कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पालमै उपचार

हरि गौतम

रुकुम पश्चिम — सिस्ने गाउँपालिका-३, रुकुम पूर्वका कलिभान खत्री उपचारको सिलसिलामा रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले आए  । टिकट लिइसकेपछि उनलाई अस्पताल प्राङगणमा रहेको पालमा पठाइयो  ।

पालमै उपचार

उनको उपचार पालमै भयो । सानीभेरी गाउँपालिका ४ की आशकुमारी शाहीलाई बिरामी भएपछि आकस्मिक कक्षमा पुर्‍याइयो । उनलाई अस्पताल भर्ना गर्नुपर्ने डाक्टरको सल्लाह बमोजिम पालमै राखेर उपचार भइरहेको छ । औषधि खुवाउने, सल्लाह सुझाव दिने तथा सम्पूर्ण मेडिकेसनको काम पालमै हुन्छ ।

झन्डै एक महिनादेखि जिल्ला अस्पताल आउने अधिकांश बिरामीको उपचार पालमै हुन्छ । सामान्य स्वास्थ्य जाँच गर्न आउनेदेखि लिएर अस्पतालमा केही दिन बस्नेलाई अस्पतालले पालबाटै सेवा दिइरहेको छ । सुरुमा आकस्मिक कक्षमा पुग्नेहरू थप उपचारका लागि अस्पतालमै बस्नुपर्ने अवस्था आएमा पालमा बसेर उपचार गराउँछन् । आकस्मिक कक्ष खाली हुने बेला भने उनीहरूलाई आकस्मिक कक्षको बेडमा सारिन्छ ।

धेरै बिराम आएर वा भवन अभावमा बिरामीलाई पालमा राखेर उपचार गरिएको भने होइन । अस्पतालको भित्रि संरचना स्तरोन्नी तथा मर्मतको काम भइरहेकाले अस्पतालले वैकल्पिक व्यवस्था गरेर बिरामीको उपचार गरिरहेको हो ।

‘ओपीडी, आइपीडिदेखि अस्पतालका सम्पूर्ण भवनको भित्रि भाग मर्मत हुँदैछ,’ अस्पतालका निमित्त प्रमुख डा.आलोकचन्द्र महतोले भने, ‘भित्र काम भइरहेकाले बिरामीलाई वैकल्पिक व्यवस्था गरेर भए पनि उपचारको व्यवस्था मिलाइएको छ ।’

उनले ३१ वर्षअघि बनेका अस्पतालको भित्री संरचना पुरानो भइसकेकाले मर्मत गर्न लागिएको र केही समयका लागि मात्रै पालमा उपचार गर्ने व्यवस्था मिलाइएको बताए । सकेसम्म भर्ना भएका बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार गर्ने गरिएको तर, धेरै बिरामी भर्ना हुँदा मात्र पालमा समेत राख्नुपर्ने अवस्था रहेको महतोले बताए । अबको केही दिनमै यसको व्यवस्थापन हुनेगरी काम भइरहेको उनको भनाइ छ ।


जेठ १२ गतेदेखि अस्पतालमा शिविर आयोजना गरिएको छ । शिविर सुरु हुनुअगावै धेरै व्यवस्थापन भइसक्ने गरी काम भइरहेको महतोले बताए । २०४५ सालमा बनेका अस्पतालका संरचना झन्डै ३१ वर्षपछि मर्मत हुन लागेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको ५० लाख लगानीमा अस्पतालको मर्मत भइरहेको छ । भवनका जस्ता फेर्ने, भित्तामा प्लास्टर गर्ने, टायल बिछ्याउने तथा सडक निर्माणको काम थालिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालभित्र गर्ने मर्मतका सबै काम आधाभन्दा बढी गरिसकिएको छ ।

अस्पतालको अन्तरंग, प्रयोगशाला र अप्रेसन कक्ष रहेको भवनको जस्ता फेरिएको छ । यी तीन वटै भवनको भित्रि भित्तामा प्लास्टरका साथै भुइँमा टायलिङ र माथिपट्टि फर्सिलिङ गर्ने काम अन्तिम चरणमा छ । आकस्मिक कक्ष र प्रसूति गृहको भुँइमा टायलिङ तथा माथिपट्टि फर्सिलिङको काम पनि सकिएको छ । भवन पूराना जीर्ण भइसकेकाले मर्मत थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले बताए ।

‘यी भवन निकै पुराना र जीर्ण छन्, विकसित समय अनुसारको बिरामीमैत्री तथा कामकाजका लागि पनि उपयुक्त बनाउका लागि मर्मतको काम भइरहेको हो,’ अध्यक्ष ओलीले भने, ‘अर्को भवन नबन्दा सम्मको लागि भए पनि मर्मत थालिएको छ ।’

प्रकाशित : जेष्ठ १, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?