कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

८० प्रतिशत योजनाको भुक्तानी बाँकी

तुलाराम पाण्डे

कालीकोट — कर्मचारी अभावले रास्कोट नगरपालिकाले चालु आर्थिक वर्षका अधिकांश योजनाको काम सके पनि उपभोक्तालाई झुक्तानी दिन सकेको छैन । कर्मचारी समायोजनको त्रममा रास्कोटमा कार्यरत कर्मचारीले संघ र अन्य तह रोजेकाले उपभोक्ताले काम गरेको रकम भुक्तानी पाउन सकेका छैनन् । 

नगर प्रमुख काशीचन्द्र बराल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी माग गर्दै काठमाडौ पुगे । नयाँ प्रशासकीय अधिकृत आउने टुंगो नहुँदा पशु विकास शाखामा कार्यरत जवानसिंह बमलाई आर्थिक अधिकारसहित निमित्त प्रशासकीय अधिकृत तोकिएको छ । रास्कोटमा महिला तथा बालबालिका शाखा, शिक्षा शाखा प्रमुखसहित लेखा अधिकृत, खरिदार र नायब सुब्बा छैनन् ।


नगरपालिकाका अनुसार ठूला योजनाको समेत निर्माण सुरु भएको छ । प्रदेश सरकारबाट ४० करोड लागत स्टिमेटको रास्कोट रंगशाला निर्माण यस वर्ष उपभोक्ता समितिलाई एक करोडमा जिम्मा दिइएको छ । त्यस्तै, ११ करोड लागतको रास्कोट बृृहत खानेपानी आयोजना यस वर्ष ६५ लाखमा टेण्डर गर्ने प्रक्रिया सुरु भएको छ । आठ करोड लागतको रास्कोट लडेखोला बास्तोला गाउँखेत सडकको पनि यस वर्ष ७० लाखको टेण्डर भएको छ । रास्कोटमा एक/एक करोड लागतका दुई वटा हाइटेक नर्सरीको काम भइरहेको छ ।


जिल्लाका सबै स्थानीय तह अहिले वार्षिक योजनामा रहेका तालिम, गोष्ठीलगायत योजना सक्नमा सक्रिय छन् । कतिपय अध्ययन भ्रमणमा छन् । पलाता, पचालझरना, खाडाचक्र, नरहरिनाथ, शुभकालिका र तिलागुफाले स्थानीय तहस्तरीय राष्टपति रनिंङ शिल्ड प्रतियोगिता सकेका छन् ।


स्थानीय तहले रनिङ शिल्डमा पाँचदेखि १५ लाख रुपेयाँसम्म खर्च गरेका छन् । कतिपय पालिकाले स्थानीय मेला, महोत्सव र शिविर पनि सकेका छन् । पलाताले बृहत पलाता सास्कृतिक महोत्सव सकेको छ भने नरहिरनाथले इन्द्र्रेणी टीम ल्याएर प्रमुख पर्यकीय स्थल, कोटवाडा विमानस्थल, मावि विद्यालय स्तरमा मेला आयोजना गरेको गाउँपालिका अध्यक्ष धीरवहादुर विष्टले बताए ।


खाडाचक्र नगरपालिकाले नगर कार्यपालिकाको बैठक सकेर सबै जनप्रतिधिलाई योजनाको प्रभावकारी कार्यान्वयनमा जुट्न भनेको छ । नगरले तीन वर्षे मातृ तथा नवजात शिशु र बाल स्वास्थ्यमा सुधार ल्याउन रणनीति योजना तयार गरेको छ । नगरपालिकाले यस वर्ष सम्पन्न गरिएका योजनाको नगरस्तरीय सार्वजनिक सुनुवाई गरेर अन्तिम किस्ताको रकम भुक्तानी दिने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले बताए । उनले नगरपालिकाले गरेका कामको सार्वजनिक सुनुवाई गर्दा योजनाको प्रभावकारिता देखिने भएकाले आर्थिक वर्ष नसकिदै सार्वजनिक सुनुवाई गर्न लागेको जनाएको छ ।


तिलागुफा नगरपालिकामा टेण्डर प्रक्रियामा ढिलाइ भएकाले रकम खर्च नहुने चिन्ता रहेको नगर विकास समितिका संयोजक महेन्द्रवहादुर शाहीले बताए । ‘अधिकांश योजनाको सम्झौता नै भएको छैन,’ शाहीले भने, ‘काम सकिएका योजनाको पनि भुक्तानीमा ढिलाइ भएको छ ।’ नगरपालिकाले पोखराबाट विशेषज्ञ चिकित्सकसहितको टीम ल्याएर स्वास्थ्य शिविरको आयोजना गरेको नगर उपप्रमुख दन्ता नेपालीले बताइन् ।


कर्मचारी अभावले समयमै योजनाको रकम भुक्तानी दिन समस्या परेको जनप्रतिनिधिको गुनासो छ । कर्मचारी अभाव भएपछि शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई समस्या लिएर काठमाडौ गएका छन् । उनका अनुसार गाउँपालिकामा २२ जना कर्मचारीको दरवन्दी छ ।


कर्मचारी समायोजनमा सवओभरसिर गोपिचन्द्र अधिकारी, अहेव ऐनवहादुर शाही, नासु मोहन न्यौपाने र महिला विकास निरिक्षक अमृता अधिकारीबाहेक अन्य कसैले शुभकालिका रोजेनन् । ‘२२ जना कर्मचारीमा तीन जनाले मात्र शुभकालिका रोजे,’ चौलागाईले भने, ‘कर्मचारी नहुँदा काम गर्न कठिन भयो ।’


गाउँपालिकाको आठवटै वडामा दरवन्दीका वडा सचिव छैनन् । वडासचिव नहुँदा काम गर्न कठिनाइ छ । करारमा राखिएका कर्मचारीमार्फत जनतालाई सेवा दिन कठिनाइ छ । नयाँ कर्मचारीलाई धेरै कुराको जानकारी नै नहुने र करार सेवाका भएकाले जिम्मेवार पनि नहुने भएकाले विश्वास गर्न पनि पालिकालाई कठिन छ ।


जिल्लाका ९ स्थानीय तहमध्ये रास्कोट, नरहरिनाथ, पलाता, पचालझरना, महाबै र सान्नीत्रिवेणीमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । वडामा वडा सचिव पनि आएका छैनन् । खाडाचक्र र शुभकालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि सरुवा भइसकेका छन् । कर्मचारी समायोजनको असर स्थानीय तहका मात्र होइन । स्वास्थ्य संस्थामा पनि परेको छ । जिल्ला अस्पताल मान्म र अन्य स्थानीय स्तरका स्वास्थ्य चौकीमा पनि समायोजन रोजेका कर्मचारी सुगमतिर गएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ 

प्रकाशित : वैशाख ३०, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?