‘सरकारी कार्यालयमा खस भाषा’

कान्तिपुर संवाददाता

जुम्ला — कर्णाली प्रदेशमा सरकारी कामकाजको भाषा खस बनाउन स्थानीयले माग गरेका छन्  । सरकारी कामकाजको भाषा निर्धारणका आधार विषयक प्रदेशिक भाषा संगोष्ठि छलफलको लागि जुम्ला पुगेको भाषा आयोगको टोलीसँग स्थानीयले कर्णालीमा नेपालीपछिको भाषा खस बनाउन माग गरेका हुन्  ।

भाषा आयोगको प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा खस भाषा वोल्नेको संख्या १८ मात्रै देखिएको छ । तथ्यांक संकलन गर्दा खस भाषाको वारेमा तथ्यांक नै संकलन नगरिएको स्थानीय महेश नेपालीले वताए ।

‘घरदैलोमा पुगेका गणकले के भाषा वोल्नु हुन्छ नेपाली मात्रै सोधेकाले सबैले अ भनेर सहमति गरे,’ उनले भने, ‘तर उनीहरूले कुनकुन भाषा वोल्नुहुन्छ ? भन्ने प्रश्न गरेको भए खस भाषा नै पहिलोमा पर्ने थियो ।’ उनले कर्णालीमा खस भाषाको वर्चस्व रहेको दावी गरे ।

आयोगको छलफलमा जुम्ला, मुगु र कालिकोटका स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता छ । सहभागी सबैले कर्णालीमा वोलिने पहिलो भाषा नेपाली र दोस्रोमा खस नै रहेको वताएको छन् । भाषा आयोगका सदस्य उमा हमालले संविधानले आयोगलाई नेपाल सरकारसमक्ष सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधारको निर्धारण गरी सिफरिस गनुपर्ने दायित्व दिएको बताइन् ।

‘भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने काम भइरहेको छ,’ उनले भनिन् । जुम्लाको मातृभाषाको रुपमा रहेको खस भाषाबारे छलफल गर्न भाषाविज्ञ प्रा.डा. जीवेन्द्रदेव गिरीसहित भूपेन्द्र नेपाल र विमल आचार्य पनि खलंगा पुगेका छन् ।

‘सिंजा राज्य एकीकरणका वेला राज्य खोसियो, भाषा पनि खोसियो,’ नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीले भने, ‘अहिले देशमा संघियता आएको छ, अब हाम्रो भाषा फिर्ता हुने आशा छ ।’ खस भाषाबाटै नेपाली भाषा वनेकाले संरक्षण गरिनुपर्ने उनको भनाइ छ । खस भाषालाई पठनपाठनको भाषा वनाइ ब्यापक प्रयोगमा ल्याउनुपर्ने कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख दर्शना नेपालीले वताइन् ।

‘वक्ता छैन भने भाषा छैन, भाषा छैन भने संस्कृति छैन,’ उनले भनिन्, ‘मातृभाषाको संरक्षणमा सबैले ध्यान दिन जरुरी छ ।’अन्य सहभागीले समेत कर्णालीमा खस भाषाको संरक्षण गर्दै सरकारी कामकाजको रुपमा प्रयोगमा ल्याउनुपर्ने माग गरेका छन् । खस भाषाको पाठ्यक्रम तयार गरेर जुम्लाको तातोपानी गाउँपालिकाले पठनपाठन सुरु गरिसकेको छ ।

भाषा आयोगलाई खस भाषामा पठनपाठन गर्न र सरकारी कामकागजको रुपमा प्रयोगमा ल्याउन सरकारसमक्ष सिफारिस गर्न सरोकारवालाले अनुरोध गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हराउँदै खाम बोली

कान्तिपुर संवाददाता

सिमकोट — हुम्लाको उच्च हिमाली भेगमा बोलिने लामा खाम बोलीभाषा जनजिब्रोबाट हराउँदै जान थालेको छ  । स्थानीयवासी सहरबजारतिर बसाइँ सर्नु र युवापुस्तामा भाषाप्रति मोह हराउँदै जानुले यो भाषा संकटमा पर्न लागेको हो  ।

लामा खाम हुम्लाका लामा समुदायको मातृभाषा हो । यसको आफ्नै लिपि छैन । तर, गौतम बुद्धले सुरु गरेको लिपिलाई उनीहरूले आफ्नो भाषाको लिपि मान्दै आएका छन् ।

लामा सांस्कृतिक मञ्च, हुम्लाका अध्यक्ष धर्मनन्द लामा आफ्नो लिपि नहुँदा कामकाज गर्न गाह्रो भएको बताउँछन् । ‘हाम्रै समुदायका मान्छेहरू पनि नेपाली भाषा बोल्छन् र नेपालीमै कामकाज गर्छन्,’ उनले भने, ‘आफ्नै भाषामा काम गरे पनि त्यसलाई नेपालीमा उल्था गर्नुपर्ने बाध्यता छ, यसले गर्दा मातृभाषा बिरानो हुन थालिसक्यो ।’

हुम्लामा नाम्खा गाउँपालिकाको पूरै क्षेत्र र सिमकोट गाउँपालिकाको वडा नं. १ को डोजाम, वडा नं. ३ को बरागाउँ, लिमाटाङ र चोर्पा तथा वडा नं. ४ को बुरौंसेमा लामा खाम भाषीको संख्या अधिक छ । सिमकोट ३ का वडाध्यक्ष जिङनेत लामाले उक्त वडामा लामा खाम भाषा बोल्न सक्ने स्थानीयको संख्या १ हजार ७ सय ४७ रहेको बताए । त्यस्तै, डोजाममा करिब ६ सय र बुरौंसेमा करिब ७ सयको संख्यामा लामा खाम भाषीको संख्या रहेको सम्बन्धित वडाका अध्यक्षले जानकारी दिए ।

नाम्खामा भने करिब ४ हजार ५ सय व्यक्तिलाई लामा खाम भाषा बोल्न आउने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । लामा खाम भाषासँग यति ठूलो संख्याको सम्बन्ध रहे पनि प्रचलनमा नरहनु र संवाद गर्दा नेपाली भाषाको सहारा लिनु विडम्बना रहेको लामा सांस्कृतिक मञ्चका अध्यक्ष लामा बताउँछन् ।

आफ्नो क्षेत्रमा बोलिने मातृभाषाको प्रवर्द्धन गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो । यसलाई स्थानीय तहले पाठ्यक्रम बनाई लागू गर्दा भाषा संरक्षणमा टेवा पुग्न सक्छ । तर, लामा खाम भाषा बोलिने क्षेत्रका विद्यालयमा यो भाषा पाठ्यपुस्तकमा समावेश छैन । नाम्खा गाउँपालिका अध्यक्ष लामा यहाँको मातृभाषालाई विद्यालय तहको पाठ्यपुस्तकमा समावेश गर्न आवश्यक भए पनि हालसम्म समावेश गर्न नसकिएको बताउँछन् । ‘आगामी आर्थिक वर्षमा हामीले लामा खाम भाषालाई विद्यालयको स्थानीय पाठ्यक्रममा समावेश गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘यसो गर्न सकियो भने मातृभाषा जोगाउन टेवा पुग्न सक्छ ।’

सिमकोट गाउँपालिका ३, लिमाटाङका रिनजिन लामा मातृभाषाको जगेर्ना गर्नका लागि सरकार र सरोकारवालाले विशेष पहल गर्नुपर्ने बताउँछन् । बेलैमा ध्यान नदिने हो भने आफ्नै भाषा भोलि कहानी बन्ने अवस्था आउने उनको भनाइ छ । ‘हामीभन्दा पछिल्लो पुस्तालाई बेलैमा यो भाषा सिकाउनुपर्छ,’ उनले भने, ‘पुरानो पुस्ताले यो भाषा बोल्दै आए पनि नयाँ पुस्ताले बिर्संदै जान थालेको छ ।’

लामा खाम भाषा आफ्नै थलोबाट लोपमात्र हुने अवस्थामा मात्र पुगेको छैन, सरकारको आधिकारिक अभिलेखमा समेत अभिलेखीकरण हुन सकेको छैन । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले स्थानीय तहका जनप्रतिनिधिले लामा खाम भाषाबारे जानकारी दिए पनि अनुसन्धान गर्न नसकिएको बताए । स्थानीय तहको समन्वयमा छिट्ट्रै यो भाषाबारे अध्ययन गरिने उनको भनाइ छ । ‘गाउँबस्तीमा यस्ता थुप्रै भाषा छन्, जसको पहिचान गर्नसमेत सकिएको छैन,’ उनले भने, ‘आयोगले स्थलगत रूपमै अध्ययन अनुसन्धान गर्ने योजना बनाएको छ ।’

प्रकाशित : जेष्ठ २, २०७६ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT