१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वीरेन्द्रनगरमा ‘चौगान’

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगर नगरपालिकामा २१ करोड लागतमा ‘चौगान’ निर्माणका लागि गुरुयोजना तयार पारेको छ । समितिका अनुसार वीरेन्द्रनगरको पुरानो नाम ‘चौगान’ भएकाले परम्परागत पहिचान सहितको नाममा पार्क बनाउन लागिएको हो । 

वीरेन्द्रनगरमा ‘चौगान’

गुरुयोजनामा रहेर नगर विकास समितिले प्रदेश, संघ र स्थानीय सरकारको सहयोगमा ‘चौगान’ निर्माण गर्न लागेको जनाएको छ । पार्कमा विभिन्न किसिमका मनोरञ्जनात्मक सामग्री राखिनेछ । पार्कमा बगैचासमेत निर्माण गरिने समितिको योजना छ । कर्णाली प्रदेशको पहिचान झल्किने गरी पार्क व्यवस्थापन गरिने जनाइएको छ ।


गुरुयोजनाअनुसार ५५ रोपनीमा पार्क बन्नेछ । पार्कको तीन तिरबाट बाटो बनाइने आर्किटेक्ट पल्लवी सिंहले बताइन् । उनका अनुसार यस्तो डिजाइनको पार्क नेपालमा पहिलोपटक बन्न लागेको हो । ‘पार्क बन्ने स्थान वरपर घर खासै नभएकाले यो ठाउँ निकै उपयुक्त छ,’ उनले भनिन्, ‘प्रदेश र स्थानीय सरकारले चासो दिए राजस्व उत्पादनको मुख्य स्रोत हुन सक्छ ।’ ‘चौगान’ मनोरञ्जन पार्क बनाउन सरकारले जति छिटो बजेटको व्यवस्था गर्‍यो उति नै सरकारलाई फाइदा पुग्ने उनको भनाइ छ ।


गार्डेनको वरिपरि पानीको व्यवस्था गरिनेछ । फूल, वनस्पति बगैंचा, पर्खाल, पानीका फोहोरा, हिँड्ने बाटो, सांगीतिक क्षेत्र, शिवलिंग, गार्ड पोस्ट, सानो स्कटबोर्ड, खुला प्लाजालगायत स्थान पार्क क्षेत्रमा हुनेछन् । पार्कमा पुराना कला संस्कृतिका विभिन्न सम्पदा समेटिने आर्किटेक्ट सिंहले बताइन् । ‘काठबाट बनेका भाडामा विभिन्न सजावट सामग्री राखिने गुरुयोजना बनाइएको छ,’ उनले भनिन्, ‘पार्कभित्र अध्ययन र बैठक कक्षको व्यवस्थासमेत हुनेछ ।’ उनका अनुसार विभिन्न व्यावसायिक कार्यक्रम पार्कभित्रै गर्न सकिनेछ ।


गुरुयोजनाअनुसार खुला र समतल स्थानमा पार्क बन्नेछ । पूर्व र पश्चिममा उठेको जमीनको उत्तरी भागमा पार्क बन्नेछ । जसको बाह्य भागमा सरकारी कार्यालय रहने गुरुयोजनामा उल्लेख छ । पार्क बक्र संरचनामा ज्यामितीय आकारको बन्ने आर्किटेक्ट सिंहले जानकारी दिइन् । उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले पार्क निर्माणपछि वीरेन्द्रनगरको स्वरुप परिवर्तन हुने बताए । उनका अनुसार पार्क प्रदेश राजधानी वीरेन्द्रनगरको मध्यभागमा बनाउन प्रस्ताव गरिएको छ ।


‘प्रदेश र केन्द्र सरकारले आगामी वर्षको बजेटमा आवश्यक बजेटको व्यवस्था गरे दुई/तीन वर्षमै पार्क निर्माणको काम सम्पन्न हुनेछ,’ उनले भने, ‘पार्कले स्थानीय तहको आम्दानी बढाउन सहयोग पुग्नेछ ।’ सुर्खेतलाई प्रशासनिक, शैक्षिक र पर्यटकीय क्षेत्रको हव बनाउने गरी पार्क निर्माणको अवधारणा अगाडि बढाइएको उनले जानकारी दिए ।


वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले पार्कका लागि बनेको गुरुयोजनाले काम गर्न प्रेरित गरेको बताए । उनले गुरुयोजना लागू गर्न माथिल्ला तहका सरकारसँग अनुरोध गरिने जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?