कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घुम्ती शिविरमा सिमकार्डदेखि नागरिकतासम्म

कर्णाली प्रदेशका दुर्गम क्षेत्रका जनतालाई सदरमुकाम पुग्न चार–पाँच दिन लाग्ने गरेको छ । कतिपय क्षेत्रमा प्रशासनिक निकायका कर्मचारी पनि नपुगेका ठाउँमा जिल्ला प्रशासनले घुम्ती शिविर चलाएर सहज बनाएको छ ।
कर्णाली ब्युरो

जुम्ला — स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले गुठीचौर गाउँपालिका–२ मा पहिलोपटक एकीकृत घुम्ती शिविर गरेको छ । शिविरमा मोबाइलको सिमकार्डदेखि नागरिकतासम्म वितरण गरियो ।

गाउँमा शिविर आएपछि नागरिकता प्राप्त गरेकी ७५ वर्षीया तुथकली बस्नेतले खुसी व्यक्त गरिन् । ‘नागकिता त पहिल्यै चाहिएको थियो, खलंगा (सदरमुकाम) जान नपाउँदा लिन सकेकी थिइनँ,’ उनले भनिन्, ‘सिडियोसापले यहीँ आएर दिएपछि खुसी लागेको छ ।’ नागरिकताको आधारमा अब सामाजिक सुरक्षा भत्ता पाउने उनले बताइन् ।


गुठीचौरकी चाउली बोहोराले पनि ५३ वर्षको उमेर नागरिकता पाइन् । घरमै बसेर नागरिकता पाउँदा खलंगा जाने झन्झट टरेको उनको भनाइ थियो ।


जिल्ला प्रशासनले शिविरमार्फत नागरिकताका साथै स्वास्थ्य, पशु, कृषि, हुलाक, टेलिकमका सेवा पनि प्रवाह गरेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले कुनै पनि स्थानीय राज्यको सेवासुविधाबाट वञ्चित नहुन भनेर घरदैलोमा सरकारी सेवा पुर्‍याएको बताइन् । ‘विकट गाउँबाट नागरिकताकै लागि सदरमुकाम आउन असहज छ,’ उनले भनिन्, ‘अन्य सेवासुविधाका लागि पनि यस्तै असहजता छ, त्यसैले हामीले घुम्ती शिविरमार्फत सेवा पुर्‍याएका हौं ।’


गाउँपालिकाका अनुसार शिविरमा १ हजार १ सय पशुचौपायालाई औषधि वितरण गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले ३ सय स्थानीयको स्वास्थ्य परीक्षण गरी औषधि दिए । त्यसैगरी शिविरमा ५ सय किसानलाई तरकारीको बीउँ वितरण गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार २० देखि ७५ वर्ष पुगेका उमेरका ९१ जनालाई नागरिकता वितरण गरिएको छ ।


तिब्बत जाने परिचयपत्र वितरण

हुम्ला– तिब्बती सीमा जोडिएको नाम्खा गाउँपालिकाको केन्द्र यालबाङमा जिल्ला प्रशासन कार्यालयले शिविर आयोजना गरेको छ । स्थानीयलाई सदरमुकाम पुग्न कठिन हुने र तिब्बत जाने समय नजिकिएकाले तिब्बत जाने परिचयपत्रसमेत वितरण गर्ने गरी शिविर सञ्चालन गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार सोमबार र मंगलबार गाउँपालिकाको केन्द्र रहेको यालबाङ गाउँमा नागरिकता, सीमा पार गर्ने परिचयपत्र र फोटो सहितको मतदाता परिचयपत्र वितरण गरिनेछ । शिविरका लागि ढकाल आफैं नाम्खा पुगेको छन् । यालबाङ पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन पैदल हिँड्नुपर्छ ।


तिब्बतसँग सीमा जोडिएकाले यहाँका अधिकांश बासिन्दालाई वर्षाको समयमा तिब्बत पुग्नै पर्ने बाध्यता छ । रोजागारीदेखि दैनिक उपभोग्य वस्तु खरिद गर्न तिब्बत पुग्नैपर्छ ।


भौगोलिक हिसाबले मुलुकको सबैभन्दा ठूलो यो गाउँपालिकाको जनसंख्या ३ हजार ९ सय छ । भौगौलिक विकटताकै कारण वडा नम्बर ६ मा पर्ने हिमाल पारीको बस्ती लिमीबाट गाउँपालिकाको केन्द्र पुग्न करिब ४ दिन लाग्छ । अन्य वडाबाट समेत सरदर केन्द्रमा पुग्न एक दिन हिँड्नुपर्छ । लिमीबाट सदरमुकाम सिमकोट पुग्न ५ दिन लाग्छ । गाउँपालिकाकै यारी र चाला गाउँबाट सदरमुकाम पुग्न ३ दिनसम्म लाग्छ ।


प्रमुख जिल्ला अधिकारी ढकालले यही भौगोलिक विकटताका कारण गाउँमै एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताए । ‘चार–पाँच दिन हिँडेर नागरिकता र सीमापार परिचयपत्र लिन निकै मुस्किल छ,’ उनले भने, ‘त्यही भएर हामीले गाउँमै शिविर आयोजना गरेका हौं ।’

प्रकाशित : वैशाख ३१, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?