन्तु संकटमा

जनप्रतिधिका अनुसार उद्धार नगरिएको भए घोरल उनीहरूबाट सिकार हुन्थ्यो । घोरल लखेट्दै आएका सिकारी जनप्रतिनिधि र कर्मचारी देखेर भागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

गाउँमा जथाभावी हुने सिकारको यो पछिल्लो उदाहरण हो । गाउँपालिकाको वन क्षेत्रमा चोरी-सिकार बढ्दै गएको छ । मुगु र जुम्लाका विभिन्न ठाउँबाट बन्दोबस्तीका सामान र हतियारसहित सिकारी ग्रामीण बनमा पस्ने गरेका छन् । जंगलमै लुकेर सिकारीले विभिन्न वन्यजन्तु मार्ने गरेका छन् ।

जथाभावी सिकारका करण उच्च पहाडी क्षेत्रमा घोरल, मृग, झारल, कस्तूरी, नाउर, रतुवा, कालिज, डाँफेलगायत बन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । गाउँपालिकाको वन क्षेत्रमा व्यापक चोरी सिकारी हुँदा बन्यजन्तु संकटमा परेको गाउँपालिकाका अधिकृत तीर्थराज शाहीले बताए । 'सिकारीबाट गत साता घोरल बचाउन सफल भयौं,' उनले भने, 'रिउस, चैत, कार्तिक, किम्री, पुवा, मुगु, डोल्फुलगायत बस्ती आसपास चोरी सिकारी नियन्त्रण गर्नै समस्या भएको छ ।'

उनले एक दशक अघिसम्म घोरल, मृग, झारल, कस्तूरी, नाउर गाउँ आसवासका जंगलमा प्रशस्तै देख्न सकिने भए पनि अहिले हराउँदै गएको जनाए । दिउँसै वनपाखामा बन्यजन्तु मार्न बन्दुक पड्काएको आवाज सुनिने गरेको उनले जानकारी दिए । कतिपयले पासो थापेर समेत जंगली जनावर मार्ने गरेको उनको भनाइ छ । उनले पर्याप्त जनशक्ति नहुँदा नियन्त्रणमा समस्या भएको गुनासो गरे ।

मुगमकार्मारोङ गाउँपालिकामा जनजाति समुदायको बाहुल्य छ । स्थानीयले धर्म संस्कृतिका कारण सिकार खेल्दैनन् तर, बाहिरबाट सिकार खेल्न आउनेको संख्या बढ्दै गएको छ । अवैध बाटो प्रयोग गरेर चोरी सिकारी गर्न आउनेहरू हप्तौं जंगलमै बस्ने गरेको २ नम्बर वडाका अध्यक्ष कार्मा लामाले बताए ।

उनका अनुसार जिल्लामा सबैभन्दा बढी बन्यजन्तुको बासस्थान र चरिचरण भएको क्षेत्र भएकाले चोरी सिकारी बढेको जनाए । उनका अनुसार सिकारी कुकुरको डरले बन्यजन्तु बेंसीतिर र्झन डराउन थालेका छन् । 'हरियो घाँस खान बगरमा झरेका र पानी पिउन आएका बन्यजन्तुलाई सिकारीले लखेटेर मार्न थालेपछि झारल, मृगलगायत जनावर नदीमा हाम फालेर बच्न थालेका छन्,' उनले भने, 'सिकारीबाट घाइते भएका अधिकांश बन्यन्तु जंगलमै मरेर कुहिने गरेका छन् ।'

जंगलमा मारेका बन्यजन्तुको मासु विभिन्न गाउँमा पुर्‍याएर सिकारीले बिक्री गर्ने गरेका छन् । सिकारीले जडीबुटी उत्खनन गरी ओसारपसार गर्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मुगमकार्मारोङ गाउँपालिकाको मुगु र पुलुमा प्रहरी चौकी भए पनि सिकारी पक्रिएको रेकर्ड छैन । छाइल गाउँमा वन डिपो भए पनि त्यहाँ एक जना मात्र कर्मचारी छन् । कर्मचारी अभावले चोरी सिकारी नियन्त्रणमा समस्या भएको निमित्त वन डिभिजन प्रमुख वसन्तकुमार शाहीले बताए ।

प्रकाशित : वैशाख २९, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?